समानुपातिक मतपरिणामको आधारमा कर्णालीमा यस्तो छ दलीय शक्ति



नन्दराम जैशी । सुर्खेत ।

यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । राजनैतिक दलहरु चुनावी नतिजा आफ्नो पोल्टामा पार्न यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० वटै जिल्लामा प्रमुख राजनीतिक दलहरूले पाएको मत परिणामअनुसार केही जिल्लामा प्रतिस्पर्धा कडा देखिएको छ भने केहीमा कुनै एक दलको स्पष्ट अग्रता देखिन्छ ।

समानुपातिक मतपरिणामअनुसार सुर्खेतमा नेपाली काँग्रेसको ३३ हजार ६०८, नेकपा एमाले २९ हजार ६८७, नेपाली कम्युनिष्ट पार्टी तथ तत्कालीन नेकपा माओवादी केन्द्रको ६ हजार ४३१, तत्कालीन नेकपा एकीकृत समाजवादी दुई हजार ८९६, राष्ट्रिय स्वतन्त्र पार्टी ६ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन हजार ९७५ मत रहेको छ ।

यस्तै हुम्लामा काँग्रेसको आठ हजार १९२, एमाले पाँच हजार ९०७, माओवादी केन्द्र सात हजार ३६३, समाजवादी एक हजार २१, रास्वपा १७१ र राप्राले ६९ मत पाएका थिए । मुगुमा काँग्रेसले आठ हजार ४४०, एमाले आठ हजार ६४३ र माओवादी केन्द्रले चार हजार ६५० मतसहित पछ्याइरहेको छ । मुगुमा समाजवादीले दुई हजार ६१२ मत पाउँदा रास्वपा २१० र रापपो ३६८ मत प्राप्त गरेका थिए ।

डोल्पामा एमाले ६ हजार २९४ मतसहित पहिलो स्थानमा छ । काँग्रेसले तीन हजार ५९१ माओवादी केन्द्रले चार हजार ७२१, समाजवादी एक हजार ८२४ मतमा सीमित रहँदा रास्वपाले ५५७ र रापपा पार्टीले ४६५ मत पाएका थिए । यस्तै जुम्लामा काँग्रेस १० हजार ४७६ मतसहित अग्रस्थानमा छ । एमालेले १० हजार ५४८ मत ल्याएर कडा प्रतिस्पर्धा दिएको थियो ।

माओवादी केन्द्रले ८ हजार ९६०, रास्वपा ८९९, समाजवादी दुई हजार ६४८ र राप्रपाले पाँच हजार ७९६ मत पाएका छन् । कालीकोटमा माओवादी केन्द्र १४ हजार २२९ मतसहित पहिलो, एमाले १२ हजार ५६ हजार ४४६ मतसहित दोस्रो र काँग्रेस १० हजार ५८५ मतसहित तेस्रो स्थानमा छन् । रास्वपा ६०१ मत ल्याएको छ भने समाजवादीले दुई हजार ५३ र राप्रपा एक हजार ३७ मत पाएका छन् ।

दैलेखमा एमाले १६ हजार ३१३, काँग्रेस १५ हजार ८३७, माओवादी केन्द्र दुई हजार ६४५, समाजवादीले तीन हजार १६६, रास्वपा ८८७ र राप्रपाले एक हजार ८५४ मत पाएका थिए । यता जाजरकोटमा काँग्रेस २२ हजार ९३४, एमाले १९ हजार ७४९, माओवादी केन्द्र १४ हजार ४१२, समाजवादी ७८६ मत, रास्वपा ५९४ र राप्रपा ५३९ मत छ ।

रुकुम पश्चिममा भने माओवादी केन्द्रको बलियो थियो । माओवादी केन्द्र ३४ हजार ३४७ मतसहित अग्रस्थानमा छ । काँग्रेस आठ हजार ७६६, एमाले आठ हजार ७६९, समाजवादीले एक हजार ५१०, रास्वपा एक हजार ८६१ मत र राप्रपाले ५९३ मत प्राप्त गरेका थिए । यस्तै सल्यानमा काँग्रेस १९ हजार ९६६, नेकपा माओवादी केन्द्र २१ हजार ३२५ र एमाले २२ हजार २५६ मत ल्याएका थिए ।

समाजवादीले पाँच हजार ९७०, रास्वपा चार हजार ५२२ मत र राप्रपाले दुई हजार ३०८ मत पाएका थिए । समग्रमा हेर्दा जाजरकोट र सल्यानमा काँग्रेस बलियो देखिएको छ भने रुकुम पश्चिममा माओवादी केन्द्रको वर्चस्व कायम रहेको छ । एमाले अधिकांश जिल्लामा दोस्रो वा तेस्रो स्थानमा देखिएको छ । रास्वपा र राप्रपाले पनि जनमत बढाउँदै गएका छन् ।

चुनावी माहोल तात्यो

प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कूल १३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशका हिमालीदेखि पहाडी जिल्लासम्म चुनावी माहोल तातेको छ भने दलहरू घरदैलो, सभा–सम्मेलन र मतदाता भेटघाटमा व्यस्त बनेका छन् ।
यस निर्वाचनमा काँग्रेस, एमाले र नेकपाका उम्मेदवारहरूले अघिल्ला निर्वाचनमा जित्दै आएका क्षेत्रलाई पुनः सुरक्षित गर्ने रणनीति बनाएका छन् ।

कर्णालीका केही निर्वाचन क्षेत्रमा यी दलको प्रभाव रहँदै आएको छ । ती क्षेत्रमा पुराना दलहरू आफ्नो संगठनात्मक संरचना, मतदातासँगको पुरानो सम्बन्ध र विगतका उपलब्धिलाई आधार बनाएर चुनाव जित्ने दाउमा छन् । तर यता रास्वपा लगायतका नयाँ दलहरूले वैकल्पिक राजनीति, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएका छन् ।

उनीहरूले युवावर्ग, वैदेशिक रोजगारीबाट फर्किएका मतदाता र परिवर्तन चाहने वर्गलाई लक्षित गर्दै चुनावी अभियान तीव्र बनाएका हुन् । नयाँ दलहरूले पुराना दलप्रति बढ्दो असन्तुष्टि आफ्नो पक्षमा पार्न सकिने आकलन गरेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कर्णालीसहित देशभर नयाँ राजनीतिक दलप्रति मतदाताको आकर्षण बढ्दै गएको देखिएको छ ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो समयमा नै जनतामाझ उल्लेख्य चासो र समर्थन बटुल्न थालेको छ । कर्णालीबाट नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका स्थापित दलहरूसँगै नयाँ तथा साना दलहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैगरी राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी, नेकपा संयुक्त, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टी र आम जनता पार्टीका उम्मेदवारहरूले पनि चुनावी मैदान तताएका छन् । केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति पनि उल्लेख्य देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार