प्रतिनिधिसभा निर्वाचन २०८२ः कालीकोटमा जनयुद्धका सहकर्मीबीच प्रतिस्पर्धी



कालीकोटमा यतिबेला माओवादी जनयुद्धका सहकर्मी तथा दुई नेता—महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यस पटक आमनेसामने भएका छन् । करिब १८ वर्षपछि संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका प्रकाण्डले आफ्नै पूर्वसहकर्मी शाहीलाई मुख्य प्रतिस्पर्धीका रूपमा पाएका छन् । दुवै जनालाई कडा टक्कर दिएर चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने दाउमा नेपाली काँग्रेसका हर्षबहादुर बम, नेकपा एमालेका नगीन्द्र शाही ‘नेसनल’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश न्यौपानेलाई रहेका छन् ।

नन्दराम जैशी । सुर्खेत ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये कालीकोट यतिबेला सबैभन्दा बढी चासोको केन्द्रमा परेको छ । कारण, माओवादी जनयुद्धका सहकर्मी तथा दुई नेता—महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यस पटक आमनेसामने भएका छन् ।
करिब १८ वर्षपछि संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका प्रकाण्डले आफ्नै पूर्वसहकर्मी शाहीलाई मुख्य प्रतिस्पर्धीका रूपमा पाएका छन् ।

यसले कालीकोटको चुनावी माहोललाई अझ रोचक बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका शाही चौथो पटक चुनावी मैदानमा उत्रिएका हुन् । उनी कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत हुन् । संगठन, सत्ता अनुभव र पुरानो जनाधारलाई आधार बनाएर शाही पुनः जित निकाल्ने दाउमा छन् । यता, नेपाल कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका प्रकाण्ड गुलाफको फूल चुनाव चिह्न लिएर मैदानमा छन् ।

जनयुद्धकालीन छवि, वैचारिक धार र संगठन विस्तारलाई आधार बनाएर उनले शाहीलाई कडा टक्कर दिने तयारी गरेका छन् । यी दुई नेतालाई कडा टक्कर दिएर चुनावी बाजी मार्ने दाउमा कालीकोटमा अन्य दलका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । महेन्द्र–प्रकाण्डलाई कडा टक्कर दिएर चुनावी नतिजा आफ्नो पोल्टामा पनि पार्न सक्ने मुख्य उम्मेदवारका रूपमा नेपाली काँग्रेसका हर्षबहादुर बम, नेकपा एमालेका नगीन्द्र शाही ‘नेसनल’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश न्यौपानेलाई लिइएको छ ।

तर चुनावी बहस र मतदाताको चासो भने मुख्यतः शाही र प्रकाण्डको प्रतिस्पर्धामै केन्द्रित देखिन्छ । स्थानीय तहको अघिल्लो निर्वाचनको मत परिणाम, दल विभाजनपछि बनेको राजनीतिक समीकरण र व्यक्तिगत प्रभावका आधारमा यस क्षेत्रको नतिजा अनुमान गर्न कठिन देखिएको छ। माओवादी पृष्ठभूमिका दुई नेताबीचको सीधा प्रतिस्पर्धाले कालीकोटको निर्वाचनलाई यस पटक विशेष बनाएको छ ।

त्यसैमा निर्वाचन नजिकिँदै जाँदा मुख्य प्रतिस्पर्धी उम्मेदवार महेन्द्रबहादुर र प्रकाण्डबीचको आरोप–प्रत्यारोपले चुनावी माहोल थप तातेको छ । विवादित अभिव्यक्तिका कारण दुवै पक्षबीच सार्वजनिक रूपमा शब्दयुद्ध चलिरहेको छ । चुनावी अभियानको सुरुवात खाँडाचक्र नगरपालिका क्षेत्रमा एक सहिद परिवारको घरबाट गरेका प्रकाण्डको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ, जहाँ सहिद परिवार र स्वयं प्रकाण्ड भावुक देखिन्छन् ।

तर पहिलो कार्यक्रममै उनले नेकपा उम्मेदवार लक्षित गर्दै आक्रामक टिप्पणी गरे । खुलालु पुलदेखि कोटबाड विमानस्थलसम्मका सबै ठूला विकास आयोजना २०६४ पछि आफूहरूले बनाएको उनले दाबी गरे । ‘यो कर्णाली करिडोर हामीले बनाएको हो, यी लफङ्गाहरू कसैले बनाएका हैनन्’ भन्दै उनले दिएको अभिव्यक्तिपछि कालीकोटमा शाही र प्रकाण्ड पक्षबीच तीव्र आरोप–प्रत्यारोप सुरु भएको छ ।

प्रकाण्डले आफ्ना पूर्वसहकर्मीलाई ‘लफङ्गा’ भनेपछि त्यसको काउन्टरमा शाहीले पलाता गाउँपालिकाको कार्यक्रममा प्रतिक्रिया दिँदै जनतालाई भ्रमित पार्ने अभिव्यक्ति नदिन प्रकाण्डलाई आग्रह गरे । हाल शाही समूह रक्षात्मक प्रतिवादमा उत्रिएको छ भने प्रकाण्ड समूहले लगातार सांसद हुँदा पनि जिल्लामा उल्लेख्य काम नगरेको आरोप लगाउँदै आएको छ । जातीय तथा भेगीय मुद्दासमेत चुनावी एजेन्डा बनाइएको आरोप शाही पक्षको छ ।

अन्य दलका उम्मेदवारले पनि यही विषयलाई मुद्दा बनाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार हर्षबहादुर बम र नेकपा एमालेका नगीन्द्र शाहीले पनि पटक–पटक एउटै उम्मेदवार दोहोरिएर जित्दासमेत कालीकोटको समुचित विकास हुन नसकेको आरोप लगाउँदै आएका छन् ।
नेकपा उम्मेदवार शाहीले भने यस पटकको चुनावलाई चुनौतीका रूपमा लिएको बताएका छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सहज जित निकालेका उनी आफ्नै पूर्वसहकर्मी प्रकाण्ड मैदानमा उत्रिएपछि माओवादी मत विभाजन हुन सक्ने आकलन गरिएको छ । त्यसैले उनले आफू सांसद, मन्त्री र मुख्यमन्त्री हुँदा जिल्लामा भएका विकासलाई मुख्य एजेन्डा बनाएका छन् ।
कालीकोटमा यसपटक विकासको दाबी र प्रतिदाबीबीच चुनावी प्रतिस्पर्धा केन्द्रित भएको छ । पूर्वसहकर्मीबीचको कटु शब्दयुद्धले मतदाताको धारणा कता मोडिन्छ भन्ने चासो पनि बढेको छ । यसको फाइदा उठाउने दाउमा काँग्रेस, एमाले र रास्वपा उम्मेदवार छन् ।

महेन्द्र–प्रकाण्डको राजनैतिक पृष्ठभूमी 

राजनीतिक रूपमा प्रकाण्ड महेन्द्रबहादुर शाहीभन्दा सिनियर नेता हुन् । युद्धकालमा प्रकाण्ड पार्टी राजनीतिमा भेरी—कर्णली क्षेत्रका प्रमुख नेतामध्ये एक थिए । शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि उनी युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्नाली ब्युरो इन्चार्ज भइसकेका थिए । त्यो बेला भेरी–कर्णाली जनसरकार प्रमुखसमेत थिए उनी ।

महेन्द्र भने जनमुक्ति सेनाका लडाकु कमान्डर थिए । साविक कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेना स्थापना भएको समयदेखि नै महेन्द्र जनमुक्ति सेनाको अग्रभागमै थिए । पार्टीमा पनि उत्तिकै सक्रिय थिए । कालीकोट जिल्लाको सैन्य इन्चार्ज हुँदै बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका उनले पश्चिम नेपालका ठूला युद्ध मोर्चामा निर्णायक भूमिका निर्वाह गरे ।

शान्ति प्रक्रियापछि महेन्द्र सेनामै थिए भने प्रकाण्ड २०६४ को चुनावमा बलियो मत ल्याएर संसदीय राजनीतिमा प्रवेश गरे । केन्द्रमा उनी महिला तथा बालबालिकामन्त्री हुँदै पर्यटनमन्त्रीसम्म बने । सांसदको कार्यकाल नसकिँदै (२०६९) माओवादी अध्यक्ष ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएर प्रकाण्डले विप्लवसँगै पार्टी छाडे । पुनः विद्रोहको बाटो अपनाएका प्रकाण्डले मूल पार्टी छाडेपछि यस क्षेत्रबाट माओवादीमा महेन्द्रबहादुर शाहीको जबरजस्त उदय भयो ।

उसै उनी सेना समायोजनका बेला सम्मानजनक पद नपाएपछि पार्टी राजनीतिमा आउन चाहेका थिए । जिल्लाका प्रमुख नेताले नै मूल पार्टी छाडेपछि कालीकोटमा माओवादीको विरासत यथावत् राख्न प्रचण्डले महेन्द्रलाई अघि बढाएका थिए । माओवादी फुटकै बीचबाट २०७० को दोस्रो संविधानसभा चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने । त्यही बेला उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए ।

२०७४ मा प्रदेशसभा झरेका उनी कर्णालीको मुख्यमन्त्री बने । तत्कालीन नेकपा विवाद उत्कर्षको बेला सबैभन्दा ठूलो दल एमालेका सांसदलाई ‘फ्लोर क्रस’ गर्न लगाएर आफ्नो पद जोगाएर संसदीय राजनीतिमा चतुर खेलाडी बनेर उनी निस्किए । माओवादीभित्र कर्णालीमा जनार्दन शर्मा, शक्ति बस्नेतपछि महेन्द्र नै प्रभावशाली नेताका रूपमा उदाए । अहिले उनी प्रचण्डको विश्वासपात्रका रूपमा चिनिन्छन् भने नेकपाभित्र कर्णालीमा प्रभाव राख्ने नेता हुन् । उता प्रकाण्ड विप्लव नेतृत्वको नेकपाभित्र सधैँ दोस्रो तहको नेताका रूपमा छन् ।

यस्तो छ, मतपरिणाम विश्लेषण

कालीकोटमा कूल मतदाता सङ्ख्या ८४ हजार ६०० रहेको छ । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ तत्कालीन माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाहीले २३ हजार ७२७ मत ल्याएर चुनाव जितेका थिए । उक्त मत काँग्रेससहितको हो । उक्त निर्वाचनमा एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत ल्याएका थिए । समानुपातिकतर्फ पनि माओवादी (हाल नेकपा)ले सबैभन्दा धेरै १४ हजार २२९ मत पाउँदा एमालेले १२ हजार ५६४ र काँग्रेसले १० हजार ५८५ पाएको थियो ।

यस्तै तत्कालीन नेकपा समाजवादी (हाल नेकपा)ले दुई हजार ५३ मत ल्याएको थियो । माओवादी—समाजवादीको मत जोड्दा कालीकोटमा नेकपाको कूल समानुपातिक मत झण्डै १९ हजार बढी पुग्छ । वडामा पनि दलहरूले पाएको मत हेर्दा नेकपा बलियो छ । स्थानीय तहको निर्वाचनअन्तर्गत माओवादीले १८ हजार ३४७ र समाजवादीले तीन हजार ५०३ मत वडामा पाएका थिए ।

भने काँग्रेसले १२ हजार ८२० र एमालेले १२ हजार ६१३ मत पाएको थियो । २०७९ को सबै चुनावी मत परिणामदेखि सांगठनिक रूपमा कालीकोटमा नेकपा बलियो दल नै हो । तर आफ्नै पूर्वसहकर्मी तथा प्रभाव राख्ने नेता प्रकाण्ड नेकपा माओवादीबाट उम्मेदवार बनेका कारण आफ्नो धेरै मत क्रस हुने डर नेकपा नेताहरूलाई छ ।

प्रकाण्डले पनि आफूलाई माओवादीकै भोट आउने बताइरहेका छन् भने अर्कातर्फ उनले जातीय मत धेरै ल्याउने चर्चा गरिएको छ । कालीकोटमा दलित समुदायको निर्णायक मत रहेकाले उक्त मत उनलाई जान सक्ने विश्लेषण गरिएको छ । स्वयं प्रकाण्डको टिमले पनि यो विषयलाई चुनावी मुद्दा बनाइरहेको छ ।

नेकपाभित्र यसअघि जीवन बुढाले बागी उम्मेदवारी दिएका थिए । प्रचण्डको निर्देशनपछि उनले उम्मेदवारी फिर्तामात्रै गरेनन्, महेन्द्रको चुनावी कमान्डर नै बनेका छन् । तर उनको समूहको रणनीतिक साथ महेन्द्रले पाउँछन् वा पाउँदैनन् भन्ने चर्चा नेकपा वृत्तमा छ । रास्वपा, प्रकाण्डदेखि अन्य दलहरूले समेत नेकपाकै भोट लिनुपर्ने अवस्थामा आन्तरिक रूपमै धोका भएको खण्डमा महेन्द्रलाई यो चुनाव चुनौती बन्न सक्ने आकलन गरिएको छ । तर पूर्वमाओवादी नेताहरू महेन्द्र—प्रकाण्डबीच प्रतिष्ठाको लडाइँ हुने हुँदा त्यसको फाइदा काँग्रेस—एमालेले पनि लिन सक्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार