न्यालु लेकको हिउँले आउजाउ बन्द



हुम्ला ।

जिल्लास्थित न्यालु लेकमा बाक्लो हिमपात भई सडक अवरुद्ध भएपछि लिमीका मतदातालाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गाउँ पुग्न सकस परेको छ । नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने हिमालपारिको लिमी क्षेत्रका स्थानीयवासीले न्यालु नाकामा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सुचारु गरिदिन सरकारसँग आग्रह पनि गरेका छन् ।

वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै हिउँ सफा नगरे करिब ८० प्रतिशत मतदाता मतदानमा सहभागी हुन नपाउने अवस्था रहेको जनाएको छ । यो समस्याबारे जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमार्फत सरकारलाई समेत जानकारी गराइएको छ । तर यसबारे सरकारको कुनै जवाफ आएको छैन । लिमी जाने करिब पाँच हजार दुई सय मिटर उचाइको न्यालु नाकाको सडकमा माघ १० र १५ गते परेको हिमपातपछि बाक्लो हिउँ जमेर आउजाउ पूर्णरूपमा बन्द भएको स्थानीय छिरिङ तामाङले बताए ।

‘जाङ गाउँ हाल प्रायः मानवविहीन अवस्थामा पुगेको छ । मतदाता मात्रै होइन, गाउँ नै खालीजस्तै छ । यस्तो अवस्थामा मतदान गराउन कठिन देखिन्छ,’ उनले भने, ‘हिउँ नपन्छाइए मतदान कर्मचारी र सुरक्षाकर्मी हेलिकोप्टरमार्फत लिमी पुग्नुपर्ने छ, तर मतदाता नै उपस्थित नभएपछि मतदान प्रक्रिया प्रभावित हुने सम्भावना छ ।’ लिमीवासी मतदानमा सहभागी हुन इच्छुक रहे पनि सडक अवरुद्ध हुँदा गाउँ फर्किन नसकेको उनीहरूले बताएका छन् ।

लिमीस्थित भृकुटी प्रावि मतदान केन्द्रमा ११३ महिला र १३४ पुरुष गरी २४७ मतदाता छन् । तर अधिकांश स्थानीय काठमाडौँमा बसोबास गर्दै आएका र केही परिवार कात्तिक अन्त्यतिरै गाउँ छोडेकाले हाल उक्त क्षेत्र मतदाता न्यून भएको अवस्था छ । चैत महिनासम्म हिमपात जारी रहने सम्भावना रहेकाले तत्काल हिउँ सफा नगरे मतदानमा सहभागी हुन थप समस्या हुने स्थानीयले बताएका छन् ।

वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीका तीनमध्ये एक मतदानस्थल मतदाताविहीन अवस्थामा छ भने बाँकी दुई स्थलमा पनि मतदाता सङ्ख्या न्यून छ । हिमशिखर प्रावि तीलमा ५२ महिला र ८० पुरुष गरी १३२ मतदाता रहेकामा हाल करिब ४० जना मात्रै गाउँमा छन् । त्यसैगरी सुनखानी प्रावि हल्जीमा १३२ महिला र १६१ पुरुष गरी २९३ मतदाता रहेकामा हाल झन्डै १०० जना मात्रै गाउँमा छन् ।

लिमीका तीनै मतदान केन्द्रमा कूल ६७२ मतदाता रहे पनि हालको अवस्थाअनुसार करिब २० प्रतिशत मतदाताको मात्र सहभागिता हुन सक्ने स्थानीयको अनुमान छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले हिमपातका कारण लिमी क्षेत्र बढी प्रभावित भएको बताए । यो समस्याबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको र आयोगबाट समाधानका लागि आवश्यक निर्देशन आउने अपेक्षा गरिएको उनको भनाइ छ ।
हिउँदमा नियमित रूपमा बन्द हुने न्यालु नाकाको सडक खुलाउने व्यवस्था गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग लिमीवासीले माग गरेका छन् । तर हिउँ पन्छाएर सडक खुलाउने तर्फ कसैले चासो दिएका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार