म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका हुन्।
म्याग्दीका अन्य क्षेत्रमा सुन्तला टिपिसकेपछि अन्तिम समयमा बजार पठाउने रणनीति अपनाउँदा उनले सामान्यभन्दा दोब्बर बढी मूल्य पाएका हुन्। श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट काठमाडौँका व्यापारीले प्रतिकिलो दुई सय रुपैयाँका दरले सुन्तला खरिद गरेर लगेका छन्।
पुस महिनामा म्याग्दीमा सुन्तलाको दर प्रतिकिलो ७० रुपैयाँ मात्र थियो, तर फागुनको सुरुवातमै उनले उच्च मूल्य हात पारे। अघिल्लो वर्षको तुलनामा उत्पादन ४० प्रतिशतले घटे पनि मूल्य राम्रो पाउँदा आम्दानीमा कुनै असर नपरेको श्रेष्ठ बताउँछन्। उनले गत वर्ष १५ लाखको सुन्तला बेचेका थिए।पहिले बेनीमा पोल्ट्री र घरजग्गा व्यवसायमा संलग्न रहेका विकासले २०७६ सालमा सोखका लागि किनेको भिरालो पाखोबारीलाई अहिले हराभरा बनाएका छन्।
झन्डै साढे तीन करोड लगानी गरेर निर्माण गरिएको यो फार्ममा अहिले सात सय सुन्तलाका बोट छन्।उनले आफ्नो मात्र नभई गाउँका अन्य किसानको समेत एक करोड ३० लाख बराबरको सुन्तला बिक्रीको व्यवस्था मिलाइदिएका छन्। दोसल्ले गाउँका ४२ घरधुरीले यस वर्ष सुन्तलाबाट मात्रै दुई करोड रुपैयाँ गाउँ भित्र्याएका छन्।विकासले आफ्नो फार्ममा सुन्तलासँगै कुखुरा पालन पनि गरेका छन् ।
जसको सुली सुन्तलाका लागि उत्कृष्ट मल हुने उनको अनुभव छ। उनले कुनै सरकारी अनुदान बिना नै यो सफलता हात पारेका हुन्।सहर र विदेश पलायन हुने लहरका बिच गाउँ फर्किएर बाँझो जमिन सदुपयोग गरेका उनी अहिले जिल्लाकै नमूना कृषक बनेका छन्। निलगिरि र धौलागिरि हिमालको काखमा रहेको उनको सुन्तला बगैँचा अहिले अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ भने उनले यसलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य राखेका छन्। रासस









प्रतिक्रिया दिनुहोस्