नेमकिपाको घोषणापत्र सार्वजनिक



नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच अध्यक्ष नारायणमान बिजुक्छेले सार्वजनिक गरेको घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानूनी व्यवस्था खारेज गराउने, दुर्गम क्षेत्रहरुमा रोपवे, केबुल कार, सुरुङमाग, रेलमार्ग जस्ता एजेण्डाहरु उल्लेख छन् ।

त्यस्तै भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीहरुलाई ज्यान सजायसमेत हुने कानूनी व्यवस्था बनाउन निरन्तर संघर्षरत रहने, निर्वाचित जनप्रतिनिधिहरु आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानून व्यवस्था गराउने लगायतका एजेण्डासमेत घोषणापत्रमा उल्लेख छन् ।

यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीले अहिलेसम्म देशका लागि गरेका कामका बारेमा आगामी सदनमा स्पष्ट पार्न सक्नुपर्नेमा अध्यक्ष बिजुक्छेले जोड दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार