प्रतिनिधिसभा निर्वाचनः २०८२ः ठूला दलले दिए महिलालाई असहज निर्वाचन क्षेत्र



आसन्न निर्वाचनका लागि कूल तीन हजार चार सय ६ उम्मेदवारमध्ये तीन सय ८८ जना मात्रै महिला उम्मेदवार छन् । जुन कूल सङ्ख्याको ११ प्रतिशत मात्रै हो । त्यसमा पनि दुई सय ३१ जना मात्रै दलहरूले बनाएका उम्मेदवार महिला हुन् । बाँकी एक सय ५७ जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । विघटित संसद्मा रहेका ठूला चार दलले त झन् प्रत्यक्षतर्फ निकै कम सङ्ख्यामा महिला उम्मेदवार उठाएका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

प्रत्यक्षतर्फ महिला उम्मेदवारको प्रतिनिधित्वलाई लिएर उठिरहेका सवाललाई दलहरूले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि बेवास्ता गरेका छन् । आसन्न निर्वाचनका लागि कूल तीन हजार चार सय ६ उम्मेदवारमध्ये तीन सय ८८ जना मात्रै महिला उम्मेदवार छन् । जुन कूल सङ्ख्याको ११ प्रतिशत मात्रै हो । त्यसमा पनि दुई सय ३१ जना मात्रै दलहरूले बनाएका उम्मेदवार महिला हुन् । बाँकी एक सय ५७ जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

विघटित संसद्मा रहेका ठूला चार दलले त झन् प्रत्यक्षतर्फ निकै कम सङ्ख्यामा महिला उम्मेदवार उठाएका छन् । नेपाली काँग्रेसले उम्मेदवारी दिएका सबै एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ११ वटा निर्वाचन क्षेत्रमा मात्रै प्रत्यक्ष उम्मेदवार महिलालाई बनाएको छ । जुन कूल उम्मेदवारको करिब ७ प्रतिशतमात्रै हुन आउँछ । यसैगरी एमालेले एक सय ६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोमा त्यसमध्ये १० जना मात्रै महिला उम्मेदवार छन् ।

उक्त सङ्ख्या कूल उम्मेदवारको ६ प्रतिशत मात्रै हो । एक सय ६४ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको नेकपाले पनि करिब ७ प्रतिशत अर्थात् १२ निर्वाचन क्षेत्रमा मात्रै महिला उम्मेदवार बनाएको छ । संसद्को चौथो दल रास्वपाले पनि एक सय ६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा कूल १६ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार बनाएको छ । जुन करिब १० प्रतिशत सङ्ख्या हो ।

यसरी प्रत्यक्षतर्फ न्यून सङ्ख्यामा महिला उम्मेदवार बनाएका दलहरूले महिला उम्मेदवारहरूलाई चुनाव क्षेत्र दिँदा पनि जितको लागि सहजभन्दा पनि तुलनात्मक रूपमा असहज निर्वाचन क्षेत्र दिएका छन् । अघिल्ला निर्वाचनमा हार व्यहोरेका निर्वाचन क्षेत्रमा प्रायः महिलालाई उम्मेदवार बनाइएको छ । अघिल्लोपटक निर्वाचन जितेका क्षेत्रहरूमा कमै महिला उम्मेदवारलाई अवसर दिइएको छ ।

प्रायः अघिल्ला निर्वाचनको अंकगणितले असहज स्थिति देखाएका निर्वाचन क्षेत्रमै उनीहरूले महिला उम्मेदवारलाई खडा गर्नुले पनि दलहरू महिला प्रतिनिधित्वका लागि गम्भीर छैनन् भन्ने देखाउँछ । नेपाली काँग्रेसकी नेतृ एवं नेपालगन्ज उपमहानगरपालिकाकी पूर्वउपप्रमुख उमा थापामगर यस्तो हुनुमा पार्टीको संरचनामै सुधारको आवश्यकता देख्छिन् । डिसिजन ठाउँमा कम महिला हुँदा त्यसले निर्णय गर्दा महिला कम प्राथमिकतामा पर्ने गरेको उनको भनाइ छ ।

त्यसका लागि उम्मेदवार छनौटको तरिका नै बदल्नुपर्ने वा डिसिजन गर्ने ठाउँमा महिलाको सहभागिता बढाउनुपर्ने उनले बताइन् । अर्काेतर्फ निर्वाचन खर्र्चिलो हुने हुनाले धेरै महिला उम्मेदवारीको प्रयासमै नलाग्ने गरेको उनको बुझाइ छ । ‘निर्वाचन खर्चिलो भएकाले कममात्रै महिलाहरू प्रत्यक्षतर्फ चुनाव लड्न हिम्मत गर्न सकिरहेको अवस्था छ,’ उनले भनिन् ।

महिलालाई उम्मेदवारी दिँदा कमजोर स्थिति रहेको क्षेत्रमा मात्रै उम्मेदवारी दिनुको कारणमा पनि आर्थिक र प्रतिस्पर्धा नै जोडिने गरेको उनले बताइन् । ‘जहाँ जित्ने सहज अवस्था छ त्यहाँ धेरैले हानथाप गरिरहेका हुन्छन् । त्यो हानथापमा महिलालाई साथ दिने कमै हुन्छन् । जसले गर्दा महिलाहरूले उम्मेदवारी पाए पनि कमजोर निर्वाचन क्षेत्रमा मात्रै पाउने अवस्था छ,’ थापाले भनिन् ।

नेपाली काँग्रेस पार्टीः सबै महिला उम्मेदवारलाई असहज चुनाव क्षेत्र

नेपाली काँग्रेसले आसन्न निर्वाचनमा ११ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । तर, ती ११ वटै निर्वाचन क्षेत्रमा यसअघिका निर्वाचनको परिणाम हेर्दा काँग्रेसको मताधार कमजोर छ । काँग्रेसले कुनै पनि महिला उम्मेदवारलाई यसअघिका दुई निर्वाचनमा काँग्रेसका उम्मेदवारले जितेको क्षेत्रमा उम्मेदवार बनाएको छैन । अधिकांश उम्मेदवारलाई अरु दलका हेभिवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लगाएको छ।

काँग्रेसले महिला उम्मेदवारहरूलाई उनीहरूको आफ्नो सामथ्र्यमा चुनाव लड्नुपर्ने असजिला निर्वाचन क्षेत्रमा मात्रै भागमा पारेको छ । नेपाली काँग्रेसले झापा २ बाट उम्मेदवार बनाएको छ नेतृ सरिता प्रसाईंलाई । संविधानसभा सदस्य, पूर्वराष्ट्रियसभा सदस्य र पूर्वप्रतिनिधिसभा सदस्य रहिसकेकी प्रसाईं भिडिरहेको क्षेत्रमा यसअघिका दुई संसदीय निर्वाचनमा काँग्रेसको स्थिति ठिक छैन । उ

क्त क्षेत्रमा २०७९ मा एमालेका नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २८ हजार एक सय १६ मतसहित विजयी भएका थिए । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता स्वागत नेपालले २६ हजार चार सय ५५ मत ल्याएर दोस्रो भएका थिए । घिमिरे यसपटक पनि उम्मेदवार छन् भने नेपाल पनि यसपटक राप्रपाबाट उम्मेदवार बनेका छन् ।

२०७९ सालमा माओवादी–काँग्रेस गठबन्धनका साझा उम्मेदवार माओवादीका हरिकुमार रानामगरले १३ हजार नौ सय ७० मतमात्रै ल्याएका थिए । सोही निर्वाचन क्षेत्रबाट तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै नेतृत्वमा रहेको दल नेपाली कम्युनिस्ट पार्टीबाट संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंलाई उम्मेदवार बनाएको छ भने रास्वपाले पूर्वउपसभामुख इन्दिरा रानामगरलाई पनि उम्मेदवार बनाएको छ ।

आसन्न निर्वाचनको सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्र झापा ५ बाट काँग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतले जितेको उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई उम्मेदवार बनाएको छ । जहाँ मन्धरा राजनीतिक दलबाट एक्ली महिला उम्मेदवार हुन् भने स्वतन्त्रबाट दुईजना महिला उम्मेदवार छन् ।

२०७९ को निर्वाचनमा उक्त क्षेत्रमा ओलीले ५२ हजार तीन सय १९ मत ल्याएका थिए भने काँग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४६ मतमात्रै पाएका थिए । रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ५९ मत ल्याएको उक्त निर्वाचनमा यसपटक कस्तो नतिजा आउँछ भन्ने अनेक अडकालबाजी र चासोहरू व्यक्त भइरहेका छन् । तर, उम्मेदवारको सहज स्थितिका हिसाबले काँग्रेसको कमजोर स्थिति नै रहेको उक्त स्थानमा चिमरियालाई उम्मेदवार बनाइएको छ ।

काँग्रेसले सिरहा ४ बाट उम्मेदवार बनाएकी चन्द्रकला कुमारी यादवका लागि पनि उक्त क्षेत्र सहज क्षेत्र होइन । उक्त क्षेत्रमा यसअघिका २ निर्वाचनमा मधेशआश्रित दलका उम्मेदवारले जितेका थिए । तर, ३६ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा यादव एक्ली महिला उम्मेदवार हुन् ।
उक्त निर्वाचन क्षेत्रमा २०७९ को निर्वाचनमा जसपा नेपालका वीरेन्द्रप्रकाश महतो २४ हजार एक सय २ मतसहित विजयी भएका थिए भने जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहले १६ हजार २ सय ९४ मत ल्याएका थिए ।

काँग्रेसले समर्थन गरेका एकीकृत समाजवादीका धर्मनाथप्रसाद शाहले १४ हजार ६ सय ५३ मत ल्याएका थिए । शाह यसपटक एमालेबाट चुनावमा उम्मेदवार छन् । उक्त क्षेत्रमा जसपा नेपालबाट राजकिशोर यादव, नेकपाबाट अजयशंकर नायक, जनमतबाट वीरेन्द्रप्रसाद महतो र रास्वपाबाट तपेश्वर यादव उम्मेदवार छन् । काँग्रेसले सिन्धुली २ बाट उम्मेदवार बनाएकी सुशिला थिङका लागि पनि उक्त क्षेत्र सहज क्षेत्र होइन। अघिल्ला दुवै निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको उक्त क्षेत्रमा एमालेको पनि राम्रो पकड छ ।

२०७९ को निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा काँग्रेससमेतको समर्थनमा माओवादी केन्द्रका लेखनाथ दाहालले २७ हजार पाँच सय १६ मत ल्याएर विजयी भएका थिए । दाहाल यसपटक पनि नेकपाबाट उम्मेदवार छन् । यसैगरी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याएकोमा यसपटक पनि उनलाई उम्मेदवार बनाइएको छ ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रका हरिबोल गजुरेलले ३० हजार एक सय ७९ मत ल्याएर जित्दा काँग्रेसका नरेन्द्रजंग थापाले १८ हजार एक सय २७ मत ल्याएका थिए । सिन्धुली २ बाट अर्की महिला उम्मेदवार नेमकिपाले राजेश्वरी कोजुलाई बनाएको छ भने यसअघि एक हजार बढी मत ल्याएर तेस्रो बनेको रास्वपाले आशिष गजुरेललाई उम्मेदवार बनाएको छ ।

काँग्रेसले महोत्तरी २ बाट उम्मेदवार बनाएकी संविधानसभा सदस्य किरण यादव पनि असहज चुनाव क्षेत्र पनि काँग्रेसका लागि असहज चुनाव क्षेत्र हो । उक्त चुनाव क्षेत्रमा मधेशआश्रित दलहरूको दबदबा छ । २०७४ र २०७९ दुवै निर्वाचनमा लोसपा नेपालका शरतसिंह भण्डारीले जितेको उक्त निर्वाचन क्षेत्रमा २०७४ मा किरणले १३ हजार ९ सय ७४ मत पाउँदा भण्डारीले ३० हजार ७ सय २२ मत ल्याएर जितेका थिए । भण्डारी यसपटक जसपा नेपालबाट उम्मेदवार छन् ।

उक्त निर्वाचन क्षेत्रबाट यसपटक अघिल्लोपटकको तेस्रो दल एमालेका कासिम नदाफ, चौथो भएको जनमतका जयकुमार पाण्डे उम्मेदवार छन् भने चार जना स्वतन्त्र महिला उम्मेदवार छन् । काँग्रेसले काठमाडौँ ८ मा २०७५ मा समानुपातिकबाट प्रतिनिभिसभा सदस्य बनेकी सपना राजभण्डारीलाई यसपटक प्रत्यक्षतर्फको टिकट दिएको छ । तर उक्त क्षेत्र पनि काँग्रेसका लागि सहज क्षेत्र होइन । उक्त क्षेत्रबाट २०७९ मा प्रतिनिधिसभा सदस्य विजयी भएका विराजभक्त श्रेष्ठ यसपटक फेरि उम्मेदवार छन् ।

श्रेष्ठले १० हजार एक सय ५ मत ल्याउँदा पाँच हजार ८ सय ८९ मत ल्याइ दोस्रो भएका सुमन सायमी यसपटक नेकपाबाट उम्मेदवार बनेका छन्। एमालेबाट राजेश शाक्य उम्मेदवार रहेको उक्त क्षेत्रमा अरु ४ जना महिला उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा २०७४ मा एमालेका जीवनराम श्रेष्ठले १३ हजार तीन सय ९७ मत ल्याएर जित्दा काँग्रेसका नविन्द्रराज जोशीले १२ हजार नौ सय ५३ मत ल्याएका थिए ।

काँग्रेसले नानुमैया बास्तोलालाई उम्मेदवार बनाएको काठमाडौँ–९ पनि काँग्रेसको लागि सहज निर्वाचन क्षेत्र होइन । उक्त क्षेत्रमा यसअघिका दुई निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले जितेका थिए । दुवै निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले जितेका थिए । यसपटक एमालेले अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएको छ भने अघिल्लो निर्वाचनमा दोस्रो भएको रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाएको छ ।

२०७९ मा एमालेका श्रेष्ठले १९ हजार नौ सय ५६ मत ल्याउँदा रास्वपाका टेकप्रसाद पोखरेलले १० हजार नौ सय ६१ मत ल्याएका थिए । २०७४ को निर्वाचनमा श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याउँदा काँग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मतमात्रै ल्याएका थिए । काँग्रेसले महालक्ष्मी उपाध्याय डिनालाई उम्मेदवार बनाएको मकवानपुर १ पनि राप्रपाको प्रभाव क्षेत्र भएकाले सहज छैन । उक्त क्षेत्रमा राप्रपाले २०७९ मा डिनालाई नै पराजित गरेर प्रतिनिधिसभा सदस्य चुनिएका दीपकबहादुर सिंहलाई पुनः उम्मेदवार बनाएको छ ।

अघिल्लोपटक राप्रपा विभाजित हुँदा पनि सिंहले २७ हजार ८ सय १६ मत ल्याएर विजयी भएका थिए । राप्रपाका नेता कमल थापाको क्षेत्र पनि रहेको उक्त क्षेत्रमा थापाले २०७९ मा २५ हजार चार सय २० मत ल्याएका थिए । यसपटक राप्रपा एक भएर चुनावमा जाँदै छ । डिनाले २०७९ मा २५ हजार चार सय २३ मत ल्याएकी थिइन् ।

२०७४ मा भने एमालेका कृष्णप्रसाद दाहालले थापालाई ६ हजार मतान्तरले हराउँदै ४० हजार ६ सय ३० मत ल्याएका थिए । यसपटक एमालेले रामेश्वर रानामगरलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रबाट २ जना स्वतन्त्रसहित चार जना अरु महिला उम्मेदवार पनि छन् । आसन्न निर्वाचनको चर्चाको केन्द्रमा रहेको अर्काे निर्वाचन क्षेत्र चितवन २ मा काँग्रेसले मिनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ ।

जुन क्षेत्र रास्वाका सभापति रवि लामिछाने उम्मेदवार रहेको क्षेत्र हो । एक उपनिर्वाचनसहित पछिल्ला तीनवटा निर्वाचनमध्ये २०७९ र २०८१ गरी दुईवटामा लामिछाने भारी मतका साथ विजयी भएका छन् । अझ लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दाका कारण २०८१ मा उपनिर्वाचन हुँदा लामिछानेले अघिल्लो निर्वाचनभन्दा चार हजार नौ सय बढी मत ल्याएर चुनाव जितेका थिए । यसपटक पनि लामिछाने सोही क्षेत्रमा उम्मेदवार छन् ।

२०७४ मा एमालेका कृष्णभक्त पोखरेल ४४ हजार ६ सय ७० मत ल्याएर विजयी हुँदा काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार तीन सय १४ मत मात्रै ल्याएका थिए । यसरी हेर्दा कमजोर अवस्थामा रहेको उक्त क्षेत्रमा समाजसेवामा राम्रो काम गरेकी खरेललाई उम्मेदवार बनाएको छ । जहाँ अरु साना ६ दलले पनि महिला उम्मेदवार उठाएका छन् । काँग्रेसले रूकुम पूर्वबाट कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ जहाँ पार्टीका आधार कमजोर छ ।

त्यसैमाथि यसपटक उक्त क्षेत्रबाट नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । माओवादीको आधारक्षेत्र मानिने उक्त क्षेत्रमा अघिल्ला दुवै निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएका थिए । २०७९ मा पूर्णबहादुर घर्तीमगरले १२ हजार दुई सय ६२ मत ल्याएर जित्दा एमालेका कैलाशकुमार मल्लले मात्र पाँच हजार दुई सय ११ मत पाएका थिए ।

२०७४ मा माओवादीका कमला रोकाले १० हजार चार सय ३४ मत ल्याउँदा काँग्रेसका हरिशंकर घर्तिमगरले चार हजार चार सय ६ मतमात्रै पाएका थिए । उक्त क्षेत्रबाट मंगोल नेश्नल अर्गनाइजेशनकी ज्योति रोकामगर पनि उम्मेदवार छन् । काँग्रेसले बसन्ती थापालाई उम्मेदवार बनाएको दैलेख १ मा पनि पछिल्ला दुई निर्वाचन जितेका दुईजना कम्युनिस्ट उम्मेदवारसँग लड्नुपर्ने स्थिति छ ।

२०७९ मा नेकपा एसबाट चुनाव जितेका अम्मरबहादुर थापा यसपटक नेकपाबाट उम्मेदवार छन् भने २०७४ चुनाव जितेका र २०७९ मा दोस्रो भएका रविन्द्रराज शर्मालाई एमालेले यसपटक पनि फेरि उम्मेदवार बनाएको छ । २०७९ मा थापाले १८ हजार दुई ९७ मत ल्याएर जित्दा शर्माले १७ हजार चार सय ४५ मत ल्याएका थिए । २०७४ मा शर्माले २३ हजार ७ सय ७३ मत ल्याउँदा राप्रपाका दिपकबहादुर शाहीले १७ हजार दुई सय ५२ मत पाएका थिए । यसपटक राप्रपाबाट रणबहादुर सिंह उम्मेदवार छन् ।

नेकपा एमाले पार्टीः पाँचलाई सहज, पाँचलाई असहज क्षेत्र 

नेकपा एमालेले प्रत्यक्षतर्फ कूल १० जना महिला उम्मेदवार बनाएको छ । एमालेले पाँचजना महिला उम्मेदवारलाई सहज निर्वाचन क्षेत्रमै उम्मेदवार बनाए पनि पाँच जनालाई यसअघिका निर्वाचनमा मताधार कमजोर देखिएको र अरु दलबाट तुलनात्मक रूपमा राम्रो मताधार देखिएका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लगाएको छ । एमालेले सुनसरी ३ मा उम्मेदवार बनाएकी भगवती चौधरी यसअघि निर्वाचित क्षेत्रमै उम्मेदवार छिन् ।

उनका प्रतिस्पर्धी पनि उही छन्, काँग्रेसका विजयकुमार गच्छदार । चौधरी र गच्छदार पछिल्ला दुई निर्वाचनकै प्रतिस्पर्धी हुन् । २०७४ मा गच्छदारले जित्दा २०७९ मा भगवतीले जितेकी थिइन् । २०७४ मा पनि भगवती मात्र तीन सय २१ मतले हारेकी थिइन् । २०७९ मा चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर जित्दा गच्छदारले ३५ हजार ६०० मत ल्याएका थिए ।

२०७४ मा गच्छदारले ३८ हजार नौ सय ७२ मत ल्याएर जितेका थिए । २०७९ मा रास्वपाका कमलबाबु मैनालीले ६ हजार २ सय ७९ मत ल्याएकोमा यसपटक रास्वपाले आशोकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । भगवतीसँगै यसपटक उक्त निर्वाचन क्षेत्रबाट चार जना अरु महिला उम्मेदवार पनि छन् । एमालेले सोलुखुम्बु १ मा पनि अघिल्लोपटक जितेकै निर्वाचन क्षेत्रमा कल्पना राईलाई उम्मेदवार बनाएको छ ।

२०७९ मा उक्त निर्वाचन क्षेत्रबाट एमालेका मनवीर राई १९ हजार तीन सय २४ मत ल्याएर विजयी भएकोमा काँग्रेसका कमलबहादुर केसीले १६ हजार पाँच सय ४५ मत ल्याएका थिए । काँग्रेसले यसपटक उक्त क्षेत्रबाट प्रकाशसिंह कार्कीलाई उम्मेदवार बनाएको छ । २०७४ मा भने माओवादीका हेमकुमार राई २० हजार चार सय ४७ मत ल्याएर जितेकोमा नेपाली काँग्रेसका बलबहादुर केसीले १७ हजार दुई सय ९४ मत पाएका थिए ।

एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको ओखलढुंगा १ पनि एमालेको लागि तुलनात्मक रूपमा सहज निर्वाचन क्षेत्र नै हो । २०७४ एमालेका यज्ञराज सुनुवारले ३२ हजार पाँच सय २० मतसहित जितेकोमा काँग्रेसका रामहरि खतिवडाले २७ हजार तीन सय २७ मत ल्याएका थिए । २०७९ मा भने खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याएर जित्दा सुनुवारले २६ हजार सात सय ३८ मत पाए । यसपटक उक्त क्षेत्रमा काँग्रेसले कुमार लुईँटेललाई उम्मेदवार बनाएको छ ।

एमालेले उम्मेदवार बनाएकी जुलीकुमारी महतो (महासेठ)को निर्वाचन क्षेत्र धनुषा ३ पनि उनी यसअघि निर्वाचित भएकै क्षेत्र हो । २०७९ मा महतो ३३ हजार तीन सय ८८ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अनिलकुमार झाले २३ हजार ६ सय ८६ मत पाएका थिए । २०७४ मा भने राजपाका राजेन्द्र महतोले ३० हजार ७ सय ४२ मत ल्याएर जित्दा काँग्रेसका विमलेन्द्र निधिले २७ हजार ८ सय २८ मतमात्रै पाएका थिए ।

यसपटक उक्त निर्वाचन क्षेत्रमा काँग्रेसबाट निधि उम्मेदवार छन् भने जसपा नेपालबाट परमेश्वर शाह सुढी उम्मेदवार छन् । यता रास्वपाले निवर्तमान सांसद तथा आफ्ना प्रवक्ता मनिष झालाई उक्त क्षेत्रमा उतारेकोले महतोमाथि चुनौती भने थपिएको छ । एमालेले आफ्नो असहज क्षेत्र महोत्तरी ४ मा निलम अधिकारीलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्र नेपाली काँग्रेस र मधेशआश्रित दलहरूको प्रभाव क्षेत्र हो ।

उक्त निर्वाचन क्षेत्रबाट काँग्रेसले २०७९ मा निर्वाचन महेन्द्रकुमार रायलाई नै दोहो¥याएको छ । जसपा नेपालले पनि यसअघि दोस्रो भएका सुरेन्द्रकुमार यादवलाई उम्मेदवार बनाएको छ भने तेस्रो भएको जनमत पार्टीले पनि मनोजकुमार साहलाई नै दोहो¥याएको छ । यादव २०७४ को निर्वाचनमा विजयी हुँदा दोस्रोमा नेपाली काँग्रेसका राय नै उम्मेदवार थिए ।

उक्त क्षेत्रमा निवर्तमान प्रदेशसभा सदस्य तथा संविधानसभा सदस्य भरतप्रसाद शाहलाई नेकपाले उम्मेदवार बनाएको छ । उक्त क्षेत्रबाट अरु पाँच जना महिला उम्मेदवार पनि छन् । एमालेले उम्मेदवार बनाएकी पूर्वमन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी शाहको निर्वाचन क्षेत्र पनि एमालेको लागि सहज निर्वाचन क्षेत्र हो । उक्त निर्वाचन क्षेत्रमा २०७९ मा साह २० हजार दुई ५१ मत ल्याएर विजयी भएकी थिइन् । त्यतिबेला जनता समाजवादी पार्टी नेपालका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत ल्याएका थिए ।

यद्यपि लोसपाका लालबाबु सिंह भुइहारले पनि ११ हजार नौ सय ६४ मत ल्याएका थिए । यादवले २०७४ को निर्वाचनमा २१ हजार तीन सय ३६ मत ल्याएर चुनाव जितेका थिए । यसपटक यादव पुनः उम्मेदवार छन् भने नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि सोही क्षेत्रबाट उम्मेदवार छन् । २०७४ को निर्वाचनम मन्सुरले १० हजार ३ सय ६२ मत ल्याएका थिए भने एमालेका अदयानन्द पाण्डेले १६ हजार तीन सय ६२ मत ल्याएका थिए । ज्वालको निर्वाचन क्षेत्रमा अरु तीनजना महिला उम्मेदवार छन् ।

पर्सा २ भने एमालेको सहज निर्वाचन क्षेत्र होइन जहाँ उसले रिमाकुमारी यादवलाई उम्मेदवार बनाएको छ । उक्त निर्वाचन क्षेत्रमा २०७९ को निर्वाचनमा काँग्रेसका अजयकुमार चौरसिया २८ हजार चार सयभन्दा बढी मतले विजयी हुँदा जसपा नेपालका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार चार सय बढी भत ल्याएका थिए । चौरसिया यसपटक पनि उम्मेदवार छन् भने जसपाले अशोकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । २०७४ मा पनि उक्त क्षेत्रमा फोरमका विमलप्रसाद श्रीवास्तवले जित्दा चौरसिया दोस्रो भएका थिए । यसपटक रिमाबाहेक अरु तीनजना महिला पनि उम्मेदवार छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव लडेको क्षेत्र र अघिल्लोपटक रास्वपाका उपसभाति स्वर्णिम वाग्लेले उपनिर्वाचन जितेको क्षेत्र तनहुँ १ मा यसपटक एमालेले नेतृ भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । २०७९ मा पौडेलले २५ हजार तीन सय ६१ मत ल्याएर पाँच हजार तीन सय बढी मतान्तरसहित एमालेका एकबहादुर रानालाई हराएका थिए । उनी राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा रास्वपाका वाग्लेले काँग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ८ सय बढी मतान्तरसहित ३४ हजार नौ सय १९ मत ल्याएर जितेका थिए । वाग्ले यसपटक पनि सोही निर्वाचन क्षेत्रमा उम्मेदवार छन् ।

यद्यपि उक्त क्षेत्रमा २०७४ मा एमालेका कृष्णकुमार श्रेष्ठले हालका राष्ट्रपति पौडेललाई हराएका थिए । त्यतिबेला बाम गठबन्धन थियो । जसको फाइदा उठाउँदै ६ हजार आठ सय बढी मतान्तरसहित श्रेष्ठले ३४ हजार चार सय ९२ मत ल्याएर जितेका थिए । यसपटक एमाले एक्लै चुनावी मैदानमा छ । काँग्रेसले यसपटक पनि भट्टराईलाई उम्मेदवार बनाएको छ भने नेकपाले विद्यानाथ ढकाललाई उम्मेदवार बनाएको छ ।

एमालेले २०७९ मा दोस्रो भएकी मन्जु शर्मालाई यसपटक फेरि चुनाव लडाइरहेको बाग्लुङ २ पनि उसका लागि सहज क्षेत्र होइन । तर, यसपटक अरु दलका बलिया उम्मेदवार नहुँदा उनलाई केही सहज भने हुने देखिन्छ । उक्त क्षेत्रमा पछिल्ला दुवै निर्वाचन माओवादी केन्द्रले जितेको थियो । यद्यपि २०७४ मा एमालेले नै साथ दिएको थियो भने २०७९ मा काँग्रेसले ।

उक्त क्षेत्रबाट दुवैपटक माओवादीका नेता देवेन्द्र पौडेलले जितेका थिए । जो यसपटक उक्त क्षेत्रबाट उम्मेदवार छैनन् । पौडेलको अहिलेको दल नेकपाले उक्त क्षेत्रमा ज्ञामनाथ गैरेलाई उम्मेदवार बनाएको छ । २०७९ मा पौडेलले शर्मालाई चार हजार ६ सय बढी मतान्तरसहित २४ हजार ७ सय ९४ मत ल्याएर जितेका थिए । २०७४ मा पौडेलले २८ हजार ८ सय २७ मत ल्याएर जित्दा कांग्रेसका नरबहादुर पुनले १९ हजार नौ सय पाँच मत पाएका थिए । यसपटक कांगेसले टेकराज पौडेललाई उम्मेदवार बनाएको छ ।

एमालेबाट महिला उम्मेदवारी रहेको बर्दिया क्षेत्र नम्बर २ पनि पार्टीको मताधारका हिसाबले असज क्षेत्र हो । उक्त क्षेत्रबाट एमालेले नेतृ विमला विकलाई उम्मेदवार बनाएको छ । जहाँबाट २०७४ मा माओवादीका सन्तबहादुर थारू र २०७९ मा स्वतन्त्रबाट उम्मेदवार भई पछि नागरिक उन्मुक्तिमा गएका लालबीर चौधरीले जितेका थिए ।

यद्यपि २०७९ मा तेस्रो भएको एमालेका उम्मेदवार पंकजसिंह राठौरले १६ हजार ९० मत पाएका थिए । त्यसबेला विजेता चौधरीले २६ हजार पाँच सय २० मत पाउँदा काँग्रेस माओवादीका साझा उम्मेदवार माओवादीका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत पाएका थिए ।

२०७४ मा माओवादीका थारूले ५० हजार पाँच सय ५५ मत पाउँदा काँग्रेसका गोपाल दहितले ३६ हजार सात सय ३५ मत पाएका थिए ।यसपटक काँग्रेसबाट निवर्तमान सहमहामन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौर उम्मेदवार छन् भने यसअघि दोस्रो भएका पन्थ नेकपाबाट उम्मेदवार छन् । उक्त क्षेत्रबाट नेकपा संयुक्तबाट निता शर्मा अर्की महिला उम्मेदवार छन् ।

नेपाली कम्युनिस्ट पार्टीः प्रचण्डपुत्री र बुहारीलाई सहज, अरुलाई असहज 

पूर्वमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको नेकपाले १२ जना महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । नेकपाले महिलालाई उम्मेदवार बनाएका क्षेत्रहरूको अघिल्ला निर्वाचनको परिणाम विश्लेषण गर्दा धेरै उम्मेदवारका लागि असहज स्थिति छ । तर संयोजक प्रचण्डकी छोरी र बुहारीका लागि पनि तुलनात्मक रूपमा सहज निर्वाचन क्षेत्र छुट्याइएको छ ।

नेकपाले झापा २ बाट संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंलाई उम्मेदवार बनाएको छ । काँग्रेसले नेतृ सरिता प्रसार्इंलाई उम्मेदवार बनाएको उक्त क्षेत्र प्रसाईं र चापागार्इं दुवैका लागि असहज क्षेत्र हो । नेकपाले पूर्वप्रदेशसभा सदस्य सरिता थापालाई संखुवासभा १ मा उम्मेदवार बनाएको छ ।

उक्त क्षेत्रमा पछिल्ला दुई निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमाले र काँग्रेसका प्रतिनिधिले जितेका थिए । उक्त क्षेत्रमा २०७९ मा काँग्रेसका दीपक खड्का ३२ हजार एक सय बढी मत ल्याएर जित्दा एमालेका राजेन्द्र गौतमले २६ हजार सात सय मत ल्याएका थिए । उता २०७४ मा गौतमले ३२ हजार सात सय बढी मत ल्याएर जित्दा काँग्रेसका खड्काले ३२ हजार ६ सय मत ल्याएका थिए ।

पार्टी एकीकरणअघि एकीकृत समाजवादीमा रहेकी उनले संखुवासभा १ (ख)मा १५ हजार दुई सय ४३ मत पाएकी थिइन् । नेकपाले रामकुमारी चौधरीलाई उम्मेदवार बनाएको सुनसरी २ पनि नेकपाको सहज क्षेत्र होइन । २०७९ को निर्वाचनमा एमालेका भीम आचार्यले ३२ हजार मत ल्याएर जित्दा काँग्रेसका सिताराम महतोले २६ हजार र रास्वपाका लालविक्रम थापाले करिब १९ हजार चार सय मत ल्याएको क्षेत्र हो ।

एमालेले यसपटक सुजन लामालाई अघि सारेको छ भने काँग्रेसले राजिव कोइरालालाई उम्मेदवार बनाएको छ भने रास्वपाले थापालाई दोहो¥याएको छ । २०७४ मा भने उक्त क्षेत्रमा माओवादीका हिमाल सुवेदीले ३५ हजार तीन सय मत ल्याएका थिए । त्यसबेला काँग्रेसका मेहता विजयी भएका थिए । रुवीकुमारी कर्णलाई उम्मेदवार बनाइएको सप्तरी ४ मा यसअघिका दुवै निर्वाचन काँग्रेसका तेजुलाल चौधरीले जितेका छन् । चौधरी यसपटक पुनः उम्मेदवार बनेका छन् ।

उक्त क्षेत्रमा यसअघि नेकपामा समाहित दलहरूको पकड राम्रो छैन । २०७९ मा चौधरीले करिब साढे २३ हजार मत ल्याएर जित्दा जसपाका बालकिशोर यादवले करिब १८ हजार र जनमतका सुकदेवप्रसाद साहले १२ हजार नौ सय मत ल्याएका थिए । २०७४ मा पनि काँग्रेसका चौधरीले २४ हजार एकसय मत ल्याउँदा राजपाका मृगेन्द्र यादवले करिब १४ हजार नौ सय मत ल्याएका थिए । २०७९ को प्रदेशसभा निर्वाचनमा भने एकीकृत समाजवादीका गोविन्द न्यौपाने ११ हजार चार सय मत ल्याएर सुनसरी ४ (क)बाट प्रदेशसभा सदस्य चुनिएका थिए ।

उक्त क्षेत्रबाट यसपटक अघिल्लोपटक दोस्रो भएको जसपा नेपालले पनि महिला उम्मेदवार वाँवी सिंहलाई उम्मेदवार बनाएको छ । एमालेबाट गंगाप्रसाद चौधरी र जनमतबाट जिदेन्द्रकुमार साह उमेदवार छन् । काठमाडौँ १ बाट नेकपाले उम्मेदवार बनाएकी मेनुका भण्डारीका लागि उक्त क्षेत्र झनै कठिन क्षेत्र हो । उक्त क्षेत्रमा यसअघि काँग्रेसका प्रकाशमानसिंहले जितेका थिए भने राप्रपाका रविन्द्र मिश्र दोस्रो भएका थिए ।

यसपटक काँग्रेसले प्रवल थापालाई उम्मेदवार बनाएको छ भने राप्रपाका मिश्र पुनः उम्मेदवार छन् । यसैगरी अघिल्लोपटक तेस्रो स्थानमा रहेको रास्वपाले पनि यसपटक महिला उम्मेदवारको रूपमा रन्जु दर्शनालाई उम्मेदवार बनाएको छ । काठमाडौँ ५ मा काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री प्रदीप पौडेल र एमालेका नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धाका लागि नेकपाले नेतृ कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । जहाँ रास्वपाको प्रभाव पनि छ ।

२०७९ को निर्वाचनमा काँग्रेसका उम्मेदवारले जितेको, एमाले दोस्रो र रास्वपा तेस्रो रहेको काठमाडांँ १० मा नेकपाले रुपा महर्जन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा २०७४ मा काँग्रेसका राजन केसी २४ हजार बढी मत ल्याएर जित्दा वाम गठबन्धनबाट माओवादीका हितमान शाक्यले २१ हजार नौ सय मत ल्याएका थिए । रौतहट ३ मा नेकपाले अघिल्लोपटक स्वतन्त्रबाटै चुनाव लडेर जितेका र अहिले आम जनता पार्टीका अध्यक्ष रहेका प्रभु शाहसँग लड्न पुनम देवीलाई उम्मेदवार बनाएको छ ।

२०७४ मा माओवादीबाटै चुनाव जितेका शाह अहिले आफ्नै पार्टी बनाएर चुनावमा रहेकोले उक्त क्षेत्र पनि माओवादीका लागि असहज क्षेत्र हो । उक्त क्षेत्रमा सबै गरेर ४० जना उम्मेदवार छन् । २०७४ मा तत्कालीन माओवादी केन्द्र हाल नेकपामा संयोजक प्रचण्डले जितेको चुनाव क्षेत्र चितवन ३ बाट यसपटक प्रचण्डपुत्री तथा भरतपुर महानगरकी निवर्तमान मेयर रेणु दाहाल उम्मेदवार छिन् ।

उक्त क्षेत्र भने नेकपाको मताधारका हिसाबमा सहज क्षेत्र हो । २०७९ मा राप्रपाका विक्रम पाण्डेले ३५ हजार मत ल्याएर जित्दा माओवादीका भोजप्रसाद श्रेष्ठले २५ हजार ८ सय मत ल्याएका थिए । उक्त क्षेत्रमा रास्वपाका जिता बरालले १४ हजार ८ सय ४२ मत ल्याएकी थिइन् ।यसपटक रास्वपाले नेतृ सोविता गौतमलाई उक्त क्षेत्रमा उठाएको छ । राप्रपाबाट यसपटक दिपक थापामागर उम्मेदवार छन् ।

२०७९ मा काँग्रेस र २०७४ मा एमालेका उम्मेदवारले जितेको मनाङ जिल्लामा नेकपाले संविधानसभा सदस्य तथा २०७४ मा समानुपातिक प्रतिनिधिसभा सदस्य चुनिएकी यशोदा गुरुङ सुवेदीलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा यसपटक पनि काँग्रेसले यसअघि चुनाव जितेका टेकबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ भने एमालेले उम्मेदवार उठाएको छैन ।

यस हिसाबले यशोदाका लागि उक्त क्षेत्र तुलनात्मक रूपमा सहज हुन सक्छ । प्रचण्डपुत्री रेणुका लागि सहज क्षेत्र खोजेको नेकपाले प्रचण्डकी बुहारी बिना मगरका लागि पनि सहज क्षेत्र नै खोजेको छ । कञ्चनपुर १ मा बिनाले २०७४ मा जितेकी थिइन् भने २०७९ मा एमालेका तारा लामा तामाङसँग साढे पाँच हजार मतले हारेकी थिइन् । यसपटक पनि उक्त क्षेत्रमा तामाङ उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा मत नागरिक उन्मुक्ति, राप्रपा र रास्वपाका उम्मेदवारमा पनि बाँडिएको थियो ।

नेकपाले यसअघिका निर्वाचन जितेका हेभिवेट नेताहरू काँग्रेसका विनोद चौधरी र जसपाका हृदयश त्रिपाठीसँग चुनाव लड्न महिला उम्मेदवार सिन्धु जलेसा बुढाथोकीलाई अघि सारेको छ । उक्त निर्वाचन क्षेत्रमा २०७९ मा चौधरीले जितेका थिए भने २०७४ मा त्रिपाठीले जितेका थिए । २०७९ मा त तेस्रो भएको रास्वपाले पनि साढे १२ हजार मत ल्याएको थियो । यस हिसाबले उक्त क्षेत्रमा पनि नेकपाले जित्न कठिन हुने परिस्थिति हुँदाहुँदै महिला उम्मेदवार उठाएको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीः एकजनाबाहेक सबैलाई असहज निर्वाचन क्षेत्र 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएका एक सय ६४ जनामध्ये १६ जना महिला उम्मेदवार अघि सारेको छ । ती १६ जनामध्ये एकजना उम्मेदवारलाई मात्रै तुलनात्मक रूपमा सहज र अघिल्लो निर्वाचन जितेकै क्षेत्रमा उम्मेदवार बनाएको छ रास्वपाले । अघिल्लोपटक चुनाव जितेकी सोबिता गौतमलाई उनले चुनाव जितेकै क्षेत्रमा नभई अर्काे निर्वाचन क्षेत्रमा पठाएको छ ।

रास्वपाले यसअघि काँग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६ सय २४ मत ल्याएर जितेको झापा १ मा अघिल्लो संसद्की समानुपातिकतर्फकी सबैभन्दा कान्छी सदस्य २९ वर्षीया निशा डांगीलाई उम्मेदवार बनाएको छ । यसपटक काँग्रेसले उक्त क्षेत्रमा केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ भने अघिल्लोपटक २५ हजार तीन सय बढी मत ल्याएका अग्नी खरेलको पार्टी एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ ।

२०७९ को निर्वाचनमा रास्वपाका ओमनाथ भण्डारीले ८ हजार पाँच सय ६४ मत पाएका थिए । काँग्रेस नेता शर्माले उम्मेदवारी नदिँदा डांगीलाई केही सहज हुने बताइए पनि उक्त क्षेत्रमा काँग्रेसको पकड तोड्न कठिन हुने देखिन्छ । नेपाली काँग्रेसले झापा २ मन काँग्रेसकी नेतृ सरिता प्रसार्इं र नेकपाले धर्मशिला चापार्गांलाई उम्मेदवारका रूपमा अघि सारेको छ । २०७९ मा एमालेका नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २८ हजार एक सय १६ मतसहित विजयी भएकोमा रास्वपाका रुद्रप्रसाद गिरीले पाँच हजार सात सय मात्रै मत पाएका थिए । यसपटक पनि एमालेबाट घिमिरे नै उम्मेदवार छन् ।

२०७४ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले २२ हजार नौ सय र काँग्रेसका अमृतकुमार अर्यालले १९ हजार मत ल्याएको मोरङ ५ मा रास्वपाले आशा झालाई उम्मेदवार बनाएको छ । मण्डल यसपटक नेकपाबाट उम्मेदवार छन् । २०७९ मा स्वतन्त्र उम्मेदवार रहेर पनि २१ हजार ८ सय मतसहित जितेका योगेन्द्र मण्डल यसपटक राष्ट्रिय उर्जाशील पार्टीबाट उम्मेदवार छन् ।

२०७९ मा माओवादीका विशकुमार मण्डलले १७ हजार चार सय ८६ मत ल्याउँदा रास्वपाका प्रमोदकुमार मण्डल दुई हजार दुई सय ८२ मत मात्रै ल्याएर छैटौँ नम्बरमा रहेका थिए । यसपटक झालाई जित्नका लागि ठूलो मत परिवर्तन गर्नुपर्ने चुनौती छ । यस्तै मोरङ ६ मा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धाका लागि रास्वपाले रुबिना आचार्यलाई उम्मेदवार बनाएको छ ।

२०७९ मा कोइरालाले ३५ हजार दुई सय, एमालेका लालबाबु पण्डितले २२ हजार नौ सय मत ल्याउँदा रास्वपाका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मतमात्रै पाएका थिए । कोइरालाको पकड भएको उक्त क्षेत्रमा पनि जित निकाल्न आचार्यलाई कठिन हुने देखिन्छ । सुनसरी १ भने रास्वपाकी गोमा तामाङका लागि सहज चुनाव क्षेत्र हो । उक्त क्षेत्रमा २०७९ मा जसपा नेपालका अशोककुमार राईले १७ हजार मत ल्याएर जित्दा तामाङले १६ हजार ६ सय मत ल्याएर दोस्रो भएकी थिइन् । यसपटक राई चुनावी मैदानमा नहुँदा तामाङलाई थप सहज छ ।

सप्तरी १ भने रास्वपाकी पुष्पाकुमारी चौधरीका लागि सहज देखिन्न । उक्त क्षेत्रमा २०७९ मा जसपा नेपालका नवकिशोर साह सुडी २३ हजार ६ सय मत ल्याएर जित्दा रास्वपाका उम्मेदवारले एक सय ९२ मतमात्रै पाएका थिए । उक्त क्षेत्रमा सुडी यसपटक उम्मेदवार नरहे पनि अघिल्लोपटक दोस्रो भएका जनमतका जयकान्त राउत उम्मेदवार छन् भने तेस्रो रहेका काँग्रेसका रामदेव साह तेली पनि उम्मेदवार छन् ।

२०७९ मा काँग्रेसका महेन्द्रकुमार रायले २५ हजार चार सय ८८ मत ल्याएर जित्दा रास्वपाका उम्मेदवार नै नरहको महोत्तरी– ४ मा यसपटक रास्वपाले गौरी कुमारीलाई उम्मेदवार बनाएको छ । यसपटक पनि राय पुनः उम्मेदवार छन् । २०७९ मा लोसपाका रामप्रकाश चौधरीले २४ हजार ८ सय मत ल्याएर जित्दा रास्वपाका रामदुलार महतो मात्र १ हजार एक सय मत ल्याएको सर्लाही १ मा पनि रास्वपाले महिला उम्मेदवार नितिमा भण्डारी (कार्की)लाई उम्मेदवार बनाएको छ । महतो यसपटक जसपा नेपालबाट उम्मेदवार छन् ।

२०७९ मा एकीकृत समाजवादी हाल नेकपाका राजेन्द्रप्रसाद पाण्डेले ३५ हजार नौ सय ३४ मत ल्याएर जित्दा रास्वपाका उम्मेदवार हिमेश पन्त तेस्रो स्थानमा रहँदै १२ हजार मत ल्याएको धादिङ १ मा यसपटक आशिका तामाङ उम्मेदवार छिन् । सामाजिक सञ्जालमा चर्चामा रहेकी तामाङले यसपटक पुनः पाण्डेका साथै अघिल्लोपटक दोस्रो भएका भूमिप्रसाद त्रिपाठीलाई हराउनुपर्ने चुनौती छ ।

विवेकशील दलबाट चर्चामा आएकी रन्जु न्यौपाने दर्शना काठमाडौँ १ बाट उम्मेदवार छिन् । जहाँ २०७९ को निर्वाचनमा काँग्रेसका प्रकाशमान सिंहले ७ हजार एक सय ४६ मत ल्याएर जित्दा राप्रपाका रविन्द्र मिश्र १२८ मतले पछि परेका थिए । अहिले सिंह उम्मेदवार नभए पनि मिश्र भने पुनः उम्मेदवार बनेका छन् । उक्त निर्वाचनमा रास्वपाका पुकार बमले चार हजार एक सय १५ मत ल्याएका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा लोकप्रिय मत पाए पनि २०७९ मा काठमाडौँ– ५ मा उम्मेदवार रहेकी उनले जम्मा ६ सय मतमात्रै पाएकी थिइन् । रास्वपाबाट तोसिमा कार्कीमात्रै यस्ती महिला उम्मेदवार हुन् जसले अघिल्लोपटक चुनाव जितेकै निर्वाचन क्षेत्रमा यसपटक पनि उम्मेदवार हुन पाइन् । उनले २०७९ मा झण्डै अढाई गुणाबढी मतान्तरसहित ३१ हजार एक सय बढी मत ल्याएर एमालेका उम्मेदवारलाई पराजित गरेको ललितपुर ३ मै यसपटक पनि उम्मेदवार छिन् ।

यसपटक उनलाई चुनौती दिन एमालेले सन्दन थापामगर, काँग्रेसले जितेन्द्रकुमार श्रेष्ठ र नेकपाले संविधानसभा सदस्य राजकाज महर्जनलाई उम्मेदवार बनाएका छन् । २०७९ मा काठमाडौँ २ मा १५ हजार २ सय मत ल्याएर जितेकी सोबिता गौतमलाई रास्वपाले यसपटक चितवन ३ मा पठाएको छ । जहाँ प्रचण्डपुत्री रेणु दाहाल उम्मेदवार छन् भने २०७९ मा राप्रपाका विक्रम पाण्डेले ३५ हजार मत ल्याएर जित्दा रास्वपाका जिता बरालले १४ हजार ८ सय ४२ मतमात्रै ल्याएकी थिइन् ।

सोबिताले चुनाव जितेको क्षेत्र काठमाडौँ २ मा रास्वपाले यसपटक सुनिल केसीलाई उम्मेदवार बनाएको छ । रास्वपाले बिना गुरुङलाई उम्मेदवार बनाएको कास्की ३ पनि रास्वपाका लागि सहज क्षेत्र होइन । २०७९ मा उक्त क्षेत्रमा एमालेका उम्मेदवार दामोदर पौडेलले २२ हजा नौ सय ८० मत ल्याएर जित्दा माओवादीका रामजीप्रसाद दाहालले १७ हजार पाँच सय र रास्वपाका योगराज पौडेलले १२ हजार एक सय ८० मत ल्याएका थिए ।

यसपटक एमालेले पौडेललाई नै दोहो¥याएको छ भने नेकपाले गोपाल गिरी र काँग्रेसले मनोज गुरुङलाई उम्मेदवार बनाएको छ ।अघिल्लोपटक राप्रपाका ज्ञानबहादुर शाहीले २२ हजार ८ सय बढी मत ल्याएर जितेको र माओवादीका गोमा गौतमले ११ हजार नौ सय बढी मत ल्याएको जुम्लामा रास्वपाले बिनिता कठायतलाई उम्मेदवार बनाएको छ । यसपटक पनि शाही राप्रपाबाटै उम्मेदवार छन् भने नेकपाबाट नेता नरेश भण्डारी उम्मेदवार छन् ।

यसैगरी माओवादीले १४ हजार तीन सय मत ल्याएर जितेको र एमालेले साढे नौ हजार मत ल्याएको हुम्लामा रास्वपाले टासी ल्हाजोमलाई उम्मेदवार बनाएको छ । एमालेबाट यसपटक दल फडेरा उम्मेदवार छन् भने नेकपाले दीपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । उता टीकापुरमा नगरप्रमुखबाट राजीनामा दिएर नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका रामलाल डगौरा थारू र संविधानसभा सदस्य काँग्रेसका जनकराज चौधरीसँग चुनाव लड्न रास्वपाले कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ ।

उक्त क्षेत्रमा २०७९ मा नागरिक उन्मुक्ति हाल नेकपामा समाहित भएकी रन्जिता श्रेष्ठले ३० हजार चार सय बढी मत ल्याएर जितेकी थिइन् भने काँग्रेसका रामजनम चौधरीले १८ हजार मत ल्याएका थिए । त्यतिबेला रास्वपाका टैकप्रसाद जैसी ढुंगानाले एक हजार ८ सय ६९ मत मात्रै पाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार