‘प्रेस काउन्सिलमा सुधारका काम गर्छु’



प्रेस काउन्सिल नेपालमा डा. कुमार शर्मा आचार्यको अध्यक्षमा नयाँ बोर्ड गठन भएको करिब दुई महिना मात्र भएको छ । यसैबीचमा निर्वाचन पनि रहेकोले पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थालाई अझ बढी निगरानी गर्नुपर्ने जिम्मेवारी प्रेस काउन्सिलमाथि छ । स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्न संगठित नियामक संस्थाको रूपमा रहेको प्रेस काउन्सिलले सञ्चारमाध्यमको अनुगमन, मूल्यांकन गरी मर्यादित तथा जिम्मेवार बनाउनुपर्ने जिम्मेवारी छ । यसका साथै प्रेस स्वतन्त्रताको संरक्षण सम्वद्र्धन गर्दै नेपाल सरकार र सञ्चारमाध्यमका बीच पुलको रूपमा कार्य गर्ने जिम्मेवारी पनि काउन्सिलमाथि छ । यसै सन्दर्भमा प्रेस काउन्सिलको समानुकूल भूमिका र त्यसको प्रभावकारिताका विषयमा केन्द्रित रहेर काउन्सिलका अध्यक्ष आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश ः

अध्यक्ष आचार्य अध्यक्ष, प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपालमा सरकारको छायाँ छ, यो सरकारकै एक अंगका रूपमा काम गरिरहेको र कतिपय अवस्थामा राजनीतिक दलको छायाँ परेको भनेर पनि आरोप लाग्छ । तपाईँको पालामा यसको काम गर्ने तौरतरिकाको निरन्तरता हुन्छ कि बदलिन्छ ?

पहिलो कुरा त यो सरकारको निकायभन्दा पनि राज्यको निकाय हो । यो सबै कुराबाट स्वतन्त्र राज्यको निकाय हो । यसले स्वभाविक रूपमा पत्रकारितालाई स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिताको उन्नयन र विकास गर्ने काम गर्छ । अब जहाँसम्म काम गर्ने तौरतरिकाको कुरा छ । मभन्दा अग्रजहरूले धेरै राम्रा कामहरू गर्नुभएको छ । म के चाहिरहेको छु भने जे अग्रजहरूले राम्रा कामहरू गर्नुभएको त्यसले निरन्तरता पाओस् र केही थप नयाँ कामहरू पनि हुन सकुन् । केही विवादास्पद कामहरू जो जानेर वा नजानेर भए त्यो कामहरू फेरि नहोस् ।राजनीतिक आधारबाट भागबण्डा गर्ने थलो यो नबनोस् । कुनैलाई बोक्ने र कुनैलाई ठोक्ने भनेर जुन कुराहरू आउँछन् त्यो पनि नहोस् । यसले स्वतन्त्र रूपमा न्यायपूर्ण रूपमा काम गर्नेगरी यो संस्था अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ र त्यहीअनुसार अघि बढ्ने कोसिस गरिरहेका छौँ।
अहिलेको टिम प्राध्यापन पृष्ठभूमिका, पत्रकारितामा राम्रो छवी बनाउनुभएकाहरू, पत्रकार महासंघलाई नेतृत्व गर्नुभएका मित्रहरू हुनुहुन्छ । उहाँहरूले मलाई मार्गदर्शन गर्नुभएको छ । मलाई के विश्वास छ भने हामीले पत्रकारको मर्यादा माथि उठाउनका लागि, विश्वस्तरीयता घटिरहेको भनिरहेका बेला त्यसलाई उठाउनका लागि हाम्रो टिमले राम्रोसँग काम गर्न सक्छ भन्ने मलाई विश्वास छ ।

नेतृत्वको कार्यशैली सुधारले मात्रै तपाईँले भनेको सुधार आउनसक्ने देख्नुहुन्छ कि केही संरचनागत सुधार नै गर्नुपर्ने देख्नुहुन्छ ?

धेरै संरचनात्मक सुधारमा कानुनका कुराहरू हुँदा रहेछन् । तर कानुन बनाउने अधिकार हामीलाई छैन । जे कानुन बनेका छन् त्यसभित्र बसेर हामीले काम गर्नुपर्छ । सरकारले यदि प्रेसलाई राम्रो बनाउनुपर्छ, प्रेसलाई स्वच्छन्द होइन कि स्वतन्त्र हुन केही सुधार गर्नुुपर्छ भन्ने चाहन्छ भने सरकारले ध्यान देला । तर केही आन्तरिक संरचनाहरू हामीले बनाउन सक्छौँ । जस्तो कि पुरस्कारको लागि कस्तो कार्यविधि बनाउने भन्ने विषयमा छलफल गर्न सक्छौँ । आचारसंहिता अनुगमनका लागि केही संरचनाहरू थप्ने कुरामा होला । पत्रकारलाई प्रोत्साहन गर्नका लागि कस्तो खालको आन्तरिक संरचना बनाउन सकिन्छ भन्ने विषयमा होला । यस्ता कुराहरूमा हामी काम गरिरहेका छौँ । अर्काे हामीले धेरै कुराको समीक्षा गर्न खोजिरहेका छौँ । विगतमा भएका जे कुराहरू छन् त्यसम हामीले थप के राम्रो बनाउन सक्छौँ भन्ने आधारबाट कार्यविधिको समीक्षा गर्ने, जहाँ विकृति फस्टाउन सक्थ्यो कार्यविधिका कारणले नै, नियमावलीको कारणले गर्दा नै त्यस्ता कुराहरूलाई हटाउन खोजिरहेका छौँ ।

प्रेस काउन्सिलले पत्रकारिताको मर्यादालाई प्रवद्र्धन गर्न नीति निर्माणका लागि सुझाव दिने कामको अगुवाइ गर्न सकेन भन्ने पनि आरोप लाग्छ । यहाँले त्यस्तो उद्देश्यका लागि छलफल सुरु गर्न लागेको बताउँदै आउनुभएको छ । त्यो कस्तो छलफल हो र उपलब्धि के हुनेछ ?

छलफल किन गर्न खोजेको हो भने केही नयाँ गर्नुपर्छ भन्ने थाहा छ तर सैद्धान्तिकरूपमा हामीले गर्न खोजेका कुरामा विभिन्न क्षेत्रको धारणामा एकरुपता ल्याउन खोजिएको हो । हामीले अहिले पत्रकारहरूसँग अन्तक्र्रिया गरिरहेका छौँ, उहाँहरूले पनि सुझावहरू दिइराख्नुभएको छ ।मैले विशेषगरी कहाँ ध्यान दिइरहेको छु भने पत्रकारिताका प्राध्यापकहरूसँग पत्रकारितालाई कसरी राम्रो बनाउन सकिन्छ ? पत्रपत्रिका वर्गीकरणको कुरालाई कसरी राम्रो बनाउन सकिन्छ ? पत्रकारहरूको परीक्षा प्रणाली लागू गर्ने नगर्ने ? योग्यता निर्धारण गर्ने कि नगर्ने ? तहहरू स्थापित गर्ने कि नगर्ने ? यस्ता कुराहरूमा हामी उहाँहरूसँग परामर्श गर्न खोजिरहेका छौँ । अब हामी उहाँहरूसँग परामर्श गर्छाैँ । त्यसले पक्कै पनि हामीलाई मार्गदर्शन गर्छ भन्ने लाग्छ ।

देश अहिले निर्वाचनको मुखमा छ । यतिखेर पत्रकार आचारसंहिता उल्लंघनले निर्वाचनको वातावरणलाई धमिलो बनाउन सक्ने जोखिम कत्तिको देख्नुभएको छ?

आचारसंहिताको उल्लंघनले निर्वाचनलाई प्रभावित गर्छ, यो जगजाहेर छ । विश्वभरी नै निर्वाचनको बेला यो संवेदनशीलता हुन्छ । एउटा कार्यक्रममा पत्रकारले भन्दै हुनुहुन्थ्यो पत्रकारहरू ‘कि ठोक्ने कि बोक्ने’ काममा लागे । अझ जसले पैसा दिन्छ, वा पद प्रतिष्ठा लगायतका कुराको आश्वासन दिन्छ उसलाई बोक्ने जसले कुनै पनि समर्थन र सपोर्ट गर्दैन उसलाई ठोक्ने खालको प्रवृत्ति छ भनेर उहाँले भन्नुभयो । किन त्यस्तो भएको छ भन्दा समाजका मानिसका मूल्य मान्यता र संस्कारहरू आ–आफ्नै छन् । बाध्यता र आवश्यकताहरू असीमित छन् । ती आवश्यकताहरू पूरा गर्न वैधअवैध बाटाहरू छन् । त्यसमा पत्रकारहरूले पनि अवैध बाटाहरू प्रयोग गर्न सक्ने जोखिम अवश्य नै रहन्छ । त्यही भएर नै आचारसंहिता जारी गरिएको हो । यसलाई रोक्ने उपाय भनेको कडाइपूर्वक पत्रकार आचारसंहिताको कार्यान्वयन गर्न प्रेस काउन्सिल कटिबद्ध भएर लागेको छ । प्रेस काउन्सिलले सबै संयन्त्रहरू प्रयोग गरिरहेको छ । निर्वाचन आयोगले पनि आचारसंहिता बनाएर जारी गरेको छ । आयोगले हामीलाई पनि अनुरोध गरिरहेको छ । आयोगलाई हामीले के भनिरहेका छौँ भने पत्रकारितासम्बन्धीको कारबाही हुनुभन्दा अघि हामीलाई जानकारी दिनुहोला, सबैलाई आचारसंहिताबारे सचेतनाका कामहरू गरौँ, सचेत गराएर पनि गल्ती गरे भने कारबाहीको प्रक्रियामा जाऔँ भनेर हामीले भनेका छौँ । यसमा आयोग पनि सकारात्मक छ । हामीले मिलेर काम गर्दैछौँ ।

कतिपय आचारसंहिता उल्लंघनले तत्काल नकारात्मक प्रभाव पार्नसक्छ । जस्तो कि साम्प्रदायिक र धार्मिक भावना भड्काउने विषयवस्तुहरू । यस्ता विषयमा त तत्काल कारबाहीमा जानुपर्ने होला । त्यस्तो संयन्त्र परिचालित छ कि छैन ?

यो निरन्तर भइरहेको छ । हाम्रा अग्रजहरूले स्वअनुगमन भन्ने एउटा पद्धति बसाल्नुभएको छ । हामीसँग यसको लागि संयन्त्र छ । त्यस्तो संयन्त्रमा बस्ने साथीहरूले असाध्यै प्रभावकारीरूपमा काम गरिरहनुभएको छ । यसमा हामीलाई गर्व लाग्छ । धेरैलाई कारबाही नै नभएको होला, जानकारीमा लिने, सचेत गराउने काम निरन्तररूपमा भइरहेको छ । हामीले अहिले सिधै कारबाहीमा जानुपर्ने स्थितिमा जानुभन्दा पनि सुध्रिने मौका दिनुपर्छ भनेर काम गरिरहेका छौँ । तर तपाईँले भन्नुभएको जस्तो अवस्थामा तुरुन्तै एक्सनमा जानुपर्ने हुनसक्छ । त्यसलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा हामीले छलफल गर्दै काम गरिरहेका छाँै । हामी आचारसंहिताको पूर्ण पालना हुनुपर्छ भन्ने कुरामा एकदमै गम्भीर भएर लागिरहेका छौँ ।

प्रेस काउन्सिल कडा भएन भने आचारसंहिता उल्लंघनको बाढीलाई रोक्न सकिँदैन भन्ने पनि बताइन थालेको छ । यसलाई कसरी लिनुभएको छ ?

हो । धेरैले हामीलाई कठोर हुनुहोस् भन्नुभएको छ । तर कठोरताको पनि लक्षण हुन्छ । तपाईँले गाली गरेर मात्रै सुधार गर्छु भन्ने हुँदैन । तपाईँले माया गरेर पनि सुधार गर्न सक्नुहुन्छ । मैले कठोर एक्सन लिएँ भने के सुध्रिन्छ त ? त्यो भएर सुधार भन्ने कुरा उसको भित्रबाट अनुभूत गराउनुपर्छ । आचारसंहिताले नै गल्ती सुधार गर्ने तत्परता देखाउनुपर्नेछ भनिएको छ । हामी त्यसैलाई ध्यानमा राखेर पत्रकारहरूलाई सम्झाइबुझाई गर्छौँ । सुधार गर्न लगाउँछौँ । हामी नरम भएरै जान चाहन्छौँ । तर अवस्थाअनुसार स्टेपहरू कडा हुँदै जान्छन् । हामीले कडा कारबाही पनि गरेका छौँ । प्रेस पास निलम्बनदेखि ब्ल्याकलिस्टमा राख्ने काम हामीले गरेका छौँ । त्यहाँसम्म हामी जानुपरे जान्छौँ । तर त्यो हाम्रो पहिला स्टेप भने होइन । प्रेस काउन्सिल नियामक निकाय हो त्यही भएर डण्डा लगाउँछौ भन्ने एप्रोचबाट हामी काम गर्दैनौँ ।

यसो हुँदा प्रेस काउन्सिललाई पत्रकारहरूले टेरिरहेका छैनन् कि भन्ने प्रश्न उठ्दैन ?

प्रेस काउन्सिललाई नटेरेको भन्न मिल्दैन । जसले उल्लंघन गरिरहेका छन् उनीहरूले आचारसंहिता थाहा पाएर हामी त्यसबाट उम्किन सक्छौँ भन्ने लागेको हुन सक्छ । तर एउटा कुरा के भन्न चाहन्छु भने अब ठूलो सानो वा अरु बाहनामा कसैलाई ढाकछोप गर्ने कसैलाई संरक्षण गर्ने काम प्रेस काउन्सिल गर्दैन । त्यो जो सुकै होस् त्यसलाई एउटै मापदण्डबाट हेर्छाैँ ।

प्रेस काउन्सिल अनुगमनको काममा प्रविधिका हिसाबले कत्तिको सक्षम छ ?

यो महत्वपूर्ण सवाल छ । अहिले हामीसँग फ्याक्ट चेक गर्ने प्रविधि रहेनछ । हामीले त्यसका लागि पत्रकारहरू, फ्याक्ट चेकमा काम गरिरहेका संस्थाहरूसँग पनि छलफल गरेका छौँ । त्यो भएर सबै काम हामीले नै गर्ने भन्ने कुरा सम्भव पनि हुँदैन । हामीसँग साधनस्रोतको अभाव पनि छ।
प्रविधिको पनि हामीलाई समस्या छ । नेपाल सरकारलाई पनि युएनडिपीले प्रविधि दिएपछि निर्वाचन आयोगले त्यसको प्रयोग गर्न खोजिरहेको छ । हाम्रो पहुँचमा त्यो प्रविधि छैन । हामीसँग जे छ, सकेसम्म अप्टिमम प्रविधि प्रयोग गर्न कोसिस गर्छौँ । हामीले कर्मचारीहरूलाई तालिम पनि दिन सकेका छैनौँ । साधनहरू थप्ने जस्ता कामका लागि बजेटको सीमितता छ । तर हामीसँग जे छ त्यसैबाट उत्तम गर्न खोजिरहेका छौँ ।

पत्रकार आचारसंहिताको पालनाका सन्दर्भमा नागरिक र पत्रकारहरूबाट कस्तो अपेक्षा गर्नुहुन्छ ?

पत्रकार आचारसंहिताका उल्लंघन भएको थाहा भएमा नागरिकले पनि काउन्सिलमा उजुरी गर्न पाउनुहुन्छ । तर नागरिकले नै उजुरी गरुन् भनेर बस्न सकिँदैन । पत्रकारहरूलाई पनि आचारसंहिता पालना गर्न अनुरोध गर्दछौँ । प्रेस स्वतन्त्रताका लागि जागरुक भएजत्तिकै आचारसंहिता पालनाका लागि पनि जागरुक हुन आग्रह गर्दछु । अर्काेतिर पत्रकारलाई मात्रै दोष दिएर हुँदैन । हामीले पनि धेरै कुराहरू गर्न बाँकी छ । आचारसंहिताबाट अभिमुखीकरण गर्ने, तालिम दिने कुराहरूमा हामी स्रोत साधन खोजेर भए पनि काम गर्ने योजनामा छौँ । पत्रकारहरू देशको जिम्मेवार नागरिक भएकोले उहाँहरूले पनि आफ्नो भूमिकालाई मर्यादित बनाउन सहकार्य गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार