रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ ।
सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष सन्धि सीमामा एक वर्षका लागि अडिग रहन प्रस्ताव गरेका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिवद्धता जनाएनन् । ट्रम्पले सम्भावित नयाँ सम्झौतामा चीनलाई समावेश गर्नुपर्ने सङ्केत दिएको छ । तर बेइजिङले यसलाई अस्वीकार गरेको छ ।

पुटिनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सन्धि म्याद समाप्त भएको विषयमा छलफल गर्नुभएको छ, तर क्रेमलिनका सल्लाहकार युरी उसाकोभका अनुसार वासिङ्टनले प्रस्तावमा प्रतिक्रिया दिएको छैन । रुसले सुरक्षा अवस्थाको गहन विश्लेषणपछि सन्तुलित र जिम्मेवार ढङ्गले कदम चाल्ने बताएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा सन्धिको म्याद सकिएपछि रुस अब मुख्य प्रावधान वा कुनै दायित्वबाट बाध्य छैन र आफ्नो अर्को कदम स्वतन्त्र रूपमा तय गर्न सक्नेछ भनिएको छ । न्यु स्टार्ट सन्धि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेवले हस्ताक्षर गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्