अमेरिकी टेकबाट टाढिँदै इयु



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली संघ (इयु) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको ध्यान अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको छ । व्यापारमा दबाब सिर्जना गर्नेदेखि ग्रिनल्यान्ड कब्जाको धम्कीसम्म ट्रम्पका अभिव्यक्तिहरू तीव्र बन्दै गएपछि, चाहेको खण्डमा उहाँले युरोपलाई डिजिटल रूपमा ठप्प पार्न सक्ने चिन्ता बढेको छ ।

ग्रिनल्यान्ड विषयमा ट्रम्प पछि हटेपछि इयुका उच्च अधिकारीहरूले भू–राजनीतिक झड्काप्रति सङ्घ अत्यन्तै असुरक्षित रहेको चेतावनी दिँदै रक्षा, ऊर्जा र प्रविधिमा रणनीतिक आत्मनिर्भरताको आवश्यकता औँल्याउन थालेका छन् ।

सन् २०२३ को इयु प्रतिवेदनअनुसार, २७ देशको यो सङ्घ डिजिटल उत्पादन, सेवा, पूर्वाधार र बौद्धिक सम्पत्तिको ८० प्रतिशतभन्दा बढीका लागि विदेशी देशहरूमा निर्भर छ । यही निर्भरता घटाउने प्रयासस्वरूप युरोपले अमेरिकी प्रविधिमाथिको निर्भरता क्रमशः कम गर्न थालेको देखिन्छ ।

यसको पछिल्लो उदाहरण गत साता देखियो । फ्रान्सले सरकारी कर्मचारीलाई चाँडै जुम वा माइक्रोसफ्ट टिम्सजस्ता उपकरणको सट्टा स्वदेशी विकल्प प्रयोग गर्न निर्देशन दिने तयारी गरेको बतायो । ब्रसेल्सका लागि वास्तविक चेतावनी भने गत वर्ष आएको थियो । वासिङ्टनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूमाथि प्रतिबन्ध लगायो । यसका कारण उनीहरू अमेजन र गुगलजस्ता अमेरिकी प्रविधिबाट वञ्चित भए ।

यस घटनाले युरोपेली जीवनशैलीलाई आधार दिने धेरै उपकरणमाथि अमेरिकाको कति बलियो नियन्त्रण छ भन्ने स्पष्ट पारेको छ । इयुकी प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले विगत एक वर्षमा अत्यन्त महत्त्वपूर्ण प्रविधिमा कुनै एक देश वा कम्पनीमाथि निर्भर नहुने आवश्यकता सबैले गम्भीर रूपमा महसुस गरेको बताउनुभयो । उहाँले यस्ता निर्भरताहरू हतियारका रूपमा प्रयोग हुन सक्ने चेतावनी पनि दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार