बाँकेमा माघ २५ देखि फागुन ४ गतेसम्म एचपीभी खोप लगाइँदै



नेपालगन्ज (बाँके) ।

बाँकेमा माघ महिनाको २५ गतेदेखि फागुन ४ गतेसम्म बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको भ्याक्सिन एचपीभी खोप लगाइने भएको छ । एचपीभी खोप सेवा सञ्चालनका लागि जिल्लामा पूर्वतयारी गरिएको छ । जिल्ला तहमा अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी, नगरपालिका÷गाउँपालिका तहमा अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी, वडास्तरीय शूक्ष्मयोजना, पालिकास्तरीय शूक्ष्मयोजना तथा जिल्लाको शूक्ष्मयोजना समायोजन, खोप समन्वय समतिको बैठक लगायतका पूर्वतयारीका कार्यहरू सम्पन्न गरिएको बताइएको छ ।

एचपीभी खोप सेवा अभियानलाई सफल बनाउनका लागि प्रदेश शिक्षा विकास निर्देशनालय, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय शिक्षा÷सामाजिक शाखा र खोप सेवा प्रदान गर्ने तहमा सम्बन्धित विद्यालयलगायतसँग समन्वय गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् । नेपालगन्जमा सम्पन्न जिल्ला खोप पूर्णखोप समन्वय समतिकिो बैठकमा उनले सम्पूर्ण पूर्वतयारी गरिएको र माघ २५ गतेदेखि फागुन ४ गतेसम्म यो अभियानलाई जिल्लाभर सञ्चालन गरिने जानकारी दिइन् ।

बाँकेका आठैवटा पालिकामा गरी ३९४ वटा खोप केन्द्रबाट खोप लगाइने छ । २९५ विद्यालय, ५० स्वास्थ्य संस्था र ४९ वाह्य स्थानमा खोप लगाइने छ । जिल्लाभरमा ६५३१ ज्ना विद्यालयका छात्रा र २०५३ जना विद्यालय नजाने किशोरी गरी जम्मा ८५८४ जना बालिकालाई यो खोप लगाइने कार्यालय प्रमुख पौडेलले जानकारी दिइन् । उनका अनुसार राप्ती सोनारी गाउँपालिकामा ५० वटा खोप केन्द्रबाट ७०० जना विद्यालयका छात्रा र २० जना विद्यालय नजाने किशोरी गरी ७२० जनालाई खोप लगाइने छ ।

कोहलपुर नगरपालिकामा ४६ वटा खोप केन्द्रबाट १४७८ जना छात्रा र २२८ विद्यालय नजाने किशोरी गरी १७०६ जना, बैजनाथ गाउँपालिकामा ३८ खोप केन्द्रबाट ८७० छात्रा र १० जना विद्यालय नजाने किशोरी गरी ८८० जना, खजुरा गाउँपालिकामा ६८ खोप केन्द्रबाट ८१० जना छात्रा र २०९ जना विद्यालय नजाने किशोरी गरी १०१९ जना बालिकालाई यो खोप लगाइने छ ।

त्यसैगरी जानकी गाउँपालिकामा २० खोप केन्द्रबाट २९२ जना छात्रा र ३८१ ज्ना विद्यालय नजाने किशोरी गरी ६७३, नेपालगन्ज उपमहानगरपालिकामा ११६ वटा खोप केन्द्रबाट १७६५ जना छात्रा र ६५९ जना विद्यालय नजाने किशोरी गरी २४२४ जना, डुडुवा गाउँपालिकामा २६ खोप केन्द्रबाट ३४४ जना छात्रा र ९७ जना विद्यालय नजाने किशोरी गरी ४४१ जना र नरैनापुर गाउँपालिकामा ३० वटा खोप केन्द्रबाट २७२ जना छात्रा र ४४९ जना विद्यालय नजाने किशोरी गरी ७२१ जनालाई खोप लगाइने उनले जानकारी दिइन् ।

गत वर्ष बाँकेमा लक्षित गरेकामध्ये ९० प्रतिशतभन्दा बढी खोप लगाइएको र यो खोप पूर्ण सुरक्षित रहेको र महिलाको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट बचाउन सफल रहेको उनले उल्लेख गरिन् । सरकारले किशोरीहरूलाई यो रोगको जोखिमबाट बचाउनका लागि निःशुल्क खोप प्रदान गरिरहेको भन्दै उनले यही खोपलाई बाहिर निजी अस्पताल तथा मेडिकलहरूमा सात हजारदेखि १० हजार रुपैयाँसम्म शुल्क लाग्ने बताइन् ।

उनले नेपालमा हरेक वर्ष २१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको, हरेक वर्ष १३१३ जना महिलाहरूको पाठेघरकै मुखको क्यान्सरबाट मत्यु हुने गरेको, औसतमा हरेक दिन ४ जना महिलाको यसै रोगका कारण मृत्यु हुने गरेको, महिलाहरूमा हुने क्यान्सहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने महिलो मुख्य कारण रहेको तथ्यांकले देखाएको बताइन् ।

उनले कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू तथा गत वर्ष सञ्चालित एचपीभी खोपको लागि निर्धारित लक्षित समूहका छात्रा÷किशोरीहरूमध्ये यो खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई यस वर्ष यो खोप लगाइने जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार