‘अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी’



कपिलवस्तु ।

नेपाली काँग्रेस महाराजगंज नगर कार्यसमितिको आयोजनामा नगर भेला तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगर सभापति रामअचल कुर्मीको अध्यक्षता तथा जिल्ला सहसचिव वजिह अर्शदको सञ्चालनमा भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले वर्तमान निर्वाचन देशको अस्तित्व, लोकतन्त्र र संविधानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निर्वाचन भएको बताए ।

उनले अधुरा विकास निर्माणका कार्य पूरा गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे । आचार्यले जनताबाट पाँच वर्षका लागि निर्वाचित भए पनि विशेष परिस्थितिका कारण तीन वर्षमै पुनः निर्वाचन हुन लागेको उल्लेख गर्दै विगत कार्यकालमा केही कमीकमजोरी हुन सक्ने स्वीकार गरे । मन्त्री रहँदा कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सिँचाइ क्षेत्रका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनको भनाइ थियो ।

उनका अनुसार सिँचाइ सुधारका लागि डिप पोरिङ तथा बाणगंगा सिँचाइ आयोजनाको मर्मतसम्भारका लागि १ अर्ब २५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो, जसअन्तर्गतका योजनाहरू हाल पनि निरन्तर रूपमा कार्यान्वयन भइरहेका छन् । कार्यक्रममा महाराजगंज नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरे । उनले कपिलवस्तुमा नेपाली काँग्रेसले समावेशी उम्मेदवारलाई अघि सारेको उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा पूर्वपार्टी सभापति एवम् नेपाली काँग्रेसका नेता सुधाकर पाण्डेले लोकतन्त्र र नागरिक अधिकार संरक्षणका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । पूर्वमन्त्री सहासराम यादवले निर्वाचन परिणाम काँग्रेसकै पक्षमा आउने दाबी गर्दै कार्यकर्तालाई ढुक्क भएर चुनावी तयारीमा जुट्न आग्रह गरे । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार