शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँकेका ३ निर्वाचन क्षेत्रमा बाँकेसहित कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्थायी ठेगाना भएका उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ ३ जनाको लागि हुन गइरहेको निर्वाचनका लागि कूल ५६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा १४ जना, २ नम्बरमा २० र सबैभन्दा धेरै क्षेत्र नम्बर ३ मा उम्मेदवारको सङ्ख्या २२ जना रहेको छ ।
तीमध्ये १ नम्बरमा चुनावी मैदानमा रहेका १४ मध्ये २ जना उम्मेदवार बाहिरी जिल्लामा स्थायी ठेगाना भएका छन् । १ नम्बरमा कोहलपुर, राप्ती सोनारी र नरैनापुरका उम्मेदवार रहेका छन् । बाहिरी जिल्लामा स्थायी ठेगाना भएर क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नेको सङ्ख्या २ जना रहेको छ। उनीहरू लुम्बिनी प्रदेशअन्तर्गत दाङ र कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्ला हुन् ।
यस्तै क्षेत्र नम्बर २ का २० जनामध्ये बाहिरी जिल्लामा स्थायी ठेगाना भएका २ जना उम्मेदवार छन् । तीमध्ये एकजना सल्यान र एकजना बर्दियाका हुन् । तीमध्ये १४ जना नेपालगन्ज उपमहानगर, २ जना राप्ती सोनारी र २ जना डुडुवा गाउँपालिकाका रहेका छन् । सोही क्षेत्रमा १÷१ जना सल्यान र बर्दियाका रहेको जनाइएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा खजुरा, बैजनाथ र जानकी गाउँपालिका पर्दछन् । यस क्षेत्रमा बाँकेसहित दैलेख, रोल्पा र बर्दिया जिल्लामा स्थायी ठेगाना भएका उम्मेदवार चुनावी मैदानमा छन् ।
जसमा सबैभन्दा धेरै बाँकेको बैजनाथ गाउँपालिकाका ८ जना, खजुरा गाउँपालिकाका ४ जना, नेपालगन्ज उपमहानगरपालिकाका २ जना, डुडुवा र जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिकाका १÷१ जना गरी तीनजना उम्मेदवार रहेका छन् । बर्दियाका तीन जना र रोल्पा र दैलेखका एक जना रहेका छन् ।
१ नम्बरमा कोहलपुरका उम्मेदवारको बाहुल्यता
बाँके निर्वाचन क्षेत्र नम्बर १ मा तीन पालिका पर्छन् । कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्ने पालिका हुन् । क्षेत्र नम्बर १ मा कूल मतदाताताको सङ्ख्या १ लाख २४ हजार ७२७ जना रहेको छ । यो क्षेत्रमा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
फागुन २१ गते हुन गइरहेको निर्वाचनमा १ सिटको लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो निर्वाचन क्षेत्रअन्तर्गतका पालिकाबाट १२ जना उम्मेदवार बन्दा बाहिरी जिल्लाबाट केवल दुई जना उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर १ मा कूल १४ उम्मेदवारमध्ये ९ जना त कोहलपुरका मात्रै उम्मेदवार छन् । राप्ती सोनारीका २ जना र नरैनापुर गाउँपालिकाका १ जनासहित दाङ र सल्यानका १÷१ जना रहेका छन् ।
बाँके १ मा २९ वर्षदेखि ६८ वर्षसम्मका उम्मेदवार रहेका छन् । यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सल्यानको कुमाख गाउँपालिकाका स्थायी ठेगाना भएका २९ वर्षीय दीपक बुढाथोकी र कोहलपुर स्थायी ठेगाना भएका राष्ट्रिय जनमोर्चाका ६८ वर्षीय तुलसीराम देवकोटा ज्येष्ठ उम्मेदवार हुन् ।
कोहलपुर नगरपालिकाबाट उम्मेदवार बनेका नेकपा एमालेका केन्द्रीय सदस्य ५३ वर्षीय सुर्यप्रसाद ढकाल (चप्परगौडी), नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका ६० वर्षीय नारायणप्रसाद गौडेल र नेपाली कम्युनिस्ट पार्टीका ४९ वर्षीय नरेन्द्रप्रसाद पाण्डे (मदनचोक), राष्ट्रिय स्वतन्त्र पार्टीका ५६ वर्षीय सुरेशकुमार चौधरी (आनन्द नगर), राष्ट्रिय प्रजातन्त्र पार्टीका ६३ वर्षीय प्रदीपकुमार शाह (किरणनाला), नेपाल मजदुर किसान पार्टीकी ४० वर्षीया सुर्जा थापा, राष्ट्रिय जनमोर्चाका ६८ वर्षीय तुलसीराम देवकोटा, श्रम संस्कृति पार्टीका ३४ वर्षीय भरतनीधि तिवारी र स्वतन्त्र उम्मेदवार ३९ वर्षीय दिवाकर शर्मा रहेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार ४९ वर्षीया कृष्णा केसी (नमुना), उज्यालो नेपाल पार्टीका ४३ वर्षीय धनबहादुर खड्का राप्ती सोनारी गाउँपालिकाका र जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका ४५ वर्षीय सन्तराम विश्वकर्मा नरैनापुर गाउँपालिकाका हुन् । बाँके १ मा मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार बनेका ४८ वर्षीय फेरुलाल चौधरी दाङ राप्ती गाउँपालिकाका र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका २९ वर्षीय दीपक बुढाथोकी सल्यानको कुमाख गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
२ नम्बरमा नेपालगन्जका उम्मेदवार बढी
बाँके–२ मा ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कूल एक लाख आठ हजार २९० मतदाता रहेका छन् । यस क्षेत्रमा ४३ वटा मतदानस्थलसहित १२४ वटा मतदान केन्द्र रहेका छन् । २ नम्बरमा कूल उम्मेदवारको सङ्ख्या २० जना रहेको छ । तीमध्ये १४ जना नेपालगन्ज उपमहानगर, २ जना राप्ती सोनारी र २ जना डुडुवा गाउँपालिकाका रहेका छन् ।
सोही क्षेत्रमा १÷१ जना सल्यान र बर्दियाका रहेको जनाइएको छ । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाबाट नेकपा एमालेका ४६ वर्षीय मोहम्मद इस्तियाक राई, नेपाली काँग्रेसका ५० वर्षीय सुधान्सु कोइराला, नेपाली कम्युनिस्ट पार्टीका ३७ वर्षीय दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका ४३ वर्षीय विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका ४८ वर्षीय कमरुद्दिन राई उम्मेदवार छन् ।
यस्तै जनमत पार्टीका ३४ वर्षीय मो. आजाद साई, नेपाल मजदुर किसान पार्टीका ४८ वर्षीय प्रकाश शाह, राष्ट्रिय जनमोर्चाका ५४ वर्षीय जगदीश ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका ५३ वर्षीय माजिद अलि शेष, राष्ट्रिय एकता दलका ४१ वर्षीय सिताराम यादव, जय मातृभूमि पार्टीका ५८ वर्षीय गोपालप्रसाद गिरी, उज्यालो नेपाल पार्टीका ५८ वर्षीय शैलेन्द्रकुमार कर्ण, स्वतन्त्र उम्मेदवार ३७ वर्षीय सौभाग्यजंग शाह, ३७ वर्षीय विपेन्द्र लामा तामाङ पनि नेपालगन्जका हुन् ।
यसैगरी, बाँके २ मा उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका ४२ वर्षीय रामचरण चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ४८ वर्षीय ऋषिराज देवकोटा राप्ती सोनारी गाउँपालिकाका हुन् भने राष्ट्रिय जनमत पार्टीबाट उम्मेदवार बनेका ४० वर्षीय इरफान अहमद शेख र स्वतन्त्र उम्मेदवार ५० वर्षीय मनोजकुमार चौधरी डुडुवा गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट उम्मेदवार बनेका ४५ वर्षीय महेन्द्रप्रकाश चन्द सल्यानको बागचौर नगरपालिका र आम जनता पार्टीबाट उम्मेदवार बनेका ४४ वर्षीय अब्दुल उमर साई बर्दियाको बाँसगढी नगरपालिकाका स्थायी नागरिक रहेको निर्वाचन आयोगद्वारा जारी उम्मेदवारहरूको वैयक्तिक वितरणमा उल्लेख छ ।
३ नम्बरमा पाँच ‘टुरिस्ट उम्मेदवार’
बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा कूल एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् । तीमध्ये ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् । ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका २४ वटा वडा समेटिएका छन् । ३ नम्बरमा बाँकेसहित दैलेख, रोल्पा र बर्दिया जिल्लामा स्थायी ठेगाना भएका उम्मेदवार चुनावी मैदानमा छन् । जसमा सबैभन्दा धेरै बाँकेको बैजनाथ गाउँपालिकाका ८ जना, खजुरा गाउँपालिकाका ४ जना, नेपालगन्ज उपमहानगरपालिकाका २ जना, डुडुवा र जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिकाका समान १÷१ जना गरी तीनजना उम्मेदवार रहेका छन् ।
बर्दियाका तीन जना र रोल्पा र दैलेखका एक जना रहेका छन् । तीमध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ४४ वर्षीय दीपकबहादुर गौली मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ६२ वर्षीय तारकसिंह थारू, राष्ट्रिय जनमोर्चाका उम्मेदवार ५० वर्षीय मनबहादुर सुनार र मंगोल नेशलन अर्गनाइजेनबाट उम्मेदवार बनेका ३७ वर्षीय मनोजकुमार थारू बैजनाथ गाउँपालिकाका हुन् ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुस्पलाल)का ५६ वर्षीय चन्द्रवीर कामी, नागरिक उन्मुक्ति पार्टी नेपालका ३९ वर्षीय धुव्रराज थारू, स्वतन्त्र उम्मेदवार ४५ वर्षीय सुर्यप्रसाद रेग्मी र ६० वर्षीया भगवती शाहको स्थायी ठेगाना बैजनाथ गाउँपालिका रहेको छ । यसैगरी, नेकपा एमालेका ४२ वर्षीय सुमन मल्ल, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार ४० वर्षीया भूमि महतारा, श्रम संस्कृति पार्टीका ४१ वर्षीय ओमकार थापा मगर र मितेरी पार्टी नेपालका ३७ वर्षीय रुपकुमार चन्द खजुरा गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
नेपालगन्ज उपमहानगरपालिका स्थायी ठेगाना भएका राष्ट्रिय जनमत पार्टीका ३६ वर्षीय मुबारक अली दर्जी र आम जनता पार्टीकी विधा शर्मा ३ नम्बरमा उम्मेदवार छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार ५० वर्षीय तेजप्रसाद भण्डारी कोहलपुर नगरपालिकाका, जनता समाजवादी पार्टी नेपालका ४४ वर्षीय सुर्यलाल यादव डुडुवा गाउँपालिका र जनमत पार्टीका २९ वर्षीय फिरोज खाँ जानकी गाउँपालिकाका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ३५ वर्षीय खगेन्द्र सुनार दैलेखको नारायण नगरपालिका, नेपाली काँग्रेसका उम्मेदवार ५६ वर्षीय अमरसिंह पुन रोल्पाको गंगादेव गाउँपालिका तथा स्वतन्त्र उम्मेदवारहरू २८ वर्षीय पदमबहादुर घर्ती मगर, २९ वर्षीय चेतबहादुर ओली र ४५ वर्षीय भीमबहादुर सुनार बर्दियाको बढैयालताल गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।








प्रतिक्रिया दिनुहोस्