निर्वाचन सुरक्षाका लागि गस्तीमा खटियो सेना



नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत बुधबारबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरूको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ । ‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेतले भने ।

काठमाडौँ ।

आगामी फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारबाट फिल्डमा सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ ।निर्वाचनपूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना बुधबारदेखि फिल्डमा निस्किएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत बुधबारबाट देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् ।

उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरूको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ । ‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेतले भने । मन्त्रीपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए ।

त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास गर्ने काम समेत गरेको थियो । ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो ।

अहिले यही एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरू पनि सुरु भएका छन् । यस्तै सेनाले निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौँ, विराटनगर, इटहरी गरी पाँच ठाउँमा हेलिकप्टर पनि ‘स्टान्डबाई’ राखिएको सेनाले जनाएको छ । विकट ठाउँ तथा अतिसंवेदनशील क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ ।

निर्वाचनकै अवधि र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको काममा समेत हेलिकप्टरको प्रयोग हुनेगरी व्यवस्था मिलाइएको सहायक रथी बस्नेत बताउँछन् । केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने बताइएको छ । सडक सञ्जाल नपुगेका ठाउँहरूमा पनि हेलिकप्टरमार्फत मतपेटिका, मतपत्र ढुवानी सेनाले गर्नेछ ।

त्यस्तै निर्वाचन सकिएपछि पनि यस्ता ठाउँहरूमा हेलिकप्टरमार्फत नै मतपेटिका गणनास्थलसम्म ल्याउने काम सेनाले गर्नेछ । यस्तै सेनाले निर्वाचन भाँड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थ प्रयोग गर्नसक्ने जोखिमलाई ध्यानमा राखेर बम डिस्पोजल टोली पनि तैनाथ राखेको बताएको छ । त्यस्ता टोली अतिसंवेदनशील मतदानस्थल भएका क्षेत्रमा ‘अलर्ट’मा राखिएको छ ।

विमानस्थलदेखि कारागारको सुरक्षामा सेना 

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि ठूलो सङ्ख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यो अवधिमा महत्वपूर्ण प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने सहायक रथी बस्नेत बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य विमानस्थलहरू, कारागार कार्यालयहरू, सिंहदरबारलगायतका महत्वपूर्ण ठाउँ तथा प्रतिष्ठाहरूको सुरक्षा सेनाले गर्नेछ । यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो ।

जिल्लामा पठाउन थालियो निर्वाचन सामग्री 

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले आवश्यक मतदान सामग्रीको व्यवस्थापन र ढुवानी प्रक्रियालाई तीव्र पारेको छ । कान्तिपथस्थित बहादुर भवनमा रहेको आयोगको मुख्यलयबाट मंगलबार ललितपुर जिल्ला निर्वाचन कार्यालयका लागि मतपेटिकाहरू पठाइएको छ ।

आयोगका सहप्रवक्ता कुल जिसीका अनुसार मतदानका लागि आवश्यक पर्ने मतपेटिका, रबर छाप, मसी र अन्य महत्वपूर्ण निर्वाचन सामग्रीहरू गाडीमा लोड गरी सम्बन्धित जिल्लाहरूमा पठाउन थालिएको हो । मतपेटिकाहरू कडा सुरक्षाका साथ ढुवानी गरिएको छ । आयोग सहप्रवक्ताका अनुसार दुर्गम जिल्लाहरूमा पहिले र सुगम जिल्लाहरूमा क्रमशः सामग्री पठाइनेछ । ललितपुर नजिकको जिल्ला भए तापनि स्थानीय व्यवस्थापन र कर्मचारी प्रशिक्षणका लागि सामग्री चाँडै पठाइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार