राजनीतिक गतिविधि बढेसँगै सुरक्षा संवेदनशीलतामा चासो



नन्दराम जैशी । सुर्खेत ।

प्रहरीले कर्णाली प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर १४ हजार ७१९ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउन हुन सक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको पनि शाहले जानकारी दिए । अतिसंवेदनशील केन्द्रहरूमा सुरक्षाको विशेष व्यवस्था गरिने प्रहरीले जनाएको छ ।

प्रदेशका हिमाली तथा दुर्गम जिल्लामा भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका विवाद, राजनीतिक प्रतिस्पर्धा र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदान केन्द्रको वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका विभिन्न जिल्लामा रहेका अन्य मतदान केन्द्रहरूलाई संवेदनशील र सामान्य श्रेणीमा पनि राखिएको छ । अतिसंवेदनशील केन्द्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा आवश्यक परे नेपाली सेनाको समेत परिचालन गरिने तयारी गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा योजना तयार भइसकेको छ । जोखिम भएका केन्द्रमा अतिरिक्त जनशक्ति, गस्ती र निगरानी बढाइने उल्लेख छ । यसैबीच निर्वाचन कार्यालयले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ । सुरक्षाको सुनिश्चितताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन आयोगबीच समन्वय तीव्र बनाइएको बताइएको छ ।

कर्णाली प्रदेशमा आगामी निर्वाचनलाई लिएर राजनीतिक दलहरूको गतिविधि बढेसँगै सुरक्षा संवेदनशीलतामा पनि चासो बढ्दै गएको छ । कर्णाली प्रदेशभर कूल मतदाता सङ्ख्या १० लाख ३७ हजार २५० रहेको छ । यसमध्ये पाँच लाख नौ हजार ३६१ महिला र पाँच लाख २७ हजार ८८६ जना पुरुष मतदाता रहेका छन् । यस्तै अन्यतर्फ मतदाता सङ्ख्या ३ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान केन्द्र अनुगमन तीव्र

जुम्लामा मतदानस्थल अनुगमन तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले जुम्लाका मतदानस्थल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुुसार जिल्ला ११० मतदान केन्द्रमध्ये ५० प्रतिशत अनुगमन गरिएको हो । उनका अनुसार अनुगमनको क्रममा मतदान केन्द्रको भौतिक पूर्वाधार अवलोकन गरि तयारी अगाडि बढाइएको छ ।

खानेपानी, बिजुलीसहितका आधारभूत विषयहरूको व्यवस्थापनका लागि स्थानीय तहसँगको बैठक सम्पन्न गरिएको छ । यसैगरी मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानको लागि स्थानीय तहसँग आग्रह गरिरहेको छ भने निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको प्रजिअ पौडेलले जानकारी दिए ।

आगामी निर्वाचनका लागि जुम्लामा ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । जिल्ला सुरक्षा समितिले जिल्लाका एक सय १० मतदान केन्द्रमध्ये ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । जसमा जुम्लाका ५२ वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएको छ ।

कूल ८५ वटा मतदानस्थल रहेको जुम्लामा ५२ वटा अतिसंवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य रहेका छन् । ११० मतदान केन्द्र रहेकोमा ६४ वटा अतिसंवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य रहेका छन् । भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी र बिजुली व्यवस्था लगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।

जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार मतदानस्थल शान्तिपूर्ण र भयरहित बनाउन भरपुर पहल भइरहेको छ । जिल्लाका करिब ५० प्रतिशत मतदान केन्द्र अनुगमन सकिएको उनले बताए । जुम्लामा यस पटक मतदाता सङ्ख्या ७१ हजार सात सय ३९ जना छ ।

अनुशिक्षण कार्यक्रम सुरु

आगामी निर्वाचनका लागि कर्णालीका सबै जिल्लामा निर्वाचन प्रहरीमा छनौट भएकाहरूको लागि १० दिने अनुशिक्षण कार्यक्रम सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजनामा अनुशिक्षण भइरहेको छ । हुम्लाको सिमकोटस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा निर्वाचन प्रहरीलाई सो कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताए ।

निर्वाचन प्रहरीमा छनौट ५९५ जनामध्ये नौ जनाको नागरिकता नमिलेको कारण अनुशिक्षणमा सहभागिता नगराइएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन प्रहरीका लागि सञ्चालन गरिएको उक्त अनुशिक्षण पूरा गरेपछि प्रशिक्षित प्रहरीहरू निर्वाचन सुरक्षामा परिचालन गरिने छन् । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

अनुशिक्षणका क्रममा प्राप्त ज्ञान र सीपलाई निर्वाचन सुरक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न उनको निर्देशन छ । हुम्ला जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले २५ वटा अति संवेदनशील, २१ वटा संवेदनशील र १० वटा मतदानस्थललाई समान्य रूपमा वर्गीकरण गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार