बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको विरुद्ध र राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा मतदान गर्न आममतदातालाई अपिल गरेका छन् । संघीयताको विरुद्ध र राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा उभिएको शक्ति राष्ट्रिय जनमोर्चा मात्रै भएको उनको दाबी छ ।
फागुन २१ मा हुने निर्वाचन राष्ट्रवादी र राष्ट्रघाती शक्ति बीचको भएको बताउँदै उनले एजेण्डा हेरेर मात्र मतदान गर्न मतदातालाई आग्रह गरे । मंगलबार बुटवलमा रुपन्देही क्षेत्र नम्बर २ को प्रचारप्रसार निर्वाचन समितिको भेलामा बोल्दै उनले आफूलाई नयाँ भन्नेहरू विदेशीको इसारामा चलेको र नयाँ भन्नेहरूबाट देश खतरामा परेको बताए ।
अध्यक्ष केसीले काँग्रेस, एमाले, माओवादीका रिसले आफूलाई नयाँ भन्ने रास्वपाले देश नै सिध्याउने खेलमा लागेको उल्लेख गर्दै काँग्रेस, एमाले, माओवादीले देशलाई भ्रष्टाचारमा डुबाएर बर्बाद पारे पनि गणतन्त्रमा विश्वास गर्ने शक्ति भएको बताए ।
उक्त भेलामा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुकबहादुर पराजुली, समानुपातिक उम्मेदवार सहप्रध्यापक लिलबहादुर केसी, अर्का समानुपातिक उम्मेदवार गणेश गौतम, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चा बुटवल नगर अध्यक्ष पदम श्रेष्ठलगायतका नेताहरूले आआफ्ना भनाइ राखेका थिए ।
भेलाले ७७ सदस्य रहेको निर्वाचन प्रचारप्रसार समिति गठन गर्नुका साथै १३ सदस्य रहेको सचिवालय गठन गरेको छ । त्यस्तै भेलाले रुपन्देही निर्वाचन क्षेत्रलाई लक्षित गरी ११ वटा प्रचारप्रसार उपसमिति गठन गरेको राष्ट्रिय जनमोर्चा रुपन्देही सदस्य भिमलाल न्यौपानले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्