जीतेन्द्रनारायण देवले गरे एमाले छाडेको घोषणा



काठमाडौँ ।

नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले पार्टी छाडेको घोषणा गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्र मात्र देखेकोमा असन्तुष्टि जनाएका छन् ।

‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको आम विदेश पलायनको विरुद्धमा आक्रोशको विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह’, देवले भनेका छन् । साथै उनले  पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीसँग असहमत भएकाले पार्टी छाड्नुपरेको देवले बताएका छन् ।

‘पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढङ्गले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्दै सबै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु’, देवले भनेका छन् ।  देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार