गण्डकीले जित्यो टाइगर कपको उपाधि



काठमाडौँ ।

गण्डकी प्रदेशले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रूपैयाँ हात पा¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रूपैयाँमा चित्त बुझायो ।

तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रूपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रूपैयाँ प्राप्त गरे ।

सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरूले जनही ११ हजार १११ रूपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यु डायमन्ड स्पोट्र्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्वीन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार