श्यामलाल पोखरेल । बुटवल ।
अभिभावकविहीन तथा असहाय बालबालिकाको संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालन भइरहेको रामचन्द्र मैनादेवी अनाथ आश्रमले शनिबार २९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित उक्त आश्रमको साधारणसभामा सहभागिहरूले आश्रमको दिगो विकास र निरन्तरताका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
साधारणसभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभिन्न आमा समूह तथा महिला समूहका अध्यक्षहरूले आश्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने प्रतिबद्धता जनाएका हुन् । अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने उनीहरूको साझा भनाइ छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले अनाथ बालबालिकाको संरक्षण गर्दै आएको आश्रम सञ्चालनका लागि वडाबाट सहयोग गर्ने र नगरपालिकामा पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आमाबुवा तथा अभिभावक नभएका कारण घरबारविहीन बालबालिकाले मागेर खान नपर्ने भन्दै उनले त्यस्ता बालबालिकाको संरक्षणका लागि सञ्चालित आश्रम चलाउन समस्या नहुने बताए । उनले राजनीतिभन्दा माथि उठेर सामाजिक क्षेत्रको विकासमा लाग्ने भन्दै आश्रमको दिगो विकास र भौतिक संरचना बनाउन व्यक्तिगत रूपमा सहयोगी बन्ने उल्लेख गरे ।
आश्रमकी अध्यक्ष मैनतादेवी भण्डारीले आश्रम सबैको सम्पत्ति भएकाले सबैको आर्थिक, भौतिक र नैतिक सहयोगबाट आश्रमले गति लिएको बताइन् । उनले हालसम्म अनाथ आश्रमको ७५ लाख अक्षयकोष रहेको जानकारी दिँदै उक्त अक्षयकोषलाई एक करोड पु¥याउने लक्ष्य पूरा गर्नका लागि पहल गरिरहेको बताइन् ।
उनले आश्रम सञ्चालन र अक्षयकोष पारदर्शी रूपले सञ्चालन गरिएको बताउँदै अक्षयकोषबारे सबैलाई चासो राख्न आग्रह गर्दै उनले भनिन् ‘सहयोगी दाताको सहयोग र अक्षयकोषको ब्याजबाट आश्रम सञ्चालनमा खर्च गर्ने गरिएको छ । तर अब ७५ लाखको ब्याजबाट आश्रम चलाउन समस्या छ ।’
कार्यक्रममा समाजसेवी शान्ति नमुना माविका पूर्वप्रअ घनश्याम ज्ञवाली, तिलोत्तमा २ बरपिपल पथ महिला समूहकी संस्थापक अध्यक्ष कमला आचार्य, आनन्दवन आमा समूहकी अध्यक्ष लक्ष्मी कँडेल, समाजसेवी इश्वरी बस्याल, सीता वास्ताकोटी लगायतले आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बालअधिकार सुनिश्चित गर्न पनि आश्रम निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
आश्रमका विद्यार्थी दिनेश जागर, सुरेन्द्र वानिया र नेत्र वानियाले कथा कविता वाचन गरेका थिए । सयौँ बालबालिकालाई संरक्षण गरी उच्च शिक्षा दिएको आश्रम अध्यक्ष भण्डारीको एकल प्रयासमा सञ्चालनमा छ । अनाथ आश्रममा अहिले १३ जना बालबालिका रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्