बाँकेका उम्मेदवारको शैक्षिक योग्यताः सामान्य लेखपढदेखि एमए पाससम्म



बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै २२, बाँके २ मा २० र बाँके १ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये २१ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । ३५ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उम्मेदवारहरूको वैयक्तिक विवरणमा बाँके निर्वाचन क्षेत्र नम्बर १ का कुनै पनि उम्मेवारले शैक्षिक योग्यता खुलाएका छैनन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै २२, बाँके २ मा २० र बाँके १ मा १४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । तीमध्ये २१ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । चुनावी मैदानमा होमिएकामध्ये ३५ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

शैक्षिक योग्यता उल्लेख गर्नेमा सबैभन्दा धेरै बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार छन् । चुनावी मैदानमा कायम रहेका २० मध्ये १८ जना उम्मेदवारको शैक्षिक योग्यता उल्लेख छ । तीमध्ये ९ कक्षा उत्तीर्ण गरेकादेखि एमए पास गरेकासम्म छन् । सबैभन्दा धेरै उम्मेदवारले स्नातक उत्तीर्ण गरेको उल्लेख गरेका छन् । आफ्नो विवरणमा एमए पास गरेको उल्लेख गर्ने उम्मेदवारमध्ये नेकपा एमालेका उम्मेदवार मोहम्मद ईस्तियाक राई र नेपाली काँग्रेसका सुधान्सु कोइराला रहेका छन् ।

स्नातक उत्तीर्ण गरेका उम्मेदवारहरू नेपाली कम्युनिस्ट पार्टीका दिपेन्द्र विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ रहेका छन् । उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्णले आफ्नो शैक्षिक योग्यतामा आइए पास उल्लेख गरेका छन् भने राष्ट्रिय जनमत पार्टीबाट उम्मेदवार बनेका इरफान अहमद शेषको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ ।

२ नम्बर क्षेत्रमा ९ कक्षा पास गरेकादेखि १२ कक्षा उत्तीर्ण गरेका उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख गरिएको छ । शैक्षिक योग्यता उल्लेख नगर्नेमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राई र प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष रहेका छन् । बाँके क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

उक्त क्षेत्रमा पाँच जना स्वतन्त्र, २ महिलासहित १५ जना पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ७ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । नेपाली काँग्रेसका अमरबहादुर पुन, नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौली मगर र नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का चन्दविर कामी, नागरिक उन्मुक्ति पार्टीका धुव्रकुमार थारूले शैक्षिक योग्यता उल्लेख गरेका छैनन् ।

आयोगको विवरणअनुसार स्वतन्त्र उम्मेदवारहरू चेतबहादुर वली, पदमबहादुर घर्ती मगर, भीमबहादुर सुनारले विवरण उल्लेख गरेका छैनन् । शैक्षिक योग्यता उल्लेख गर्ने उम्मेदवारहरूको सङ्ख्या १५ जना रहेको छ । आम जनता पार्टीकी उम्मेदवार विधा शर्माले शैक्षिक योग्यतामा विए पास उल्लेख गरेकी छन् । जसमध्ये नेकपा एमालेबाट उम्मेदवार बनेका सुमन मल्लको एसएससी पास रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले आफ्नो शैक्षिक योग्यतामा पिसिएल (प्लस टु) उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तारकसिंह थारू र जनता समाजवादी पार्टी नेपालका सूर्यलाल यादवले आफ्नो शैक्षिक योग्यतामा ब्याचलर पास गरेको उल्लेख गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार तेजबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार, मितेरी पार्टी नेपालका रुपकुमार चन्दको शैक्षिक योग्यता प्लस टु पास रहेको छ ।

२ नम्बरका उम्मेदवारको अनुभव 

व्यापारीदेखि पूर्वमन्त्रीसम्म

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको वैयक्तिक विवरणअनुसार १४ वटा विवरण उल्लेख गरिएको छ । त्यसमा बाँके क्षेत्र नम्बर २ का अधिकांश उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, शैक्षिक योग्यता हासिल गरेको शैक्षिक संस्था र अनुभव उल्लेख गरिएको कोलम खाली राखेका छन् । तर ४ जना उम्मेदवारले आफ्नो अनुभव समेत उल्लेख गरेका छन् ।

अनुभव उल्लेख गर्नेमा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका मोहम्मद इस्तियाक राई, नेपाली काँग्रेसका सुधान्सु कोइराला, नेपाली कम्युनिस्ट पार्टीका दिपेन्द्र विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका विकेककुमार श्रेष्ठ रहेका छन् । राईले आफ्नो अनुभवमा २०६४ मा संविधानसभा सदस्य, २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित, २०७५ मा सहरी विकासमन्त्री बनेको, २०६८ सालमा श्रम तथा यातायातमन्त्री र २०७९ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेको उल्लेख गरेका छन् ।

यस्तै सुधान्सु कोइरालाले उल्लेख गरेको अनुभवमा नेपाल तरुण दलको केन्द्रीय पार्षद्, नेपाली काँग्रेस जिल्ला कार्य समित सदस्य र सचिव तथा वीपी अध्ययन प्रतिष्ठान बाँकेको अध्यक्ष रहेको जनाइएको छ । नेकपाका विष्टले राष्ट्रिय खेलकुद परिषद्को निवर्तमान सदस्य र व्यवसायीको रूपमा आफूलाई चिनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकेककुमार श्रेष्ठले आफूलाई सामाजिक अभियन्ता र व्यवसायीको रूपमा चित्रित गरेका छन् । यस्तै बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा शैक्षिक योग्यता उल्लेख गरेका कुनै पनि उम्मेदवारले आफ्नो अनुभव उल्लेख गरेका छैनन् ।

बाँके १ का उम्मेदवारले उल्लेख गरेनन्

३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रमुख दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् । उम्मेदवारहरू अहिले जनताको घरदैलोमा छन् । तर निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको वैयक्तिक विवरणमा बाँके निर्वाचन क्षेत्र नम्बर १ का कुनै पनि उम्मेवारले शैक्षिक योग्यता खुलाएका छैनन् ।

२०७९ भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित निर्वाचन आयोगको आचारसंहितामा उम्मेदवारी दर्तासँगै उनीहरूको वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि पेस गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार बाँके जिल्लाका केही उम्मेदवारले शैक्षिक योग्यता खुलाएका छन् । यद्यपि कुनै ऐन वा कानुनले उम्मेदवारको शैक्षिक योग्यता अनिवार्य गरेको छैन । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा दुई जना महिलासहित १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

एक जना स्वतन्त्रसहित चुनावी मैदानमा उत्रिएका कुनै पनि उम्मेदवारले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । बाँके १ मा प्रमुख दलहरूले पुरुष उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् भने नेपाल मजदुर किसान पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मात्रै महिला उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टीकी सुर्जा थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार कृष्णा केसी ‘नमुना’ मात्रै महिला उम्मेदवार हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार