व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व



दमौली (तनहुँ) ।

व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको अल्ट्रा म्याराथनमा नेपाली सेनाले बर्चस्व कायम गरेको छ । व्यास नगरपालिका–५ मानुङकोटदेखि वडा–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनमा प्रथम, द्वितीय र तृतीय नेपाली सेनाका धावक भएका छन् ।

प्रतियोगितामा बझाङका करन रावल प्रथम भए । रावलले उक्त दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पूरा गरे । त्यस्तै रामेछापका तिलकबहादुर सुनुवारले दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरेको छ । रामेछापकै होमलाल श्रेष्ठले तीन घण्टा चार मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरे। प्रतियोगितामा प्रथम हुनेलाई रु ८५ हजार ८२, द्वितीय हुनेलाई रु ६५ हजार ८२, तृतीय हुनेलाई रु ५५ हजार ८२ पुरस्कार प्रदान गरिएको छ ।

म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो । म्याराथनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले म्याराथनले दुई गाउँलाई चिनाउन सहयोग पुगेको बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले मानुङकोटलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खेलकुदका माध्यमबाट दुई गाउँ जोड्ने प्रयास गरिएको जानकारी दिए । मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार