पर्वतबाट ३२ करोडको सुन्तला निर्यात



पर्वत ।

यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छ भने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो ।

कार्यालयका अनुसार यस वर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको हो । कृषकले प्रतिकिलोग्राम रु ९५ देखि रु १२० सम्म बोटबाटै बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालू आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मूल्य पनि राम्रो पाएको जानकारी दिए ।

व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका किसान यस वर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडाँै, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए । गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्ताल किनेर लाने गरेको किसानहरूले बताएका हुन् ।

एउटै टोलबाटै रु एक करोडदेखि रु डेढ करोडसम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले बताए । पछिल्लो सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश सरकार र स्थानीय तहहरूले पनि विभिन्न सहयोग गर्दै आएका छन् । किसानलाई विभिन्न स्थलगत तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राजमार्ग सञ्चालन हुनाका साथै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सडक सञ्जाल फैलिएपछि सुन्तला बजारीकरणमा समेत सहज भएको छ । किसानले सुन्तला ग्रेडिङ गरेर जेठी, माइली, कान्छी गरेर बगैँचाबाटै बिक्रीका लागि लाने गरिएको बताएका छन् ।

यहाँ माघको अन्तिम सातासम्म बोटमै सुन्तला रहने हावापानी भएका कारण पनि सुन्तलाले राम्रो मूल्य पाएको हो ।
यहाँ ४०० भन्दा बढी किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । विशेषगरी जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा गरी ८३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । पछिल्लो वर्षमा सुन्तलाखेतीमा किसानको आकर्षणसमेत बढ्दै गएको छ ।

नौ करोडभन्दा बढीको सुन्तला बिक्री 

चितवन जिल्लामा सुन्तलाखेती गर्दै आएका किसानले रु नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन् । कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ का किसानले सो रकम बराबरको सुन्तला बिक्री गरेका हुन् । कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा एक हजार दुई दशमलव आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ आर्थिक वर्ष २०८०–०८१ मा एक हजार ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । पूराना बिरुवाको वृद्धावस्था, सुन्तला बगैँचा व्यवस्थापनमा कम चासो हुँदा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको पौडेलले जानकारी दिए ।

उनका अनुसार बेमौसमी वर्षा वा खडेरी, रोग किराको समस्या, उचित मलजलको कमीका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तालको बोटमा फल लाग्न नदिने सिट्रस ग्रिनिङ रोगको समस्या, सिजनमा मल र बोटका हेरचाहमा ढिलाइ र बजारमा मूल्य अस्थिरता हुँदा किसानमा चुनौती थपिएको उनले बताए ।

सुन्तला उत्पादनका दृष्टिले प्रचुर सम्भावना भएको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिकको सहयोगबाट उत्पादन वृद्धि गर्नतर्फ लाग्न जरुरी रहेको उनले बताए । यहाँको सुन्तला नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ, पोखरालगायत सहरहरूमा बिक्री हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार