चुनावी ‘संकल्प–पत्र’ सार्वजनिक



रूकुम पश्चिम ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूकुम पश्चिमले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘संकल्प–पत्र’ सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम मुसिकोट स्थित सेरिगाउँमा पत्रकार सम्मेलन गर्दै नेकपाले विभिन्न विषयमा प्रतिबद्धता सार्वजनिक गरेको हो । नेकपाका तर्फबाट रूकुम पश्चिमका उम्मेदवार गोपाल शर्मा समेतको उपस्थितिमा निर्वाचन परिचालन समितिका संयोजक वसन्त शर्माले संकल्प–पत्र प्रस्तुत गरेका हुन् ।

उक्त पत्रमा ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार, आत्मनिर्भर रूकुम पश्चिमको आधार’ भन्ने मूल नारा तय गरिएको छ । सडक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास तथा सुशासन र वन, वातावरण तथा विपत् व्यवस्थापन गरेर पाँच क्षेत्रमा काम गर्ने भनेर नेकपाका तर्फबाट संकल्प गरिएको छ ।

पाँच पृष्ठको ‘संकल्प–पत्र’मा यसपल्ट शीर्षक अनुसार प्रतिबद्धता गरिएको निर्वाचन परिचालन समिति संयोजक शर्माले बताए । यसैलाई आधार बनाएर आगामी दिनका काम गर्ने उनको भनाइ छ । अब केही दिनमा नेकपा केन्द्रीय पार्टी कार्यालयले देशभरको आवश्यकता र सन्दर्भ जोडेर घोषणा–पत्र सार्वजनिक गर्ने उनले जानकारी दिए ।

स्थानीय माग र आवश्यकतालाई ध्यान दिएर संकल्प पत्र तयार गरिएको भन्दै यसलाई थपघट र आवश्यक परिमार्जन गरेर अघि बढिन सकिने नेकपा रूकुम पश्चिमले जनाएको छ । उम्मेदवार गोपाल शर्माले सबै वडा तथा टोलमा पुगेर यही ‘संकल्प–पत्र’का विषयहरू बताउने र मत माग्ने बताए ।

विगतको समीक्षा र आगतको योजनासहित अघि बढ्ने भन्दै सकेसम्म धेरै मतदाताको घरदैलोमै पुग्ने तयारी रहेको उनको भनाइ छ ।
निर्वाचन नजिकिँदै गर्दा दल तथा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारका गतिविधिलाई व्यापक बनाउँदै गएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम पश्चिममा १२ वटा दलले आफ्ना उम्मेदवार अघि सारेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार