राष्ट्रिय जनमोर्चाद्वारा चुनावी घोषणापत्र सार्वजनिक



श्यामलाल पोखरेल । बुटवल ।

राष्ट्रिय जनमोर्चाले बुटवलमा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले ४० पेजको पुस्तकमा २५ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडल र अर्का उपाध्यक्ष जनकराज शर्मा र महासचिव मनोज भट्टले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

संघीयता खारेजी, संविधानको रक्षा, राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्रमा प्रमुखता दिएको छ ।चुनावी घोषणापत्रमा सुशीला कार्की नेतृत्वमा सरकारलाई असंवैधानिक भएको उल्लेख गरिएको छ ।

भ्रष्टाचारको अन्त्य र देशको दीगो विकास, उद्योग, कृषि, पर्यावरण, पर्यटन विकास, सहकारी, विकेन्द्रित र सन्तुलित विकास नीति, बौद्ध पुरातात्विक सहर, यातायातको विकास, जलश्रोत, विदेश नीति, राष्ट्रियता, मजदुरको हकहित र रोजगारीको व्यवस्था, पुनस्र्थापना, स्वास्थ्य, खेलकुद, सामाजिक सुरक्षा, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित, अपागंता, आरक्षित, निर्वाचन क्षेत्रको व्यवस्था, अन्तर निर्वाचन क्षेत्र, द्धन्द्धपीडितलाई न्याय र राहत, कालोबजारी कृतिम अभाव र आपूर्ति, उपभोक्ताको हित संरक्षण, मानव अधिकार, ग्रामिण विकास, एकीकृत बस्ती विकास लगायतका थुप्रै विषयलाई समेटेर राष्ट्रिय जनमोर्चाले घोषणापत्र जारी गरेको हो ।

राष्ट्रिय जनमोर्चाले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता हुन नहुने माग गरेको छ । घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले यो सरकार असंवैधानिक भएको बताए । विदेशी शक्ति राष्ट्रहरूको बलमा संविधान र राष्ट्रलाई नै समाप्त पार्न खोजिएको अध्यक्ष केसीको आरोप रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार