पुराना नेताहरूको अर्को पीडा के छ भने उनीहरूलाई अब आफ्नै इतिहास सुनाउने अवसर पनि दिइँदैन । उनीहरूले बोले भने ‘पुराना कथा’भनेर हाँसो उडाइन्छ । तर राष्ट्रको इतिहास पुराना कथाबाटै बनेको हुन्छ । जसले इतिहास बिर्सन्छ, उसले भविष्य बनाउँदैन । हामीले बुझ्नुपर्छ नयाँ नेता हुनु आफैँमा कुनै पुण्य होइन । पुरानो नेता हुनु आफैँमा कुनै पाप होइन । मूल्यांकन कामको आधारमा हुनुपर्छ, उमेरको आधारमा होइन । तर कामको मूल्यांकन गर्दा पनि अघिल्लो योगदानको सम्मान चाहिन्छ ।
डा. डक्टप्रसाद धिताल
नेपालको राजनीति आज एउटा विचित्र मोडमा उभिएको छ । यहाँ नयाँ अनुहार देखियो भने तुरुन्तै आशाको दीप बल्छ, नारा गुञ्जिन्छ, ताली बज्छ, सामाजिक सञ्जाल भरिन्छ । र पुरानो अनुहार देखियो भने थकान, घृणा, अविश्वास र व्यंग्यले स्वागत गर्छ । आज हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ नयाँ नेताको एउटा भाषण पनि ‘क्रान्तिकारी’ बन्छ, तर पुराना नेताले दशकौँसम्म गरेको त्याग, तपस्या र बलिदानको कुनै लेखाजोखा हुँदैन । इतिहासको पानापल्टाउने फुर्सद हामीसँग छैन, तर वर्तमानको स्टेज सजाउने उत्साहअपार छ । हामी बारम्बार भन्छौँ, पुराना नेता बिग्रिए, पुराना नेता सत्तालोप भए, पुराना नेता भ्रष्ट भए । यी धेरै कुरा सही पनि होलान् । तर के हामी कहिल्यै इमानदारीपूर्वक सोच्छौँ। यी पुराना नेताहरू कहाँबाट आए ? कुन बाटो हिँडेर यहाँ पुगे ? कस्तो मूल्य चुकाएर राजनीति गर्ने अधिकार कमाए ? आज गणतन्त्र छ, संविधान छ, अभिव्यक्ति स्वतन्त्रता छ, चुनाव छ, दल खोल्न पाइन्छ, सरकार बदल्न पाइन्छ । यी सबै सुविधा कसको रगत, पसिना र जेलका दिनको परिणाम हुन् ? नयाँ नेताहरू आज मञ्चमा उभिएर परिवर्तनको भाषण गर्छन् । भ्रष्टाचारविरोधी नारा लगाउँछन् । युवाको भविष्यको कुरा गर्छन् । डिजिटल नेपाल, समृद्ध नेपाल, नयाँ सोच, नयाँशैली भन्छन् । यी सबै सुन्न रमाइलो लाग्छ । आशा पलाउँछ । तर यिनै नयाँ नेताहरूले उभिएको मञ्च कसले बनायो ? यिनले बोल्ने माइक्रोफोन कसले उपलब्ध गरायो ? यिनले प्रयोग गर्ने स्वतन्त्रताको हावा कसले सिर्जना ग¥यो ? त्यो इतिहास हामीलाई याद छैन ।
पुराना नेताहरू कुनै दिन मन्त्री भएर जन्मिएका होइनन् । उनीहरू पनि विद्यार्थी थिए, किसान थिए, मजदुर थिए, शिक्षक थिए । उनीहरूले किताब छोडेर आन्दोलन रोजे, घर छोडेर जेल रोजे, परिवार छोडेर भूमिगत जीवन रोजे । पञ्चायतको समयमा जेलका अँध्यारा कोठामा वर्षौँ बिताएका नेताहरू आज ‘बुढा, निकम्मा, सत्तालोलुप’ भनेर गाली खान बाध्य छन् । हामी भन्छौँ, अब यी हट्नुपर्छ । हट्नुपर्छ, अवश्य हट्नुपर्छ । तर हटाउने बेलामा पनि सम्मान चाहिँ चाहिन्छ । इतिहास मेटेर होइन, इतिहास सम्झेर परिवर्तन गर्नुपर्छ । आजको पुस्तालाई शायद थाहा पनि छैन । बहुदलका लागि कति रगत बग्यो, कति युवा मारिए, कति आमा विधवा भए, कति सन्तान टुहुरा भए । २०४६ सालको मधेश आन्दोलन, २०६२–०६३ को जनआन्दोलन, माओवादीयुद्धका पीडा– यीकुनै पाठ्यपुस्तकको अध्यायमात्र होइनन्, यी हजारौँ जीवनका चिहानमाथि लेखिएको राजनीतिक इतिहास हो । ती आन्दोलनको अगुवाइ गर्ने धेरै नेता आज पुराना कहलिन्छन् । उनीहरूकै नेतृत्वमा राजतन्त्र ढल्यो, गणतन्त्र आयो, संविधान बन्यो । तर आज हामी तिनैलाई ‘देश बिगार्ने पात्र’ भनेर एकैचोटि खारेज गरिदिन्छौँ । नयाँ नेताहरू जब राजनीतिमा प्रवेश गर्छन्, उनीहरूलाई तुरुन्तै ‘आशालाग्दो’ भनिन्छ । उनीहरूको एक–दुई भाषण भाइरल हुन्छ, सामाजिक सञ्जालमा फोटो फैलिन्छ, युवाहरू मोहित हुन्छन् । तर ती भाषणमा बोलेका धेरै कुरा पुराना नेताले दशकौँदेखि भन्दै आएको कुरा नै हुन्छ । भ्रष्टाचारविरोधी कुरा नयाँ होइन, सुशासनको कुरा नयाँ होइन, शिक्षा–स्वास्थ्य सुधारको कुरा नयाँ होइन । नयाँ केवल अनुहार हो, शब्द होइन ।
यहाँ ठूलो समस्या के हो भने, हामी कामको निरन्तरता हेर्दैनौँ, केवलपात्रको परिवर्तन हेर्छौँ । पुराना नेताले सुरक्षाकर्मी लिए भने हामी भन्छौँ डरपोक, अपराधी, भ्रष्ट । नयाँ नेताले लिए भने भन्छौँ । देश बनाउने मान्छेलाई खतरा हुन्छ र सुरक्षा चाहिन्छ । पुराना नेताले विकास गरे भने भन्छौँ । हाम्रो करको पैसाबाट त विकास गरेका हुन् । नयाँ नेताले गरे भने भन्छौँ देशप्रेमी । पुराना नेताले चन्दा लिए भने भन्छौँ सेटिङ । नयाँ नेताले लिए भने भन्छौँ राष्ट्र निर्माण । एउटै काम, फरक व्याख्या । तर सबैभन्दा पीडादायी कुरा के हो भने पुराना नेताको तपस्या र बलिदानको कुनै लेखाजोखा छैन । उनीहरूले कतिपटक जेल खाए, कतिपटक कुटाइ खाए, कतिपटक जागिर गुमाए, कतिपटक घरबार छाडे । यी कुरा हामीलाई चासो छैन । हामी केवल अन्तिम चरण हेर्छौँ सत्ता, गाडी, सुरक्षाकर्मी, बंगला । हामीले कहिल्यै सोध्दैनौँ यो ठाउँसम्म आइपुग्दा उसले के गुमायो ? धेरै पुराना नेताका सन्तान आजपनि सामान्य जीवन बाँचिरहेका छन् । धेरै नेताले राजनीति गर्दा परिवारलाई शिक्षा दिन सकेनन्, सम्पत्ति जोड्न सकेनन् । तर केही नेताले सत्ता दुरुपयोग गरे, भ्रष्ट भए, परिवारवाद गरे त्यो सत्य हो । तर त्यसकै आधारमा सम्पूर्ण पुस्ताको त्याग र संघर्षलाई अमान्य बनाइदिने अधिकार हामीलाई कसले दियो ? नयाँ नेताहरूको अर्को ठूलो विशेषता के छ भने उनीहरू स्ट्यान्डबाजीमा माहिर छन् । मञ्चमा उभिएर ठूला कुरा गर्ने, पुराना नेताको आलोचना गरेर ताली बटुल्ने, सामाजिक सञ्जालमा चर्को स्टाटस लेख्ने यी सबै आजको राजनीति बनेको छ । तर जब सत्ता हातपर्छ, त्यही नयाँ नेताहरू पनि विस्तारै पुरानै बाटो हिँड्न थाल्छन् । आलोचक दबाउन खोज्छन्, कार्यकर्ता पाल्न थाल्छन्, परिवार घुसाउन खोज्छन् । इतिहासले बारम्बार यही देखाएको छ सत्ताले सबैलाई बदल्छ ।
हामी नयाँ नेताबाट धेरै अपेक्षा राख्छौँ । त्यो स्वाभाविक हो । तर अपेक्षा राख्ने क्रममा पुरानाको अवमूल्यन गर्नु बुद्धिमानी होइन । नयाँ पुस्ता र पुरानो पुस्ताबीच युद्ध होइन, संवाद हुनुपर्छ । अनुभव र ऊर्जा मिल्नुपर्छ । तर हामी एउटा पुस्तालाई देवता बनाउँछौँ र अर्को पुस्तालाई राक्षस । यसरी लोकतन्त्र सन्तुलित हुन्छ त ? पुराना नेताहरूको अर्को पीडा के छ भने उनीहरूलाई अब आफ्नै इतिहास सुनाउने अवसर पनि दिइँदैन । उनीहरूले बोले भने ‘पुराना कथा’भनेर हाँसो उडाइन्छ । तर राष्ट्रको इतिहास पुराना कथाबाटै बनेको हुन्छ । जसले इतिहास बिर्सन्छ, उसले भविष्य बनाउँदैन । हामीले बुझ्नुपर्छ नयाँ नेता हुनु आफैँमा कुनै पुण्य होइन । पुरानो नेता हुनु आफैँमा कुनै पाप होइन । मूल्यांकन कामको आधारमा हुनुपर्छ, उमेरको आधारमा होइन । तर कामको मूल्यांकन गर्दा पनि अघिल्लो योगदानको सम्मान चाहिन्छ । आज नेपालमा एउटा खतरनाक प्रवृत्ति बढ्दै गएको छ इतिहास मेटाउने । पुराना सबै खराब, नयाँ सबै राम्रो । यो सोच बालकको सोच हो, परिपक्व नागरिकको होइन। संसारका कुनै पनि देशले आफ्ना संघर्षका नायकलाई यसरी अपमान गर्दैन । अमेरिका आज पनि जर्ज वासिङ्टन सम्झिन्छ, भारत आज पनि नेहरू र गान्धी सम्झिन्छ, दक्षिण अफ्रिका आज पनि मण्डेलालाई सम्मान गर्छ । उनीहरूका गल्ती पनि थिए, तर त्यागको मूल्य छुट्टै राखियो।नेपालमा भने हामी आन्दोलनका नायकलाई गाली गर्न गर्व गर्छौँ । जेल बसेको इतिहासलाई ‘ड्रामा’भन्छौँ । बलिदानलाई ‘राजनीतिक कथा’भनेर उडाउँछौँ । अनि भन्छौँ देश किन बिग्रियो ? देश बिग्रिन्छ, जब समाज आफ्ना त्यागीलाई सम्मान गर्न छोड्छ र स्ट्यान्डबाजलाई पूजा गर्न थाल्छ ।
नयाँ नेताहरूका धेरै समर्थकहरू भन्छन् अब इतिहासले देश चल्दैन, भविष्य चाहिन्छ । सही हो । तर भविष्य इतिहासमाथि उभिन्छ, इतिहास मेटेर होइन । पुराना नेताको अनुभव, गल्ती र उपलब्धिबाट सिकेर मात्र नयाँ पुस्ताले राम्रो राजनीति गर्न सक्छ । हामीले एउटा कुरा स्वीकार्नै पर्छ आज जुन लोकतन्त्र छ, त्यो पुराना नेताको तपस्याको फल हो । उनीहरूले व्यवस्था नढालेको भए, आज नयाँ नेताले स्टेज नै पाउँदैनथे । उनीहरूले संविधान नबनाएको भए, आज नयाँ नेताले चुनाव लड्नै पाउँदैनथे । उनीहरूले राजतन्त्र नफालेको भए, आज नयाँ नेताको भाषण अपराध ठहरिन्थ्यो । यसको अर्थ यो होइन कि पुराना नेताका गल्ती माफ गरौँ । होइन । भ्रष्टाचार गरे कारबाही हुनुपर्छ, सत्ता दुरुपयोग गरे सजाय हुनुपर्छ, अयोग्य भए हट्नुपर्छ । तर सजाय न्यायका आधारमा हुनुपर्छ, घृणाका आधारमा होइन । परिवर्तन सम्मानसहित हुनुपर्छ, अपमानसहित होइन । नयाँ नेताहरूलाई पनि एउटा कुरा बुझ्न जरुरी छ आज तपाईँहरूलाई जसरी पूजा गरिँदैछ, भोलि तपाईँहरू पनि पुराना बन्नुहुन्छ । त्यतिबेला तपाईँको आजको स्ट्यान्डबाजी नै तपाईँविरुद्ध प्रयोग हुनेछ । इतिहास निर्दयी हुन्छ, तर निष्पक्ष पनि । अन्ततः समस्या नेता पुरानो वा नयाँ हुनु होइन । समस्या हाम्रो सोच हो । हामी भावनामा बग्छौँ, इतिहास बिर्सन्छौँ, स्टेज हेर्छौँ, संघर्ष होइन । हामी तालीको आवाज सुन्छौँ, जेलको सन्नाटा सुन्दैनौँ ।
अब समय आएको छ पुराना नेताको तपस्या सम्झने, नयाँ नेताको आशा जोगाउने । एकलाई इश्वर र अर्कोलाई राक्षस बनाउने होइन, दुवैलाई एउटै मापदण्डमा तौलने । त्यागको सम्मान गर्ने, गल्तीको आलोचना गर्ने, भविष्यको अपेक्षा गर्ने । नेता भगवान होइनन् । न पुराना, न नयाँ । तर केही नेता इतिहासका अध्याय हुन् । ती अध्याय च्यातेर होइन, पढेर मात्र नयाँ किताब लेख्न सकिन्छ । यदि हामी साँच्चिकै लोकतन्त्र चाहन्छौँ भने स्ट्यान्डबाजी होइन, स्मृति चाहिन्छ । नारा होइन, न्याय चाहिन्छ । पूजा होइन, विवेक चाहिन्छ । त्यही दिनदेखि मात्र नेपालमा राजनीति नयाँ र पुरानो होइन, सही र गलतको आधारमा चल्न सुरु गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्