लुम्बिनी प्रदेशसभा बैठकमा दुई विधेयक पेश



दाङ ।

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन सुरु भएको २ महिनापछि बसेको दोस्रो बैठकमा दुई विधेयक पेस भएको छ । मंगलबार दिउँसो बसेको बैठकमा दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र देश जीवनासक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको हो ।

दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारका तर्फबाट प्रदेशसभामा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पेस गरेका हुन् । त्यस्तै स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश जीवनासक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका थिए ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि छलफलका लागि पुनः पेस भएको छ । सरकारका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयक पेस गरेका थिए ।

सभामुख तुलाराम घर्ती मगरले विधेयकमाथि सैद्धान्तिक प्रस्तावका लागि निर्णयार्थ प्रस्तुत गरे । ध्वनिमतका आधारमा विधेयकमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव पारित भएपछि प्रदेशसभा सदस्य तुलसीराम शर्माले विधेयकमा सुझाव दिएका थिए । मन्त्री ढकालले प्रदेशका विभिन्न क्षेत्रहरूको अनुसन्धान गरेर त्यसका सम्भावना बुझ्ने र कानुन बनाएर कार्यान्वयन गर्ने गरी विधेयक ल्याइएको जवाफ दिए ।

सरकारका तर्फबाट त्यसलाई केही परिमार्जन गर्नुपर्ने देखिएकाले सुझावसहित फिर्ता आएको र त्यसमा सरकारले विचार गरी सैद्धान्तिक छलफलमा पेश गरिएको जवाफपछि विधेयकमाथिको संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध गराइएको सभामा जानकारी गराइएको थियो ।

बैठकमा सभामुख घर्तीले दाङ ३ (२)बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बाँके १ (१)बाट निर्वाचित कृष्णा केसी, बर्दिया २ (२)बाट निर्वाचित नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र रूपन्देही ४ (१)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको र उक्त चार पद रिक्त रहेको जानकारी गराएका थिए ।

चारैजना प्रदेशसभा छोडेर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । चार पद रिक्त भएपछि ८७ सदस्यीय प्रदेशसभा अहिले ८३ सदस्यीय बनेको छ । मास्की दाङ–३, चौधरी बर्दिया, केसी बाँके २ तथा बनिया रुपन्देही–४ बाट उम्मेदवार बनेका छन् । बैठकको विशेष समयमा जनमत पार्टीका चन्द्रकेश गुप्ता, राप्रपाकी मिनाकुमारी श्रेष्ठ, काँग्रेसकी लोकीकुमारी विक र नेकपा एमालेका विष्णुप्रसाद पन्थीले विभिन्न विषय उठाएका थिए । प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठक आज बस्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार