गरिमा विकास बैंक र एक्यानबीच सम्झौता



काठमाडौँ ।

गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)मा आबद्ध चार्टर्ड एकाउन्टेडहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय र एक्यानका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि एक्यानमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यले न्यूनतम आवश्यक कागजातमा ७५ हजारदेखि ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिनाधितो १५ लाखसम्मको व्यक्तिगत व्यावसायिक कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी बैंकले एक्यानआबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई आकर्षक ब्याजदरमा घर कर्जा र सवारीसाधन कर्जा समेत प्रदान गर्ने छ ।

हाल गरिमा विकास बैंकले ‘अब आफ्नै घर’ भन्ने नारासाथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ । हाल बैंकको देशभरि १ सय २६ शाखा कार्यालय र ५१ एटीएमका साथै नवीनतम डिजिटल बैकिङमार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार