‘एकदिन मानिसहरू फर्किनेछन्’माथि परिचर्चा



नेपालगन्ज ।

कवि दोस्ताजको नवीनतम कवितासंग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’माथि नेपालगन्जमा परिचर्चा तथा दोस्ताजको एकल कविता वाचन गरिएको छ । कैलाली निवासी कवि दोस्ताजका कवितामाथि कार्यक्रममा साहित्यकार ऋचा लुईँटेल र कवि बीपी अस्तुले परिचर्चा गरेका थिए ।
मध्यपश्चिम स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा कवितासंग्रहबारे बोल्दै लुईँटेलले दोस्ताजका कवितामा आशा, निराशा र कुण्ठाका स्वरहरू रहेका बताइन् ।

उनले भाषामा आञ्चलिकताको स्वाद पनि भेटिएको बताउँदै कवि कविताहरू दोहो¥याइरहन मन लाग्ने खालका रहेका बताइन् । कवि अस्तुले दोस्ताजका कविताहरू इमान्दारीपूर्वक लेखिएका कविताहरू रहेका बताए । उनले दोस्ताजको जीवन दर्शन र वर्तमान समयको प्रतिनिधित्व हुनेगरी कविताहरूले भाव बोकेका बताए । कवितामा दोस्ताजले आफू र समाजलाई निर्ममतापूर्वक आवणरहीत बनाउने पर्यत्न गरेको अस्तुको भनाइ थियो ।

कार्यक्रममा कविता वाचन गर्दै दोस्ताजले आफ्ना लागि कवितासंग्रह पूर्ण लागे पनि पाठकहरूलाई अपूर्ण लाग्नसक्ने र त्यसका आधारमा आउने प्रतिक्रियाहरू सहर्ष स्वीकार्ने बताए । उनले कार्यक्रममा तीनवटा कविताहरू वाचन पनि गरेका थिए । कवितासंग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’ सेलर नेपालले प्रकाशन गरेको हो भने संग्रहमा ४८ वटा कविताहरू संग्रहित छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार