तक्षशिलामा निःशुल्क स्वास्थ्य शिविर



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–१० स्थित तक्षशिला एकेडेमी विद्यालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार विद्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको विद्यालयका सञ्चालक अध्यक्ष विष्णुप्रसाद बेल्बासेले जानकारी दिए ।

विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्यलाई पनि ध्यानमा राखेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको उनले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावकसँगै नजिकै रहेका स्थानीयहरू समेत शिविरबाट लाभान्वित भएको बताउँदै उनले विद्यालयको आयोजना र केयर सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोमा शिविर सञ्चालन गरिएको बताए ।

विद्यार्थी, अभिभावक र स्थानीयहरूले शरीरमा भएका रोगहरूको निःशुल्क परीक्षण गर्न पाउनुका साथै अनुभवी चिकित्सकहरूबाट सेवा लिने अवसर पाएको उनको भनाइ थियो । स्वास्थ्य शिविरले आर्थिक रुपमा विपन्न र असहाय नागरिकलाई समेत राहत मिलेको उनले बताए ।एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय २५ जना अभिभावकहरूले स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक भिमबहादुर रोकायाले जानकारी दिए ।

यस्तै विद्यालयमा अध्ययनरत करिब ९ सय विद्यार्थी, ६० भन्दा बढी शिक्षक–कर्मचारीले स्वास्थ्य परीक्षण गराएका थिए । जटिल समस्या देखिएका व्यक्तिहरूका लागि केयर सिटी हस्पिटल नेपालगन्जले २० प्रतिशत छुटमा स्वास्थ्य उपचार गराउने उनले जानकारी दिए ।

शिविरमा स्त्री तथा प्रसूति एवम् ल्याप्रोस्कोपी सर्जन डा.राजन महत, कन्सल्टेन्सी फिजिसियन डा. उज्ज्वल आचार्य, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. विष्णुकुमार थापा र ग्यास्ट्रो तथा हेपाटो–बिलिएरी सर्जन डा. सुदीप रेग्मीको टोलीले बालरोग, स्त्रीरोग तथा सामान्य स्वास्थ्य समस्याको जाँच तथा परामर्श प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार