प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ः आज उम्मेदवारी दर्ता



आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता आज हुँदैछ । त्यसका लागि देशभरका मुख्य निर्वाचन अधिकृतका कार्यालय र निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयनपत्र दर्ता आज हुँदैछ । त्यसका लागि देशभरका मुख्य निर्वाचन अधिकृतका कार्यालय र निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

उनले यसपटक आयोगले आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको र उक्त विवरण खामबन्दी गरी बुझाउनुपर्ने बताएका छन् । ‘आचारसंहिता पालना गर्छु, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुँदा पनि मञ्जुर छ, निर्वाचन कानुनसम्बन्धी सबै व्यवस्थाको पालना गर्छु, जस्ता विषय उम्मेदवारले स्वघोषणामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ,’ सहायक प्रवक्ता जिसीले भने ।

उम्मेदवारी दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता २०८२ बमोजिम मनोनयन पत्रसाथ १० किसिमका कागजात पेस गर्नुपर्ने हुन्छ ।

उम्मेदवारीसँगै १३ प्रकारका कागजात पेस गर्नुपर्ने

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि आज मंगलबार हुने मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उम्मेदवारी दिँदा संघीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने उनले बताए । उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुुपर्नेछ ।

यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।विपन्नका हकमा स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नुपर्नेछ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी गरेको सम्पत्ति विवरण पनि पेस गर्नुपर्ने जनाइएको छ ।

निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फछ्र्यौट भएको व्यहोराको निस्सासमेत संलग्न गर्नुपर्नेछ । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फछ्र्यौट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र पनि समावेश गर्नुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ निर्वाचन कार्यक्रम

आज मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

निर्वाचनसम्बन्धी जानकारी दिन ‘कल सेन्टर’ स्थापना 

मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले सोमबारदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । ‘कल सेन्टर’मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले बताए ।

कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ । ‘कल सेन्टर’मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए । ‘कल सेन्टर’का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए ।

बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा सोमबारदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म ‘कल सेन्टर’ सञ्चालनमा आउने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार