निर्वाचन आचारसंहिता लागू



फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए ।

आचारसंहिताबारे आइतबार नै आयोगका पदाधिकारीहरूले मन्त्रीपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका प्रतिनिधिहरूले आचारसंहिताबारे जानकारीसमेत गराइसकेका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि भोलि माघ ६ गते उम्मेदवार मनोनयन हुँदैछ । दलहरू उम्मेदवार छनोटमा लागिरहेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले कसकसलाई आचारसंहिता क–कसलाई लागू हुने भन्नेबारे जानकारी दिएका छन् ।

क–कसलाई लाग्नेछ आचारसंहिता ?

– नेपाल सरकार र नेपाल सरकारका मन्त्री ।
– प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री ।
–  संवैधानिक निकाय र सो निकायका पदाधिकारी ।
– नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी ।
– स्थानीय कार्यपालिका र सोका सदस्य ।
– सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी ।
– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी ।
– सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी ।
– राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन ।
-उम्मेदवार तथा सम्बन्धित व्यक्ति ।
– राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि ।
– सार्वजनिक पद धारण गरेको व्यक्ति ।
– अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता ।
-पर्यवेक्षण संस्था तथा पर्यवेक्षक ।
– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी ।
– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी ।
– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
– मतदाता ।
– विकास साझेदार संस्था ।
– सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी ।
– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी ।
– निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार ।
– वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार ।
-आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।

उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ भोलि मंगलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् । यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिलसमेत गरेको छ । निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तपसिल बमोजिमका कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

१. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि ।

२. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

३. उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा ।

४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम ।

५. प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र ।

६. दलका तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र । तर एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र ।

७. प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर । तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ (आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र) ।

८. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र।

९. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण ।

१०. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम ।

११. उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्याैट भएको व्यहोराको निस्सा ।

१२. लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्यौट गरेको निस्सा ।

१३. निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिबद्धता पत्र ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार