नेपालगन्ज ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
यसै क्रममा बाँकेको नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथै बाँके क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेपालगन्जस्थित पशु सेवा कार्यालयमा उक्त कार्यालय सञ्चालनमा ल्याइएको हो । कार्यालय स्थापनाका क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, शसस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल र राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक हरिश विष्ट लगायतको उपस्थिति थियो ।
प्रजिअ तामाङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय तदारुकताका साथ खटिएको बताएका थिए ।यसैगरी बाँके क्षेत्र नम्बर १ को कार्यालय राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा र क्षेत्र नम्बर ३ को कार्यालय खजुरास्थित कपास विकास समितिको भवनमा स्थापना गरिएको छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश दीपकुमार दाहाललाई मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तोकेको छ ।
यसैगरी सर्वाेच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्लेलाई बाँके क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत र जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमलाई क्षेत्र नम्बर ३ निर्वाचन अधिकृत तोकेको छ । जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्ने गरी व्यवस्था गरिएको छ भने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्