तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द



दुवई :   राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो ।
यस अवधिमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले इरानको आकाश मार्ग प्रयोग नगरी उत्तर र दक्षिणतर्फ उडान डाइभर्ट गरे । पछि बन्द अवधि समाप्त भएको सङ्केत देखिएको छ र बिहान ७ बजेपछि धेरैजसो आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका थिए ।
यसअघि पनि इरानले जुन महिनामा इजरायलसँग भएको १२ दिने युद्ध तथा इजरायल–हमास युद्धका क्रममा इजरायलसँगको गोलीबारीपछि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । तर यसपटक कुनै प्रत्यक्ष सैन्य भिडन्तको स्पष्ट सङ्केत नदेखिए पनि इरान विश्वव्यापी उड्डयनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्गमा पर्ने भएकाले बन्दको असर तुरुन्तै अन्तर्राष्ट्रिय स्तरमा देखिएको हो ।
यसैबीच, संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बिहीबार दिउँसो इरानको अवस्थाबारे आपतकालीन बैठक बोलाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिएका अस्पष्ट अभिव्यक्तिहरूले इरानविरुद्ध सम्भावित अमेरिकी कदमबारे अनिश्चितता बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार