पोखरा महानगरपालिकाको १८औँ नगरसभा : कर छुटको सुविधा चैत मसान्तसम्म



गण्डकी : पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व संकलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व संकललन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए ।

सेवाग्राहीले चाहेर पनि राजस्व संकलन प्रणालीको समस्याका कारण कर तिर्न नसकेकाले कर छुटको समयलाई चैत मसान्तसम्म बढाइएको उनले बताए ।यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका भन्दै उक्त छुटको समयावधि बढाउन वडा १३ का वडाध्यक्ष किरण बरालले ध्यानाकर्षणपत्र बुझाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार