कोहलपुर (बाँके) ।
प्रधानमन्त्री कप एकदिवसीय पुरूष क्रिकेट प्रतियोगिता–२०८२ का लागि बाँकेमा खेलाडी छनौट सुरु भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा खेलाडी छनौट सुरु भएको हो । गत पुस २६ गतेदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष जिल्ला छनोट क्रिकेट प्रतियोगिता–२०८२ कोहलपुरस्थित अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट रंगशालामा भइरहेको छ ।
यसअघि संघले छनौटमा सहभागिताका लागि दरखास्त आह्वान गरेको थियो । छनौटमा सहभागिताका लागि ४४ जनाले आवेदन दिएका थिए । अहिले रंगशालामा हरेक दिन बिहान १० देखि साँझ ४ बजेसम्म छनौट प्रतियोगिता सञ्चालन भइरहेको छ । ४४ जनालाई विभिन्न चार टिममा विभाजन गरिएको छ । ११ जना सम्मिलित टिम निर्माण गरेर छनौट कार्य जारी रहेको बाँके जिल्ला क्रिकेट संघले जनाएको छ ।
बाँके रातो, बाँके हरियो, बाँके निलो र बाँके पँहेलो नामाकरण गरेर चार समूहमा छनौट गरिएको संघका कार्यबाहक अध्यक्ष सुफियान खानले बताए । उनका अनुसार हरेक समूहमा ११ जना रहेका छन् । बाँके रातो टिमको कप्तानी सिद्धान्तराज शाही, बाँके हरियो टिमको कप्तानी अजय साहनी, बाँके पहेँलो टिमको कप्तानी रोहन केसी र बाँके निलो टिमको कप्तानी लवकुश यादवले गरिरहेका छन् ।
हरेक टिममा एक÷एकजना टिम प्रशिक्षकसमेत रहेका छन् । छनौट माघ १ गतेसम्म सञ्चालन हुनेछ । ईरफान खान, सरिरन्जन कर्ण र अकरम सिद्विकी सम्मिलित छनौट कमिटीले बाँके जिल्लाको एउटा टिम छनौट गर्नेछ । जिल्लाको टिम निर्माण गरेपछि अभ्यास सञ्चालन हुने कार्यबाहक अध्यक्ष खानको भनाइ छ ।
उक्त टिमले प्रधानमन्त्री कप एकदिवसीय पुरूष क्रिकेट प्रतियोगिता–२०८२ को लुम्बिनी प्रदेश छनौट खेल्नेछ । प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेश छनौट माघ १२ गते सञ्चालन हुनेछ । प्रदेश छनौट कहाँ हुने भनेर अहिलेसम्म निश्चित भइसकेको छैन । दाङ र रुपन्देही जिल्लामध्ये एक जिल्लामा हुने सम्भावना रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्