गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।
आगामी फागुन २१ गते तोकिएको संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगले पूर्वतयारीका साथै निर्वाचन कार्यहरू तीव्र रूपमा अगाडि बढाइरहेको छ । निर्वाचन आयोगले हालसम्म विभन्न चरणका कार्यहरू सम्पन्न गरिसकेको छ । हालसम्म करिब निर्वाचनसम्बन्धीका ५० प्रतिशत कार्यहरू सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमकै तयारीस्वरुप निर्वाचन आयोगले पश्चिम नेपालका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारीहरूका लागि दुईदिने ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम मंगलबार नेपालगन्जमा सम्पन्न गरेको छ । विशिष्ट परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृत र निर्वाचन अधिकारीलाई निर्वाचनको विभिन्न पक्षहरूबारे जानकारी गराउनुका साथै सुझाव सल्लाह लिनका लागि अभिमुखीकरण गरिएको निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले बताइन् । मंगलबार सम्पन्न अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त तुलाधरले दुईदिनसम्म सिकेका ज्ञान आर्जन गरिएका विषयहरूलाई व्यवहारिक रुपमै कार्यक्षेत्रमा पुगेर लागू गर्न अनुरोध गरेकी थिइन् ।
अभिमुखीकरणमा प्राप्त सुझावहरूलाई आयोगले सदैव मार्गदर्शक बन्ने र सम्पत्तिका रूपमा रहने भन्दै उनले आयोगले केवल निर्देशन दिने र निर्वाचन सफल बनाउनका लागि मुख्य हात निर्वाचन अधिकृत, निर्वाचन अधिकारी तथा निर्वाचन कर्मचारीकै रहने उल्लेख गरिन् । निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचनमा खटिने कर्मचारीको मुख्य भूमिका रहने भन्दै उनले निर्वाचनका क्रममा हुन सक्ने सम्पूर्ण समस्याको समाधानका लागि आयोगले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाइन् ।
दुईदिनसम्म सञ्चालन गरिएको अभिमुखीकरणमा सहभागीहरूलाई अन्तरक्रियात्मक र प्रयोगात्मक दुवै तरिकाबाट प्रशिक्षित बनाइएको उनले बताइन् । निर्वाचनको तयारी, मतदान, मतगणना तथा घोषणा अवधिसम्म निष्पक्ष रूपमा काम गर्न उनले सहभागीहरूलाई निर्देशनसमेत दिएकी थिइन् । समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा सहज रूपमा सम्पन्न गर्नका लागि सरोकारवालासँगको सुझाव, छलफल र समन्वय गर्दै तयारी गरिएको जानकारी दिए ।
उनले जिल्लाका सम्पूर्ण सरोकारवाला पक्षहरूसँग सर्वपक्षीय तथा सर्वदलीय छलफल गरेर निर्वाचनलक्षित आवश्यक तयारी गरिएको बताए ।प्रजिअ तामाङले जिल्लाको सुरक्षा अवस्था तथा तोकिएका निर्वाचन केन्द्र तथा स्थलहरूको अनुगमन गरि सुरक्षा निकायसँगको समन्वय सुरक्षासम्बन्धी तयारी पनि गरिएको उल्लेख गर्दै केही दिनपछि जिल्लामा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयमार्फत थप सहजीकरण गरिने बताए । बाँके जिल्लाको विशिष्ट अवस्थालाई मध्यनजर गरेर सोहीअनुसार सुरक्षालगायतका अन्य योजनाहरू बनाएर तयारी गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले दुईदिनसम्म सिकेका कुराहरूलाई कार्यक्षेत्रमा पुगेर निर्वाचनमा खटिने कर्मचारीहरूलाई पनि प्रशिक्षित बनाउने बताएका थिए । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतबाट अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले दुईदिनसम्म अन्तरक्रिया र प्रयोगात्मक तरिकाबाट धेरै विषयवस्तुहरू सिकेको बताए ।
उनले आफूले सिकेका कुराहरू कार्यक्षत्रमा पुगेर निर्वाचन कर्मचारीहरूलाई सिकाउने र सोहीअनुसार कार्य गर्न सहज हुने अपेक्षा गरेको सुनाए। कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका जिल्ला न्यायाधीश, इजलास अधिकृत, उपसचिव, जिल्ला निर्वाचन अधिकारी, जिल्ला न्यायाधिवक्ता, उपन्यायाधिवक्ता, उपरजिष्ट्रार, प्रदेश निर्वाचन अधिकारीलगायत गरी ६६ जनाको सहभागिता रहेको थियो ।
नेपाल सरकारका सचिव पारासर ढुङ्गाना, सहसचिव सुभाषकुमार भट्टराई, वीरेन्द्रकुमार मिश्र र कोमलप्रसाद धमला लगायतका विज्ञ स्रोत व्यक्तिहरूले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था, आर्थिक, सुरक्षा व्यवस्थापन र मतदाता शिक्षा लगायतका निर्वाचनका विविध पक्ष, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधि, मतदान र मतगणनासम्बन्धी प्रक्रिया तथा प्रतिवेदनबारे प्रशिक्षण दिइएको थियो ।
‘नमुना मतदान अभ्यास’
निर्वाचन आयोगले पश्चिम नेपालका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारीहरूका लागि दुईदिने ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम मंगलबार नेपालगन्जमा सम्पन्न गरेको छ । विशिष्ट परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखीकरण कार्यक्रमको अन्तिम दिन मंगलबार नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूमा आयोगले सहभागीहरूलाई प्रयोगात्मक रूपमा नमुना मतदान अभ्यास गराएको छ । नमुना मतदान अभ्यासमा सहभागीहरूबाटै निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तयार गरिएको थियो । उनीहरूले प्रत्यक्ष तथा समानुपातिक मतपत्रमा मतदान गरी बाकसमा राखेका थिए ।
निर्वाचनको एउटा केन्द्रको स्थलमा आवश्यक सम्पूर्ण तयारी गरिएको थियो । आवश्यक सम्पूर्ण सामाग्रीहरूसहित मतदान गरिहरको दृश्यले साँच्चिकै निर्वाचनको झल्को दिएको थियो । परिचयपत्र देखाउने, मतदाताको नाम रुजु गर्ने, नङमा मसीको रेजा लगाउने, मतपत्र लिने, गोप्य ठाउँमा गएर चुनाव चिन्हमा छाप लगाउने र मतपत्र बाकसमा खसाल्ने लगायतका सम्पूर्ण विधिहरू गरिएका थिए । नमुना मतदान अभ्यासबाट सहभागीहरूलाई प्रयोगात्मक रुपमै प्रशिक्षण गराइएकाले मतदान प्रक्रियालाई व्यवहारिक रूपमा अनुभव गर्न र कार्यक्षेत्रमा पुगेर कार्यान्वय गर्न सहज हुने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्