नेपालगन्ज (बाँके) ।
जेनजी प्रतिनिधि र राजनैतिक दलका प्रतिनिधिबीच छलफल भएको छ । राष्ट्रिय निर्वाचन पर्यवक्षण समिति (नियोक)ले आइतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय जेनजी युवा पुस्ता र राजनैतिक दलका प्रतिनिधिबीच आयोजना गरिएको कार्यक्रममा छलफल भएको हो। छलफलका क्रममा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशका युवा पुस्ताहरूमा राजनीतिक चेतना जागेको जेनजी प्रतिनिधिहरूले बताएका छन् ।
जेनजी प्रतिनिधि सन्ध्या गैरेले जेनजी आन्दोलनपछि देशका युवा पुस्तामा राजनीतिक चेतना जागेको र राजनीतिप्रति लगाव बढेको बताइन् ।उनले आन्दोलनअघि देशमा व्याप्त भ्रष्टाचार, बेथिति तथा बेरोजगारीका कारण युवा पुस्ताले राजनीतिप्रति घृणा गर्ने गरेको उल्लेख गर्दै अहिलेको राजनीतिक परिवर्तन ल्याउन जेनजी पुस्ताले गरेको आन्दालेनले यो पुस्तामा राजनीतिक चेतना बढाएको उल्लेख गरिन् ।
उनले जेनजी पुस्तामा राजनीतिक ज्ञान आवश्यक रहेको भन्दै युवाहरू राजनीतिमा होमिनु सकारात्मक भएको टिप्पणी गरिन् । जेनजी प्रतिनिधि रमेश वरले जेनजी आन्दोलनपछि आएको परिवर्तित व्यवस्थामा हरेक तह र क्षेत्रमा जेनजी युवाको सहभागिता हुनुपर्ने बताए । अर्का जेनजी चन्द्रप्रकाश जैसीले राजनीतिक दलमा युवाको प्रतिनिधित्व र सहभागिता दयनीय रहेको बताए ।
उनले निर्वाचन प्रणाली धेरै खर्चिलो भएका कारण सुदूरका किसानका छोराछोरीहरू कहिल्यै चुनावमा भाग लिन नसक्ने र प्रधानमन्त्री पनि बन्न नसक्ने उल्लेख गर्दै निर्वाचन खर्च प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए । युवा लालबहादुर खड्काले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्धका आन्दोलनकारीलाई अझैसम्म आतङ्ककारीको बिल्ला भिराइरहेको अवस्थामा जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीलाई पनि विध्वंशकारी अपराधी करार गर्ने गरेको भन्दै त्यसो नगर्न र नभन्न आग्रह गरे ।
उनले ती बलिदानी आन्दोलनपश्चात् प्राप्त उपलब्धिहरूलाई रक्षा गर्नुपर्ने बताए । जेनजी उमेर समूहकै नियोक कार्यक्रम संयोजक प्रार्थना थापा क्षेत्रीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् । उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र ल्याउनका लागि अग्रजहरूले आन्दोलन तथा बलिदानी गरेकाले उनीहरूलाई सम्मान गर्नुपर्ने उल्लेख गरिन् । उनले देशको राजनीतिक तथा व्यवस्था परिवर्तनका लागि भएका हरेक आन्दोलनमा तत्कालीन जेनजी युवा पुस्ताले नै अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले जेनजी आन्दोलनका कारण राजनैतिक दलमा पनि परिवर्तन सुरु भएको उल्लेख गरेका थिए । नेपाली काँग्रेस बाँकेका सचिव एवम् बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका सुधांशु कोइरालाले जेनजी आन्दोलनकै कारण आफूलाई पार्टीले युवाका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारका रूपमा सिफारिस गरेको बताए । राजनीतिक पार्टीभित्र पनि अब परिवर्तन सुरु भइसकेको उनले उल्लेख गरे ।
अर्का युवा दीपेन्द्र विष्टले आफू सम्वद्ध पार्टी नेपाली कम्युनिष्ट पार्टीले युवा पुस्तालाई स्थान दिँदै आएको उल्लेख गरे । उनले आफूलाई युवाको प्रतिनिधित्व गर्दै आगामी निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको उल्लेख गर्दै आफू उम्मेदवारमा निश्चित भइसकेपछि निर्वाचनमैत्री खर्च व्यवस्थापन गर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य आइपी खरेलले राजनीतिमा धैर्यता आवश्यक भएको हुँदा जेनजी प्रतिनिधिहरूलाई धैर्य गर्न सिक्नुपर्ने बताए । उनले आफू १३ वर्षको उमेरदेखि राजनीतिमा प्रवेश गरेको भन्दै ५६ वर्षको उमेरमा पुग्दा मात्रै लुम्बिनी प्रदेससभा सदस्यका लागि पार्टीले टिकट दिएको उल्लेख गरे । राजनैतिक जीवनमा आफूले कहिल्यै केही आशा नगरेको र धैर्यता गरेको स्मरण गरे ।
नियोकका केन्द्रीय अध्यक्ष डा.गोपालकृष्ण शिवाकोटीले निर्वाचन अनुगमन सुदृढ गर्नका लागि र निर्वाचन पर्यवक्षण गर्नका लागि सन् १९९० देखि नियोकको स्थापना गरि हालसम्मका सम्पूर्ण निर्वाचनहरूमा सक्रियपूर्वक पर्यवक्षण गर्दै आइरहेको उल्लेख गरे । उनले हरेक व्यक्ति तथा राजनैतिक दल र नेताहरूले हिंसालाई वकालत गर्न नहुने, संवैधानिक सर्वोच्चतालाई मान्नुपर्ने, न्यायिक सर्वोच्चतालाई मान्नुपर्ने, प्रतिस्पर्धात्मक निर्वाचन प्रणालीलाई स्वीकार गर्नुपर्ने, संविधाले प्रदत्त गरेका अधिकार र अन्तर्राष्ट्रिय मानव अधिकारका विषयलाई मान्नुपर्ने तथा समावेशीताको चरित्रलाई स्वीकार गर्नुपर्ने बताए ।
बाँकेका प्रजिअ दिलकुमार तामाङले जिल्लामा शान्ति सुरक्षा र निर्वाचनका तयारीका बारेमा सम्पूर्ण सरोकारवाला पक्षसँग समन्वय, सरसल्लाह तथा सुझाव लिँदै आवश्यक कार्यहरू गरिरहेको उल्लेख गरे । उनले निर्वाचनका लागि सबै मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको र आवश्यक तयारी गरिएको बताए । सर्वदलीय÷सर्वपक्षीय छलफलबाट आवश्यक तयारी गरेको भन्दै जेनजी आन्दोलनपछि अवरुद्ध भएका सेवाप्रवाह सुचारु गर्नका लागि सार्वजनिक सेवाको व्यवस्थापन गर्दै तत्कालीन, मध्यमकालीन तथा पूर्ववत् अवस्थाबाट जिल्लाका सरकारी कार्यालयबाट सेवा प्रवाह भइरहेको बताए ।
बाँके जिल्लाका न्यायाधिश दीपककुमार दाहालले जेनजी पुस्ता ध्वंस र जिद्दीपनलाई छाडेर तार्किक तथा वैचारिक रूपमा उठ्नुपर्ने बताए । उनले कुनै पनि व्यक्ति या राजनीतिक दलका प्रतिनिधिहरूले अपराधिक प्रवृत्तिलाई जोगाउन र समर्थन गर्न नहुने भन्दै अदालतले घटनालाई पुष्टि हुनेगरि प्रमाणका आधारमा फैसला गर्ने बताए ।
नियोक लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता वसन्त गौतमले जेनजी आन्दोलनपछि देशको बदलिँदो परिवेशमा गहिरिएर छलफल गर्नका लागि जेनजी उमेर समूहसहित सबै उमेर समूह, राजनैतिक दलका प्रतिनिधिलगायत अन्य पक्षहरूसँग छलफल कार्यक्रम गरिएको बताए ।








प्रतिक्रिया दिनुहोस्