बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलः संघर्ष स्पोर्टसले जित्यो उपाधि



कैलाली ।

जिल्लाको धनगढीमा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्टस क्लब गोदावरीले जितेको छ । धनगढी रङ्गशालामा शनिबार सम्पन्न खेलमा सहारा युवा क्लब पहलमानपुरलाई २–० ले पराजित गर्दै संघर्ष स्पोर्टस क्लब गोदावरीले उपाधिमाथि कब्जा जमाएको हो ।

संघर्षलाई उपाधि दिलाउन खेलको दोस्रो मिनेटमै राजेश नेपालीले गोल गरे भने आदित्य बडूवालले ७८औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे। बडूवाल फाइनल खेलको म्यान अफ दी म्याच पनि चुनिए । उपाधि जितेसँगै संघर्ष स्पोर्टस क्लब गोदावरीले नगद २ लाख र आकर्षक ट्रफी पनि जितेको छ । उपविजेता बनेको सहारा युवा क्लब पहलमानपुरले नगद एक लाख रूपैयाँ हात पा¥यो ।

विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत, विशिष्ट अतिथि सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कमला जोशी, सदस्य गोकर्ण जोशी लगायतले संयुक्त रूपमा ट्रफी, मेडल तथा चेक हस्तान्तरण गरेका थिए ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा पुस १८ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाभरका १२ स्थानीय तहका टोली सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार