ठूलो परिमाणमा लागूऔषधसहित तीनजना पक्राउ



नेपालगन्ज ।

बाँके प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणका लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पुस १७ गते अन्दाजी राति ९ बजेको समयमा नेपालगन्ज २० राँझाबाट ३७ वर्षीय रफिक खाँलाई एक सय पाँच ग्राम एक सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

यसैगरी पुस १९ गते कोहलपुरबाट मुकेश बम र कृपा तामाङका साथबाट ६ ग्राम तीन सय ५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेर म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पुस १७ गते राँझामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी खटिएको प्रहरीले जानकी गाउँपालिका वडा नं. ५ बुटिया गाउँ निवासी ३७ वर्षीय रफिक खाँले चलाइरहेको भे११प ३६६ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा निजको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारेको जानकारी दिइएको छ।

प्रारम्भिक परीक्षणपछि उक्त पदार्थ शुद्ध तौल १०३.०३० ग्राम लागूऔषध ब्राउनसुगर रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । साथै खाँको साथबाट एक थान मोबाइल फोन र मोटरसाइकलसमेत बरामद गरिएको र त्यसपछि रफिक खाँलाई साथमा लिई निजको घर कोठामा खानतलासी गर्दा सुतेको कोठामा रहेको दराजमा लुकाइ राखिएको दुई दशमलव ०७ ग्राम ब्राउनसुगर थप फेला परेको प्रहरीको भनाइ छ ।

यसरी कूल एक सय पाँच ग्राम एक सय मिलिग्राम लागूऔषध ब्राउनसुगर तथा नगद ५० हजार रुपैयाँसमेत खाँबाट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रफिक खाँलाई बाँके जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी पुस २९ गते अन्दाजी राति साढे १० बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ११ स्थित टेलिकम कार्यालय नजिक कोठा भाडामा गरी बस्दै आएका व्यक्तिहरूको कोठामा शंका लागी खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरीको भनाइ छ । खानतलासीका क्रममा कोठाको भुइँमा रहेको बिस्तरामुनि लुकाइ राखिएको प्लास्टिकमा सानो १७ पोका खैरो धुलो पदार्थ फेला परेको र शुद्ध तौल गर्दा उक्त पदार्थ ६ ग्राम ३५० मिलिग्राम लागूऔषध ब्राउनसुगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त कोठाबाट नेपाली नगद ५१ हजार रुपैयाँ, आइफोन १२ प्रो एक थान तथा रियलमी कम्पनीका स्क्रिन टच मोबाइल दुई थानसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका बम कालीकोट रास्कोट नगरपालिका वडा नं. ५ घर भई हाल कोहलपुर नगरपालिका वडा नं. ११ मा कोठा भाडा गरी बस्दै आएका र तामाङ नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर घर भई हाल कोहलपुरमा बस्दै आएका प्रहरीको भनाइ छ । उनीहरूलाई पनि बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार