ग्राफ बढ्दै गरेका सम्बन्धविच्छेद, असरल्ल समस्या र समाधानका मार्ग



नरेन्द्र देवकोटा ‘प्रशान्त’
पृष्ठभूमि

आजभोलि अदालत जानै हुँदैन, अदालतको हाताभरी मानिसहरूको भिड हुन्छ । कतै पुरुषमहिला बीचको कुराकानी र आवेग सुनिन्छ । कतै महिलामहिला बीचको कुराकानी र आवेग सुनिन्छ । कतै पुरुषपुरुष बीचको कुराकानी र आवेग सुनिन्छ । मानौँ शान्त भन्नु कहीँ छैन, राजनीतिमा मात्र होइन प्रायःको पारिवारिक जीवन पनि कहालीलाग्दो मात्र भएको दृश्य देखिन्छ ।साथमा सानासाना बाबुनानी हुन्छन् । बाबुनानी कसैले आमाको हात समाएका हुन्छन् । कसैले बाबाको हातलाई समाएका हुन्छन् । मुद्दा फाँटमा सम्बन्धविच्छेदका मुद्दा दर्ताका लागि ताँती हुन्छन् । ईजलासभित्र पनि सम्बन्धविच्छेदकै मुद्दा हुन्छन् । मिल्नेभन्दा डिभोर्समै खुसी भएका हुन्छ्न् । छोराछोरी आमाबाबाको डिभोर्सपछि कता जाने भनेर रुवावासी भइरहेको हुन्छ ।

आखिर किन यस्तो भैरहेको छ त ? दिनानुदिन किन सम्बन्धविच्छेदका मुद्दाहरू बढिरहेका छन् ? किन लोग्ने स्वास्नीमान्छेबीच तिक्तता बढीरहेका छन् ? सम्बन्हरू किन टुटिरहेका छन् ? यी सबै कुरामा घरपरिवारले सकरात्मक रूपमा चिन्तनमनन गर्न जरुरी भैसकेको छ । सम्बन्धविच्छेद भन्नेबित्तिकै विवाहतर्फ फर्किनु पर्ने हुन्छ । दुई व्यक्ति पुरुष र महिलाबीच एकैसाथ धार्मिक, सामाजिक तथा कानुनी प्रकृया पूरा गरी एकअर्कासँगै सुमधुर जीवन व्यतित गर्न विवाह गरिएको हुन्छ । अर्को अर्थमा विवाह गर्ने पुरुष र महिलाबीच कुनै उत्सव समारोह एवं धार्मिक प्रकृयासमेत पूरा गरि आपसमा पतिपत्नीको रूपमा स्वीकार गरेर विवाह गर्ने चलन छ । कानुनमा भएको व्यवस्थालाई हेर्दा कुनै पुरुष र महिलाले कुनै उत्सव समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ भनी मुलुकी देवानी संहिता, २०७४ मा परिभाषित गरिएको छ । यसका साथै विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हुनेछ भनेर समेत प्रचलित कानुनले अथ्र्याएको छ ।

व्यवहारमा हेर्दा एकले अर्कोलाई विश्वास गरेर मन जितेर एक अर्काको भावनालाई बुझेर जुगौँजुगसम्म त्यो विवाहको सम्बन्धले सकारात्मक सम्बन्ध र फलिफाप फैलिँदै जावस् भन्ने सोचले ईष्टमित्र कुलकुटुम्ब आपसमा बसेर विवाहको सम्बन्ध गाँसिएको हुन्छ । यसैले त विवाहलाई गम्भीरतापूर्व मनन गरेर धुमधामले सम्पन्न गरिन्छ । धार्मिक मान्यता हेर्दा विवाहपश्चात् महिलालाई पुुरुषले मारे पाप पाले पुण्य भन्ने मान्यतासाथ र महिलाले पनि पुरुषलाई आफ्नो धर्म संस्कारमा बसी श्रीमान्को मन विश्वास जितेर जीवनयापन गर्नेगरी बाबुआमाले कन्यादान गरिदिएका हुन्छन् । टोलछिमेक, गाउँ, समाज, आफन्त, नातागोता, ईश्वर एवं कुलदेवता साक्षी राखेर विवाह गरेका हुन्छन् ।

कसैले बाजागाजासहित दुलहीको घरमा गएर त कसैले अनुकूल मिल्ने मन्दिरमा गएर अग्निकुण्डमा ईश्वर साक्षी राखी विवाह गर्ने गर्दछन् । यसैगरी बौद्ध, मुस्लिम, क्रिश्चियन तथा अन्य धर्मावलम्वीले पनि आ–आफ्नो धर्म रित र परम्पराअनुसार विवाह गर्ने गर्दछन् ।
हिन्दु धर्ममा भने विवाहको प्रतीक पुरुषले महिलाको सिउँदोमा सिन्दूर हाली रातो, हरियो तिलहरी, पोते चुरा र औँठी जस्ता गहना र रातै सारी, ब्लाउज, च्यादर चुन्नी जुत्ता लगाई सजिसजावटसहित विवाह गर्ने गर्दछन् । यसरी विवाह गरिसकेपश्चात् दुलहा र दुलही पक्षका दुई परिवारबीच नयाँ नातासम्बन्ध जोडिएर सुमधुर सम्बन्ध कायम रहेको हुन्छ । विवाहपछि दुलहा दुलहीसँगै बस्ने मात्र नभई एकले अर्कोबीचमा दुःखसुखमा साथदिने वंश परम्परा कायम राख्न सन्तान जन्माउने जस्ता कार्यहरू पनि हुने गर्दछन् । विवाहमा पहिले पहिले महिनावारी नभएका, महिनावारी हुने उमेर पुगेका कन्यासँग, कन्याभन्दा ज्येष्ठ उमेरका योग्य सक्षम शारीरिक रूपमा तन्दुरुस्त वरसँग वधुको विवाह गर्ने परम्परा थियो । आजभोलि कानुनले निर्दिष्ट गरेको प्रकृया र उमेर पुगेका युवायुवतीबीच विवाह हुने गर्दछ ।

व्यवहारिक मात्र नभई कानुनले समेत विवाहले पुरुष र महिलाबीच कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने जस्ता स्वतन्त्रता हुनेछ भन्ने व्ववस्था गरेको छ । अर्कोतिर पुरुष र महिलाले एकअर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा, हाडनाता करणीमा सजाय हुने नाताको नभएमा, उनीहरू बीचको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा र बीस बर्ष उमेर पूरा भएमा विवाह हुन सक्ने भन्ने व्यवस्था रहेको छ ।
यस प्रकारको कानुनी व्यस्थाले विवाहपछि वैवाहिक जीवनमा दरार नआवस् भन्नका लागि बीस बर्ष उमेर पुगेर मानसिक एवं शारीरिक रूपमै सक्षम भैसकेका जोडीप्रति कानुनले समेत विश्वास राखेको देखिन्छ । विवाह भएको केही वर्ष नहुँदै छोराछोरी जन्मिसकेपछि सम्बन्धविच्छेद हुने जस्ता घटनाले समाज पूरै आक्रान्त हुँदै गैरहेको देखिरहेका छौँ ।सम्बन्धविच्छेद पतिपत्नी बीच रहेको जुन वैवाहिक नाता सम्बन्ध छ, त्यस्तो नाता सम्बन्धबाट फेरि दायित्व नरहने कानुनी सम्बन्धबाटै अलग हुने कानुनी प्रकृयालाई भन्ने गरिएको छ । प्रचलित कानुन निर्माण हुनुअगाडि पारपाचुके÷छोडपत्र जस्ता शब्द प्रयोग गरिन्थ्यो । आजभोलि सम्बन्धविच्छेद भन्ने गरिएको पाइन्छ ।
श्रीमान्श्रीमतीबीच सम्बन्धविच्छेदका कानुनी आधार
पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन बर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक अङ्गभङ्ग हुने, शारीरिक तथा कष्ट हुने कुनै किसिमको काम वा जालप्रपञ्च गरेमा या अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्धविच्छेद गर्न सक्नेछ । यसैगरी पतिले माथिका शर्त उल्लंघन गर्नुका साथै अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा पत्नीले सम्बन्धविच्छेद गर्न सक्नेछ ।
सबन्धविच्छेदसम्बन्धी केही अन्तर्राष्ट्रिय अभ्यास
ज्ञाइन्द्रबहादुर श्रेष्ठद्वारा लिखित मुलुकी देवानी संहिता, २०७४ र देवानी कार्यविधि संहिता, २०७४ (पैरवी प्रकाशनद्वारा संसोधित तथा परिमार्जित चौथो संस्करण : २०७७ को पृष्ठ ५६ ) मूल दफासहित एक टिप्पणीमा सबन्धविच्छेदसम्बन्धी केही अन्तर्राष्ट्रिय अभ्यास हेर्दा बेलायत, भारत र चीनमा सम्बन्धविच्छेदसम्बन्धी कानुनको व्यवस्था गरिएको छ ।
उहाँका अनुसार The Matrimonial Causes Act १८५७ ले विवाह विच्छेद गर्न अदालतलाई शक्ति प्रदान ग¥यो । यस व्यवस्थासँगै सन् १८५७ मा २४४ वटा सम्बन्धविच्छेदका निवेदन परेका थिए भने ईसं १९७७ मा १३६०८६ वटा निवेदन परेका थिए भनी उल्लेख गर्नु भएको छ ।
यसैगरी भारतमा हिन्दु विवाह ऐन, १९५५ ले ल्याएको महत्त्वपूर्ण कुरामध्ये विवाह विच्छेद पनि एक हो भनी उल्लेख गर्नु भएको छ । उहाँका अनुसार चीनमा विवाह ऐन, सन् १९८१ अनुसार पति र पत्नीको संयुक्त मञ्जुरीमा सम्बन्धविच्छेद गरिदिने व्यवस्था छ भनी उल्लेख गर्नु भएको पाइन्छ । यसका साथै एक पक्षको मात्र निवेदन परेमा मेलमिलाप गराइदिन मध्यस्थको व्यवस्था हुनेछ । मध्यस्थको प्रयास विफल भएमा सम्बन्धविच्छेद गराइदिन्छ भन्ने व्यवस्थासमेत उल्लेख गर्नु भएको छ ।
सम्बन्धविच्छेदसम्बन्धी कानुनी प्रकृया
विवाहित पति वा पत्नीले सम्बन्धविच्छेद गर्न चाहेमा आफूलाई मर्का परि मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको वा थाहा पाएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा गएर नालिस दिन पर्नेछ । त्यस्तो नालिस÷फिराद÷निवेदन परेमा भरसक दुवै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराउने जिम्मेवारी तोकेको छ ।सम्झाई बुझाई गर्दा पनि मेलमिलाप हुन नसकेमा सम्बन्धविच्छेदको नालिस परेको एक वर्षपछि कानुनतः अदालतले सम्बन्धविच्छेद नै गराइदिनेछ । पतिको कारणबाट पतिपत्नीको सम्बन्धविच्छेद हुने अवस्था भएमा यदि पत्नीले अंश माग गरेमा सम्बन्धविच्छेद हुनुअघि अंश लगाइदिनु पर्नेछ ।
यदि अंश माग नगरी एकमुष्ठ मासिक या वार्षिक खर्च लिन चाहेमा अदालतले सम्पत्ति एवं आम्दानीको आधारमा भराइदिन सक्नेछ । सम्बन्धविच्छेद पछि यदि पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनुपर्ने हुँदैन । अंश या खर्चको सम्बन्धमा उनीहरूबीच कुनै सहमति भएमा सहमति अनुसार हुनेछ तर नाबालकको हितविपरीत हुनेगरी सहमति अदालतले दिने छैन । पतिपत्नीले सहमतिमा सम्बन्धविच्छेद÷डिभोर्स गर्न चाहे भने दुईतीन दिनमा सबै अदालती प्रकृयामा सकिन्छ । यदि सम्पत्ति र बालबच्चा छन् भने त्यस्तो सहमतिपूर्व सम्पत्तिको बाँडफाँट र बच्चाहरूको शिक्षा, स्वास्थ्य र पालनपोषण भेटघाटबारे अदालतले सहमतिपत्र÷मिलापत्रमै खुलाइदिनु पर्दछ ।
सम्बन्धविच्छेदको लागि कुनै पक्ष मञ्जुर नभएको अवस्थामा अदालतले अदालतद्वारा मान्यताप्राप्त तालिमप्राप्त मेलमिलापकर्तासमक्ष मेलमिलापको लागि आवश्यक कागजातसहित पठाउन सक्छ । मेलमिलापकर्ताले पनि मेलमिलाप हुन सके सोही विवरण र हुन नसके सोही विवरण समयमा अदालतमै पठाइदिनु पर्नेछ ।सम्बन्धविच्छेद गर्ने दुवै पक्ष सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने हुन्छ । तर कुनै एकपक्ष विदेशमा रहेको भए विदेशमा रहेको पक्ष÷श्रीमान् वा श्रीमतीले आफू रहेको सम्बन्धित देशको दूतावासमार्फत डिभोर्स÷सम्बन्धविच्छेद गर्न चाहेको भए सम्बन्धविच्छेदको निवेदन र यदि नचाहेको भए सोही विवरण रहेको आवश्यक कागज नेपालमा पठाउन सकिनेछ ।

त्यस्तो निवेदन पठाउँदा अधिकृत वारिसनामा समेतको कागज तयार गरी राजदूतावासमा पेश गर्न सकिनेछ । राजदुतावासमार्फत प्राप्त कागजातको आधारमा नेपालको सम्बन्धित जिल्ला अदालतमा सम्बन्धित व्याक्तिद्वारा सम्बन्धविच्छेद गर्ने या मिलापत्र गर्ने प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
सम्बन्धविच्छेद पछि सम्बन्धविच्छेद भैसकेका व्यक्ति पुनः अर्को विवाह स्वतन्त्र हुनेछन् । आफूसँग भएको अदालतबाट प्राप्त कागजको आधारमा सम्बन्धविच्छेद पछि निजले सम्बन्धित नगरपालिका वा गाउँपालिकाबाट अविवाहित रहेको सिफारिस कागज बनाएर लिनुपर्दछ । यस्तो कागज लिँदा पछिल्लो सम्बन्धविच्छेद भएको कागज पेश गर्नुपर्छ । अनि मात्र पक्षहरू दोस्रो विवाह गर्न परिपक्व हुनेछन् ।सर्वोच्च अदालतबाट प्रकाशित तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन हेर्दा आव २०७८–२०७९ मा सर्वोच्च अदालततर्फ ५४ थान मुद्दा दर्ता भएकोमा फछ्र्यौट १३ थान, उच्च अदालततर्फ ९०८ मुद्दा दर्ता भएकोमा फछ्र्यौट ५११ थान र जिल्ला अदालततर्फ ३६,४७२ थान मुद्दामा २६,५५४ थान मुद्दा फछ्र्यौट भएको देखिन्छ । आव २०७९–८० को वार्षिक प्रतिवेदनमा सम्बन्धविच्छेदमा सबैभन्दा बढी ४०,१८३ थान मुद्दा दर्ता भएको दखिन्छ । सर्वोच्च अदालतमा ६५ मुद्दा दर्ता भएकोमा १५ थान फछ्र्यौट, उच्च अदालततर्फ १,१२९ दर्ता भएकोमा ६६६ फछ्र्यौट र जिल्ला अदालततर्फ ३८,८८९ दर्ता भएकोमा २९,४५० फछ्र्यौट भएको देखिन्छ । आव २०८०–८१ मा सर्वोच्च अदालततर्फ ६० थान मुद्दा दर्ता भएकामा फछ्र्यौट ८ थान, उच्च अदालततर्फ १२०६ थान मुद्दा दर्ता भएकोमा फछ्र्यौट ८४० थान र जिल्ला अदालततर्फ ३९,०५४ थान मुद्दा दर्ता भएकामा ३०,९०४ थान मुद्दा फछ्र्यौट भएको देखिन्छ ।
सम्बन्धविच्छेद हुनुका प्रमुख कारणहरू
श्रीमान्श्रीमतीको प्रगाढ सम्बन्ध त्यसबेलासम्म कायम रहन्छ, जुनबेलासम्म एकले अर्कालाई अन्तरमनदेखि विश्वास र मायाप्रेम गर्ने, सुखदुःखमा साथ दिने गर्दछन् । आपसमा सानो परिश्रमको कदर गर्ने, सानो सफलतामा रमाउने पतिपत्नीले आपसमा प्रोत्साहित गरि ऊर्जा दिने काम गरेमा अर्काको कामबारे सकारात्मक रूपमा लिने, श्रीमान्ले पत्नीका आमा बाबु र अन्य घरपरिवार एवं आफन्तजनको सम्मान गर्ने र पत्नीले पनि श्रीमान्का आमाबाबुलगायत घरका सम्पूर्ण सदस्य अनि आफन्तजनको इज्जतमा सम्मान गर्दै ठाउँ विशेष बोलिचाली भेषभूषा र रहनसहनमा विशेष ध्यान दिनुपर्दछ ।
आफूले गरेको काम कुरो सही सत्य भए पनि कडा र रुखो तरिकाले प्रस्तुत नभई शिष्ट र सभ्य देखिनुपर्छ । धैर्यवान शालीन बन्दै लोग्नेको इज्जत महिलाले र महिलाको इज्जत पुरुषले राख्न सक्नुपर्छ । घरमा होस् या भान्सा या मेलापर्व उत्सवमा समाज परिवेश सुहाउँदो कपडा लगाउनुपर्छ । परिवारले एकअर्कालाई बुझ्न, विश्वास गर्न नसकेमा, शंका र अनुमानमा गरिने द्वेषपूर्ण विचार, अर्काको देखासिकीले सम्बन्धविच्छेदको अवस्थालाई निम्त्याउँछ । गरिबीमा विदेशमा जाने लहर बढेको, पारिवारिक बेमेल, अर्काको उचालेको कुराका पछि लाग्नु र अनावश्यक कुरामा विश्वास गर्नुले सम्बन्धविच्छेदका कारण बन्ने गरेको पाइन्छ ।पछिल्लो समयमा वैदेशिक रोजगार सम्बन्धविच्छेदको महत्त्वपूर्ण कारण बनेको देखिन्छ । व्याप्त बेरोजगारी र गरिबीले थिचेपछि घरमा वृद्व बाबुआमा र छोराछोरी मात्रै रहनु र महिलाहरू पुरुषबाट असुरक्षित रहनुबाट सम्बन्धविच्छेद हुने गरेको पाइन्छ । यौन सम्बन्ध मानिसको प्राकृतिक र जैविक आवश्यकता रहेको अवस्थामा पुरुष र महिलाको दूरी टाढा हुनुले अर्को कारण बनेको छ ।यसैगरी राज्यले गरिबी घटाउने र रोजगारी अभिवृद्धि गर्ने नीति भए पनि योग्यता र क्षमताअनुसार रोजगारी सिर्जना गर्न नसक्नु, मुलुकमा उद्योग कलकारखाना स्थापित हुन नसक्नु, निजीस्तरमा उद्योग कलकारखाना स्थापना हुन नसक्नुले सम्बन्धविच्छेद बढिरहेको छ ।नैतिक मूल्य मान्यताको पालना गर्नुपर्छ । चाहे पति होस् या पत्नी, घरबाट सरसल्लाह गरेर विदेश गएपश्चात् विश्वासघात गर्ने, सामाजिक सञ्जालको प्रयोग गरेर होस् या आन्तरिक रूपमा सम्बन्ध बढाइ डिभोर्स हुने गर्ने गरेको पनि पाइन्छ । यसैगरी सामाजिक सञ्जालको प्रयोगमा दुरुपयोग, फेसन, श्रृंगारपटार र बोलीभाषाले मानिसलाई नजिक र टाढा बनाइदिएको छ ।
सम्बन्धविच्छेद हुनबाट बच्न समाधानका उपायहरू
माथि उल्लेख गरिएका समस्याहरूमाथि नकारात्मक सोच नराखी सकारात्मक सोच राखी एकआपसमा हार्दिकता राख्नसके सम्बन्धविच्छेद हुनबाट बच्न सकिन्छ । यदि श्रीमान्ले आफ्नी श्रीमतीलाई साँच्चिकै माया गर्छ र श्रीमतीले आफ्नो श्रीमान्लाई माया गर्छ भने कसैको उक्साहट र लहलहैमा सम्बन्धविच्छेद गर्नु ठूलो मुर्खता र अभिषाप हो । यसबाहेक निम्न निरोधात्मक उपाय अवलम्बन गर्न सके सम्बन्धविच्छेद हुनबाट वच्न सकिन्छ ।
एकअर्कोबीच सम्बन्धविच्छेदको सोच नराखी आपसमा सम्मान गर्ने, जो जसले जति कमाएको छ, सरसल्लाहले खर्च गर्ने, जे काम गर्दा पनि पारस्परिक सल्लाहले गर्ने, अति महत्त्वपूर्ण कामबाहेक आफ्नो परिवारको लागि समय लगानी गर्ने, एकले अर्कोसँग ठूलो बनेर आदेश निर्देश धम्की र नियन्त्रणको व्यवहार गर्नुभन्दा सम्मान सत्कार गर्ने र गल्ती कमजोरी भएमा माफी मागे जस्तोसुकै रिस माया र प्रेममा बदलिन पुग्दछ । सम्बन्धविच्छेदपछि सुख हुन्छ कि भनेर सोच्नुभन्दा झन् दुःख भयो भने के गर्ने भनेर सम्झिनु पर्दछ ।

श्रीमान्को अपेक्षा श्रीमतीले आफूलाई सदावहार सम्मानपूर्वक व्यवहार गरेको र श्रीमतीले आफ्नो श्रीमान्ले जहिले आफूलाई माया गरेको अनुभूति गर्न चाहन्छन् । परिवार सँगै भएको बेला टेलिभिजन मोबाइल नहेरी आफ्नो जीवनयापन छोराछोरी र भावी योजनाको सल्लाह गरेर बस्दा अति राम्रो हुन्छ ।
प्रायः मानिसले घरखर्च योजनाबिना गर्ने भएकाले मनमुटाव हुने अविश्वासको वातावरण सिर्जना हुन पुग्दछ । अर्काको देखासिकीभन्दा आफ्नो आर्जन र कमाइ हेरी खर्च गर्न सके जीवन सुखदायी हुन पुग्दछ । श्रीमती महिनावारी, गर्भवती भएको अवस्थामा र सुत्केरी भएको अवस्थामा लोग्नेले आफूलाई ठूलो नठानी हरेक कुरामा श्रीमान्ले विशेष हेरचाह गरिदिए श्रीमती अत्यन्तै खुसी रहने अवस्था रहन्छ ।

कहिलेकाहीँ मानिसको जीवनमा नचाहँदा नचाँहदै पनि हुने विभिन्न गल्तीले आपसमा टकराव हुन पुग्दछ । यसलाई सहजताका साथ लिएर माफी माग्न र दिन सकियो भने अनावश्यकको द्वन्द्व हुँदैन । परिवारमा हरेक काम मिलेर सफल हुने भएकोले एकले अर्कोलाई सदैव आत्मीय र जीवनसाथी सम्झेर काम गरेमा नियन्त्रणको अवस्था हुँदैन । यसले सम्मानजनक व्यवहार गरेको स्थापित गर्दछ । परिवारबीचको द्वन्द्वले घरमा मात्रै अशान्ति होइन राज्यकै साधन स्रोत र समयको अपव्यय हुने भएकोले आपसमा भएको विवादलाई समाप्त गर्न आवश्यक कानुनी परामर्श लिँदै गर्नुपर्दछ ।यदि श्रीमान्श्रीमतीबीच मनमुटाव र विवाद आएमा सबैथरी काम थाती राखी वैवाहिक जीवनलाई सुमधुर गर्न समय खर्चिनुपर्छ । जसले तुरुन्तै समाधानको उपाय निस्केर सम्बन्धविच्छेद हुनबाट जोगाउन सकिन्छ । श्रीमान्श्रीमती आफूहरूले एकआपसमा निर्दोष सावित गर्नुभन्दा आआफ्ना कर्तव्य र जिम्मेवारीलाई मध्यनजर गरी मनमुटावलाई अन्त्य गर्नु पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार