सम्पादकीयः मानवताको सेवामा समर्पित रेडक्रस अभियान



हरेक वर्ष मे ८ का दिन विश्वभर रेडक्रस तथा रेक्रिसेन्टको स्थापना र मानवीय सेवाको सम्मानस्वरूप ‘विश्व रेडक्रस दिवस’ मनाइन्छ । विश्वभर विविध कार्यक्रम गरि यो दिवस ८ मे का दिन मनाइएको छ । यो दिवस रेडक्रस आन्दोलनका संस्थापक जाँ हेनेरी ड्युनाको जन्मदिनको अवसरमा मनाइने गरिन्छ । मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता र सार्वभौमिकता जस्ता सिद्धान्तलाई आत्मसात् गर्दै रेडक्रसले विश्वभर विपद्, युद्ध, महामारी तथा मानवीय संकटका समयमा निस्वार्थ सेवा पु¥याउँदै आएको छ । आजको विश्व अनेक चुनौतीबाट गुज्रिरहेको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् बढिरहेका छन्, युद्ध र हिंसाका घटना बढ्दै गएका छन्, महामारी र गरिबीले लाखौँ मानिसको जीवन संकटमा पारेको छ । यस्ता परिस्थितिमा रेडक्रस जस्ता मानवीय संस्थाको भूमिका अझ महत्त्वपूर्ण बनेको छ । जात, धर्म, भाषा, राष्ट्र वा राजनीतिक विचारभन्दा माथि उठेर पीडित मानवको सेवामा समर्पित हुनु रेडक्रस आन्दोलनको विशेषता हो । यही कारणले विश्वभर रेडक्रसलाई विश्वास र मानवताको प्रतीकका रूपमा हेरिन्छ । नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीले दशकौँदेखि विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा, स्वास्थ्य सचेतना, उद्धार तथा राहत वितरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । विशेषगरी २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ महामारी, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा रेडक्रसका हजारौँ स्वयंसेवक अग्रपंक्तिमा खटिएका थिए ।

दुर्गम गाउँदेखि सहरसम्म पुगेका रेडक्रसकर्मीहरूले राहत सामग्री वितरण, प्राथमिक उपचार, सुरक्षित खानेपानी तथा अस्थायी आवास व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनीय छ । रेडक्रस दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन मात्र होइन, यो मानवताको भावना जागृत गर्ने अवसर पनि हो । समाजमा अझै पनि धेरै मानिस स्वास्थ्य सेवा, सुरक्षित जीवन र आधारभूत आवश्यकताबाट वञ्चित छन् । विपद् र संकटको समयमा सरकारी प्रयास मात्र पर्याप्त हुँदैन । त्यस्ता अवस्थामा स्वयंसेवक, सामाजिक संस्था तथा नागरिक समाजको सहकार्य अपरिहार्य हुन्छ । रेडक्रसले यही सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । युवा पुस्तालाई सामाजिक सेवामा आकर्षित गर्नु आजको अर्को आवश्यकता हो। आधुनिक जीवनशैली र व्यक्तिगत स्वार्थले समाजमा सहयोग र सेवाभाव कमजोर हुँदै गएको अनुभूति गरिन्छ । यस्तो अवस्थामा रेडक्रसका गतिविधिले युवालाई मानव सेवा, रक्तदान, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ प्रेरित गर्न सक्छ । विद्यालय तथा क्याम्पस तहबाट स्वयंसेवा संस्कृतिको विकास गर्न सके समाजमा सहकार्य र सहानुभूतिको भावना अझ बलियो बन्न सक्छ । यस दिवसले सरकारलाई पनि मानवीय सेवामा लगानी बढाउन प्रेरित गर्नुपर्छ ।

विपद् जोखिम न्यूनीकरण, स्वास्थ्य सेवा विस्तार, सुरक्षित रक्तसञ्चार र उद्धार प्रणालीलाई प्रभावकारी बनाउन राज्यले रेडक्रसजस्ता संस्थासँग सहकार्य गर्न आवश्यक छ । साथै, रेडक्रस संस्थाभित्र पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी व्यवस्थापन कायम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । विश्व रेडक्रस दिवसले मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश दिन्छ । युद्ध, विपद् वा महामारीका बेला पीडित मानिसलाई सहयोग गर्नु नै सभ्य समाजको परिचय हो । मानवताको रक्षा र सेवाभावलाई व्यवहारमा उतार्न सके मात्र यो दिवसको वास्तविक सार्थकता हुनेछ । त्यसैले यो दिन केवल स्मरणको दिन नभई मानव कल्याणका लागि सामूहिक प्रतिबद्धता जनाउने अवसरका रूपमा लिनुपर्छ । विश्व रेडक्रस दिवसले मानव जीवनको मूल्य र सहकार्यको महत्त्व सम्झाउँछ । आज समाजमा व्यक्तिगत स्वार्थ र प्रतिस्पर्धा बढ्दै जाँदा मानवीय संवेदना कमजोर बन्न थालेको गुनासो सुनिन्छ । यस्तो अवस्थामा रेडक्रसले ‘मानव सेवा नै सर्वोत्तम धर्म हो’ भन्ने सन्देश प्रवाह गरिरहेको छ । रक्तदान, स्वयंसेवा तथा सामाजिक सहयोगमार्फत अरूको जीवन बचाउन सकिन्छ भन्ने चेतना फैलाउनु यसको ठूलो उपलब्धि हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार