सीसीटिभीमार्फत नरभक्षी बाघ खोज्दै निकुञ्ज



मिसन संवाददाता,कोहलपुर (बाँके)

बाँकेमा तीन महिनाको अन्तरमा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । जिल्लाको राप्ती सोनारीमा तीन महिनाको अन्तरमा दुई जना पुरुषको ज्यान गएको हो । गत कात्तिक ८ गते राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भयो थियो । पुस १९ गते बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका–१ कुसुमका ६२ वर्षीय मरिचमान भण्डारीले ज्यान गुमाए ।

सौरी सामुदायिक वन मध्यवर्ती क्षेत्रको देसीमारे चौर क्षेत्रमा गाई चराउन गएका बेला उनलाई बाघले आक्रमण गरेको थियो । उनीसँग अरु तीनजना गएका थिए । बाघले मृतक भण्डारीको घाँटी र टाउकोमा आक्रमण गरेको निकुञ्जले जनाएको छ । शरीरका अन्य भागमा चोट कतै नदेखिएको सूचना अधिकारी मन्दिप पंगेनीले बताए । उनका अनुसार बाघले करिब ५० मिटरको दूरीमा एउटा गाईलाई समेत मारेको फेला परेको छ ।

बाघले आक्रमण गरेको क्षेत्रमा चारवटा सीसीटिभी क्यामरा जडान गरेर खोजीकार्य सुरु गरिएको सूचना अधिकारी पंगेनीले बताए । उनले भने, ‘मृतकको शवको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको अनुमान छ । उक्त क्षेत्रमा बाघको वासस्थान रहेकोले अहिलेसम्म बाघले नै आक्रमण गरेको भन्ने हाम्रो ठम्याइ छ । त्यसैले निकुञ्जको प्राविधिक टोली उक्त क्षेत्रमा खटिएको छ । हामीले बाघ नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ ।’ हरेक दिन प्राविधिक टोली उक्त क्षेत्रमा खटिरहेको उनले बताए ।

यसअघि पनि ढकेरीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको थियो । त्यतिबेला पनि सीसीटिभी जडान गरिएको थियो । बाघ एकपटक मात्र सीसीटिभीमा देखा परेको उनले बताए । अहिलेसम्म मान्छे खाने बाघ नै हो भन्ने यकिन भने नभएको उनको भनाइ छ । ‘बाघको आक्रमणबाट पुरुषको ज्यान गएको भन्ने भएपछि आफन्तलाई भेटेका छौँ । राहत दिने प्रक्रिया गर्नेछौँ । त्यस क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छौँ,’ उनले भने ।
राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्का मध्यवर्ती क्षेत्रका नागरिक असुरक्षित रहेको बताए ।

उनका अनुसार बर्सेनि वन्यजन्तुका कारण नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् । निकुञ्ज ऐनका कारणले मध्यवर्ती क्षेत्रका नागरिकले दुःख पाइरहेको समेत वडाध्यक्ष खड्काको भनाइ छ । ‘वडा सरकारको तर्फबाट सचेतनामूलक कार्यक्रम आयोजना गरिरहेका छौँ । नागरिकहरूलाई जंगल जाँदा सचेत रहन भनेका छौँ । यहाँ त आफ्नो ज्यानको सुरक्षा आफैँ गर्नुपर्ने अवस्था छ,’ वडाध्यक्ष खड्काले भने । नागरिकहरूको हितको लागि ऐन संशोधन आवश्यक रहेकोमा उनले जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार