नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिए



बुटवल ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व तहबाट भएका  निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारुले बताए ।

नाउपा परित्याग पछि सोमबार भोलि नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित हुने उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार