बाँकेका तीनवटै क्षेत्रमा एमालेद्वारा उम्मेदवार सिफारिस



कोहलपुर (बाँके) ।

बाँकेका तीनवटै निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको हो । शनिबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) क्षेत्रीय समन्वय कमिटी बैठकले प्रत्येक क्षेत्रबाट जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गरेको हो ।

एमाले बाँके अध्यक्ष निरक गुरुङले प्रत्येक निर्वाचन क्षेत्रबाट अधिकतम तीनजना (कम्तीमा दुई पुरुष र एक महिला अनिवार्य)सहित भन्ने केन्द्रीय सर्कुलरअनुसार कमिटीले उम्मेदवारको नाम टुंगो लगाइएको बताए । उनका अनुसार तीन निर्वाचन क्षेत्रका लागि एक महिलासहित कूल पाँचजनाको नाम सिफारिस भएका छन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सूर्यप्रसाद ढकालको नाम एकल सिफारिस भएको छ ।

उनी नेकपा एमालेको भर्खरै सम्पन्न ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका ढकाल क्षेत्र नम्बर १ बाट दोस्रोपटक सिफारिस भएका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ढकाल यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ढकालले तत्कालिन लोकतान्त्रिक–वाम गठबन्धनबाट तत्कालीन युवा तथा खेलकुदमन्त्री रहेका महेश्वर गहतराज (अथक)लाई पाँच हजार तीन सय ९४ मतले हराउँदै निर्वाचित भएका थिए । ढकाल २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुँदा गहतराजले १९ हजार छ सय ३२ मत पाएका थिए । गहतराज २०७४ सालको प्रतिनिभिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । गहतराज नेपाली कम्युनिस्ट पार्टीबाट यही क्षेत्रबाट सिफारिस भएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्षसमेत रहेका निरक गुरुङ, क्षेत्रीय समन्वय कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेश सदस्य अक्षरी पोखरेलको नाम सिफारिस गरिएको छ । पोखरेल पत्रकारसमेत हुन् । यस्तै क्षेत्र नम्बर ३ बाट पूर्वराज्यमन्त्री दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ । नेकपा एमालेको केन्द्रीय सदस्यसहित सिँचाइ राज्यमन्त्रीसमेत भइसकेका सुनारको नाम उक्त क्षेत्रबाट सर्वसहमतिमा सिफारिस भएको हो ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनमा दुईपटक सांसद बनेका सुनार उक्त क्षेत्रका लोकप्रिय नेतामा गनिन्छन् । उनी २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए भने २०७० मा भने तत्कालिन बाँके निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव जितेर संविधानसभा सदस्य बने । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन चाहे पनि सफल हुन सकेनन् ।

२०७९ सालको निर्वाचनमा समेत उनले बाँके क्षेत्र नम्बर ३(१)बाट प्रदेशसभातर्फ प्रत्यक्षतर्फको चुनाव लडेका थिए । नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी (एस)मा माधव नेपालसँग जोडिएर पोलिटब्युरो सदस्यसमेत भएका थिए । पछि उनी तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । फेरि मूलघरमै फर्किएका सुनारलाई नेकपा एमालेले क्षेत्र नम्बर ३ बाट सर्वसहमतिमा नाम सिफारिस गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार