पाँच दिन थपियो कोहलपुर महोत्सव



कोहलपुर (बाँके) ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ देखि सञ्चालित कोहलपुर महोत्सव थपिएको छ । ‘कोहलपुर महोत्सव, दीगो विकासको उत्सव’भन्ने मूल नारासहित पुस ९ देखि सुरु भएको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ पाँच दिन थपिएको हो । अब कोहलपुर महोत्सव पुस २३ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवका कारण कोहलपुरमा आर्थिक क्षेत्र चलायमान हुनुका साथै स्थानीय व्यापार प्रवद्र्धन र दर्शकको चापलाई समेत मध्यनजर गरेर महोत्सव थप भएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले बताए । उनका अनुसार कोहलपुर नगरपालिकाको अनुमतिमा कोहलपुर महोत्सवको समय थप गरिएको हो । कोहलपुरमा मेला तथा महोत्सव सञ्चालनका लागि कोहलपुर नगरपालिकाले मेला महोत्सव व्यवस्थापन कार्यविधि नै तयार गरेको छ ।

सोही कार्यविधि अनुसार कोहलपुर नगरपालिकाको अनुमतिमा कोहलपुरमा हरेक वर्ष महोत्सव सञ्चालन हुने गरेको छ । यसपटक पनि कोहलपुर नगरपालिकाको अनुमतिमा कोहलपुर उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरिरहेको थियो । कोहलपुर नगरपालिकाद्धारा जारी गरिएको कार्यविधिमा व्यवसायिक स्टल राखिने आयोजना गरिने मेला महोत्सव अधिकतम् १० दिन सम्मको हुनेछ भनिएको छ ।

यसैगरी,कार्यविधिमै ‘मेलामा दर्शकको चाप आयोजकले मेला अवधि थप गर्नुपर्ने उपयुक्त कारणसहित सुरक्षा निकायको अनुमतिसहित निवेदन दिएमा व्यवस्थापन समितिले म्याद थपको कारण मनासिव देखेमा पाँच दिनसम्म म्याद थपको अनुमति कोहलपुर नगरपालिकाले दिन सक्नेछ’ भन्ने उल्लेख गरिएको छ । अध्यक्ष भट्टराईले भने,‘कोहलपुर महोत्सव अभूतपूर्व रुपमा सफल रुपमा सञ्चालन भइरहेको छ । कोहलपुर महोत्सवलाई हामीले आर्थिक क्षेत्र चलायमान बनाउने माध्यमका रुपमा सञ्चालन गरिरहेका छौँ । यहाँका व्यवसयीहरुको मागका कारण नगरपालिकासँग अनुमति लिएरै महोत्सव थप गरिएको हो ।’

यस्तै उनले कोहलपुर महोत्सव सञ्चालन तथा समायवधि थप गर्नको लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जानकारी दिए । कोहलपुर उद्योग वाणिज्य संघको तर्फबाट नगरपालिकालाई आफूहरुले निवेदन पेश गरेको र सोही अनुसार महोत्सवको सम्पूर्ण अवस्थालाई मध्यनजर गर्दै महोत्सवको समयवधि थप गर्नको लागि अनुमति दिएको उनको भनाइ छ । यता,कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले समेत कोहलपुर महोत्सवको समावधि थप गर्नको लागि अनुमति दिएको बताए ।

उनका अनुसार आयोजकका तर्फबाट मेला थपको लागि निवेदन आएपछि सम्पूर्ण अवस्थालाई मध्यनजर गरेर पाँच दिन थप गर्ने अनुमति दिइएको छ । ‘हामीले मेला सञ्चालन तथा समय थप सम्बन्धि सम्पूर्ण कुरा कार्यविधिमै उल्लेख गरेका छौँ । कार्यविधि अनुसार नै अनुमति प्रदान गरिएको छ, नगर प्रमुख आचार्यले भने । उनले मेलाको समयावधि थप गर्दा स्थानीय व्यवसाय प्रवद्र्धनको अवस्था,आयोजकको आशय र सुरक्षा अवस्थालाईसमेत मध्यनजर गर्दै निर्णय गरिएको बताए ।

यसवर्षको महोत्सवमा पुस्तक प्रदर्शनी कक्षसँगै शैक्षिक तथा पर्यटन प्रवद्र्धनका गतिविधिहरू पनि समावेश गरिएका छन् । स्थानीय तक्षशिला एकेडेमीले शैक्षिक प्रदर्शनी राखेको छ । महोत्सव परिसरमा निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत मिलाइएको छ । महोत्सवको उप–मुख्य प्रायोजक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल,कोहलपुरले अवलोकनकर्तालाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

महोत्सव अवधिभर निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । साथै कोहलपुर डेन्टल अस्पतालले समेत निःशुल्क दन्त सेवा प्रदान गरिरहेको छ । यसका अतिरिक्त महोत्सवमा बाल उद्यान,जलपरी तथा होटल–रेस्टुरेन्टका व्यावसायिक स्टलहरू समेत गरेर ३ सय वटा सञ्चालनमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार