लता भट्टराई
भूपेन्द्र सुवेदी नेपाली समकालीन साहित्यमा सामाजिक चेतना, राष्ट्रप्रेम र नैतिक मूल्यलाई केन्द्रमा राखेर सिर्जना गर्ने प्रतिबद्ध कविका रूपमा परिचित छन् । उनको जन्म वि । सं। २०१६/११/ २२ मा कास्कीकोट –८ पोखरामा भएको हो । उनले वाराणसीबाट मध्यमा सम्मको शिक्षा हासिल गरेका छन् । हाल कोहलपुर –१२ चप्परगौडीका स्थायी बासिन्दा सुवेदी कृषि, घरेलु उद्योग सञ्चालन ९विगतमा ढाँकाका कपडा उत्पादन गर्ने० र समाजसेवामा संलग्न हुनुका साथै विभिन्न पत्रिकामा प्रकाशित लेखरचना र कविताहरू लगायत छरिएका मोतीहरू र आदर्श जस्ता कवितासङ्ग्रह प्रकाशनले सहित्यिक क्षेत्रमा सक्रिय सहभागिता देखिन्छ । विभिन्न साहित्यिक संघसंस्थामा आबद्ध रही साहित्यिक क्रियाशीलता बढाउँदै आएका सुवेदीका प्रकाशित कृतिहरूमध्ये तेस्रो कृति ’भूपेन्द्र सुवेदीका कविताहरूझ कवितासङ्ग्रहमा समेटिएका ७३ वटै कविताहरू नेपाली समाज, राजनीति, संस्कृति, नैतिकता, सामाजिक चेतना, राष्ट्रप्रेम र मानवीय संवेदनाको चित्रण गर्ने उद्देश्यले रचना गरिएका छन् । कविताहरूले व्यक्तिगत अनुभूतिभन्दा सामूहिक चेतनालाई प्राथमिकता दिँदै नेपाली समाजको यथार्थ चित्रण गरी पाठकलाई सोच्न, सचेत हुन र परिवर्तनतर्फ अग्रसर गराउन प्रेरित गरेका छन् ।
राष्ट्रनिर्माण र सामाजिक रुपान्तरणमा केन्द्रित प्रायः सबै कविताहरूमा राष्ट्रप्रेम, भ्रष्टाचारविरोध, किसान र श्रमिकको पीडा, युवाको जिम्मेवारी, नारी सम्मान, शान्ति, बुद्धभूमि, नैतिक शिक्षा, विदेश पलायन, श्रमको सम्मान, बेरोजगारी, गरिबी, आत्मनिर्भरता र सत्कर्म जस्ता विषयहरू समेटिएका छन् । कविताहरूको केन्द्रमा देश र समाज सुधार नै रहेकोले विषयगत एकरूपता र उद्देश्यगत स्पष्टता देखिन्छ । यसमा इमानदारीता, आत्मबल र संस्कार जस्ता जीवनोपयोगी मूल्यहरूलाई पनि महत्व दिइएको छ । कविको विचार स्पष्ट रूपमा राष्ट्रवादी, नैतिक र सुधारमुखी रहेको छ । देशप्रेम, आक्रोश, पीडा, चेतना, प्रेरणा र आशावाद जस्ता भावहरू प्रवल रूपमा आएका छन् । कतिपय कवितामा कविको आक्रोश अर्थात विद्रोही स्वर व्यक्त भएको छ भने कतिपय कवितामा करुणा र सुधारको अपेक्षा देखिन्छ । सामाजिक विकृति विसङ्गतिप्रति आक्रोश प्रकट गर्दै त्यसको समाधानको लागि इमानदारी, श्रम, सद्भाव र संस्कारको मार्ग कविले देखाएका छन् । सामाजिक विकृति हटाएर सबैले इमानदार भई काम गरे देश समृद्ध हुने कुरामा कवि आशावादी देखिएका छन् । पाठकलाई सोच्न, आत्ममूल्याङ्कन गर्न र सक्रिय हुन प्रेरित गर्ने पद्य शैलीमा लेखिएका सम्पूर्ण उपदेशात्मक र चेतनामूलक कविताहरूको भाव सरल र पाठकको मन छुने खालको छ । शार्दूलविक्रीडित छन्दमा सरल, स्पष्ट र बोलीचालीको भाषा प्रयोग भएकोले भाव सम्प्रेषण र बोधगम्यता पनि सहज देखिन्छ । ’गाली गरौँ के भनी’ नामक कविता यस कवितासङ्ग्रहको पहिलो कविता हो । यस कवितामा कविले भ्रष्टाचार, अपराध र कमजोर कानुनी व्यवस्थाप्रति तीखो व्यङ्ग्य गरेका छन् ।
जस्तै ः
हाम्रो कानुन नै भएर फितलो हिंसा बढ्योनी अति
बन्नै पर्छ कडा बिधान अबता त्यस्तो नहोला खति
कस्तो दानव हो बिषाक्त मनको पापिष्ठ जल्लाद त्यो
हत्यारो असती अत्यन्त कपटी पापिष्ठ हो मूर्ख त्यो ।
अपराधीलाई सजाय नहुने र पीडितले न्याय नपाउने अवस्थाप्रति कविको आक्रोश प्रकट भएको छ । कविताले सामाजिक विसङ्गतिको नाङ्गो चित्रण गर्दै कडा कानुन र नैतिक शासनको आवश्यकता औँल्याएको छ । ‘अस्मिता’ कविता राष्ट्रप्रेम र राष्ट्रिय पहिचानको सशक्त अभिव्यक्ति हो। यस कवितामा कविले नेपाली जनतालाई आफ्नो अस्मिता जोगाउनका लागि एकजुट हुन आह्वान गरेका छन् ।
जस्तै ः नेपाली जन हो बचाउन सकौं नेपालको अस्मिता
जागौं है जनता मिलेर अब त तोडौं न यो शून्यता
धर्ती यो मिचिदै गयो दिन दिनै रोकौँ बरू एक भै
नेपाली धरती बचाउँ जन हो सच्चा सपूतै भई ।
यी पङ्क्तिहरूले राष्ट्रिय चेतनाको अभावप्रति चिन्ता र जागरणको आवश्यकता स्पष्ट पारेका छन् । प्रस्तुत कविता युवापुस्तालाई राष्ट्ररक्षाको जिम्मेवारी सम्झाउने सन्देशवाहक समेत बनेको छ । ‘आमा’ कविता मानवीय संवेदनाको उत्कृष्ट उदाहरण हो । यस कवितामा आमा केवल जन्मदात्री मात्र नभई त्याग, ममता र सहनशीलताको प्रतीकका रूपमा प्रस्तुत भएकी छन् ।
जस्तै ः
“आफ्नै सन्ततिको भनाइ मुटुमा बिझ्दो छ काँडा भई
पश्चाताप तथापि छैन मनमा आशिष दिन्छिन् गई
आमा हुन् धरती अनेक सहँदै हुर्काइ यो जीवन
कस्ले दिन्छ उनी समान अरुले माया यहाँ लौ भन ।“
यसमा मातृवात्सल्य, भावुकता, करुणा र सम्मानको भाव प्रवल छ । जन्मदाताले आफ्ना सन्तानका लागि गर्ने त्याग, सहनशीलता र संघर्षको प्रस्तुतिले मन जित्न सफल भएको छ । त्यसै गरी ’अपहेलना’ कविता नेपाली जनताको श्रम र योगदानको अपहेलनाप्रति केन्द्रित छ । विदेशमा श्रमिक भएर पसिना बगाउने नेपालीहरूको पीडा यस कविताको मूल विषय हो । कविले आफ्नै देशमा श्रमको सम्मान नहुनुलाई विडम्बनाका रूपमा प्रस्तुत गर्दै आत्मनिर्भर राष्ट्र निर्माणको आवश्यकता औँल्याएका छन् । यस कवितामा सामाजिक यथार्थ र आक्रोश सँगसँगै व्यक्त भएको छ । ‘मानवता’ कविता नैतिक मूल्य र मानवीय गुणको खोजीमा केन्द्रित रहेको छ । कविले धन, शक्ति र पदभन्दा मानवता ठूलो हो भन्ने सन्देश यस कवितामार्फत दिएका छन् । यो कविताले आजको भौतिकवादी समाजमा हराउँदै गएको मानवीय संवेदनाप्रति गम्भीर प्रश्न उठाएको छ र पाठकलाई पनि आत्मचिन्तनतर्फ डोर्याएको छ । विभिन्न कविताहरूका माध्यमबाट समाजमा चेतना फैलाउनु, नागरिक कर्तव्य सम्झाउनु, राष्ट्रप्रेम जगाउनु र नैतिक मूल्यको पुनस्र्थापना गर्नु यस कवितासङ्ग्रहको मुख्य उद्देश्य हो ।
कविले कवितालाई मनोरञ्जनको साधन मात्र नभई सामाजिक जागरणको हतियारका रूपमा प्रयोग गरी पाठकलाई जिम्मेवार नागरिक बन्न प्रेरित गरेका छन् । समग्रमा यो कवितासङ्ग्रह सशक्त सन्देशप्रधान, राष्ट्रवादी र समाजसुधारमुखी छ । कलात्मकताभन्दा विचार र भावलाई प्राथमिकता दिइएको छ । यसले नेपाली समाजका यथार्थ समस्या उजागर गर्दै आशा र समाधानतर्फ डोर्याउने प्रयास गरेको देखिन्छ । नेपाली साहित्यका क्षेत्रमा स्पष्ट विचार, दृढ उद्देश्य र राष्ट्रिय चेतना सम्मिलित यो कृति महत्त्वपूर्ण रहेको छ । प्रस्तुत कवितासङ्ग्रहले नेपाली समाजको यथार्थ, पीडा, चेतना र आशालाई सशक्त रूपमा उजागर गरेको छ । सरल भाषा, स्पष्ट उद्देश्य र राष्ट्रिय चेतनाले यसलाई महत्वपूर्ण बनाएका छन् । भाषिक सौन्दर्य, विम्ब–प्रतीक र अलङ्कारको प्रयोग सीमित देखिन्छ । परिमार्जित भाषाशैली, विम्बप्रतीक र अलङ्कारको प्रयोग जस्ता पक्षहरूमा जोड दिई काव्यगत सौन्दर्यलाई अझ परिष्कृत र कलात्मक बनाउन सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्