कर्णालीमा धान उत्पादनको ग्राफ घट्दै



नन्दराम जैशी । सुर्खेत ।

विगत केही वर्षयता कर्णाली प्रदेशमा धान उत्पादनको ग्राफ घट्दो क्रममा रहेको पाइएको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीको कूल ३० लाख २० हजार ९०० हेक्टर क्षेत्रफलमध्ये ९.५२ प्रतिशत अर्थात् दुई लाख ८७ हजार ७६१ हेक्टर क्षेत्रफल मात्रै खेतीयोग्य जमिन छ । त्यसमध्ये पनि ६९.७१ प्रतिशत क्षेत्रफल कृषि कार्यमा उपयोग गरिएको छ भने ३०.२९ प्रतिशत बाँझो छ ।

खेती गरिएको जमिनमध्ये धान उत्पादन हुने क्षेत्रफल ४२ हजार ५७३ हेक्टर हो । तर विगत आठ वर्षयता यो तथ्यांक फेरबदल भइरहेको छ । धान उत्पादनको ग्राफलाई हेर्दा आर्थिक वर्ष २०८१–०८२ मा एक लाख ६६ हजार ५६७ मेट्रिकटन धान उत्पादन भएको छ । यो वर्ष ४२ हजार ५७३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा औसत उत्पादकत्व ४.६६४ मेट्रिकटन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा एक लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७५–०७६ मा एक लाख ३३ हजार ५७९ मेट्रिकटन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७७–०७८ सम्म पुग्दा सामान्य वृद्धि भई एक लाख ३७ हजार मेट्रिकटनसम्म उत्पादन भएको थियो । तर त्यसपछि २०७८–०७९ मा एक लाख २५ हजार मेट्रिकटनमा झरेर पुनः आव २०७९–०८० र २०८०–०८१ मा वृद्धि भएको थियो । धान खेती गरिएको क्षेत्रफल पनि सामान्य वृद्धि भएको छ भने प्रतिहेक्टर उत्पादकत्वमा तात्त्विक भिन्नता छैन ।

मन्त्रालयको कृषि रणनीति तथ्यांकअनुसार कृषि कार्यमा उपयोग भएको जमिनमध्ये जम्मा १९.०६ प्रतिशत अर्थात् ३८ हजार २३३ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । त्यसको १५.१६ प्रतिशत अर्थात् ३० हजार ४०७ हेक्टरमा मौसमी सिँचाइ गरी ३४.२२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ । मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला सुर्खेत हो । १४ हजार ९२१ हेक्टर क्षेत्रफलमा धान खेती भएको सुर्खेतमा ६३ हजार ११५.८३ मेट्रिकटन धान फलेको कृषि विकास निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले बताए ।

सुर्खेतमा धानको उत्पादकत्व ४.२३ मेट्रिकटन प्रतिहेक्टर छ । यस्तै दैलेखमा २७ हजार १२० मेट्रिकटन धान उत्पादन भएको छ । सात हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको दैलेखमा उत्पादकत्व ३.४२ मेट्रिकटन प्रतिहेक्टर छ । सल्यानमा ६ हजार १५८ हेक्टर क्षेत्रफलबाट २९ हजार ५७ मेट्रिकटन धान उत्पादन भएको छ । सुर्खेतपछि धेरै धान उत्पादन सल्यानमा भएको तथ्यांकले देखाउँछ । यो जिल्लामा धानको उत्पादकत्व ४.७ मेट्रिकटन प्रतिहेक्टर छ ।

त्यसपछि जाजरकोट, कालीकोट, रुकुम पश्चिम र जुम्ला मध्यम धान उत्पादन भएका जिल्लामा परेका छन् । ४.४३ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको रुकुम पश्चिममा तीन हजार ५४ हेक्टरमा धान खेती गरिएको थियो । यहाँ १३ हजार ५२६ मेट्रिकटन धान उत्पादन भएको छ ।
तीन हजार ६५ हेक्टरमा धान खेती भएको जाजरकोटमा नौ हजार ३०७ मेट्रिकटन उत्पादन भएको छ ।

तीन हजार ७९ हेक्टरमा धान खेती भएको कालीकोटमा सात हजार १६२ मेट्रिकटन र दुई हजार ९०२ हेक्टरमा धान खेती गरिएको जुम्लामा ६ हजार ३९५ मेट्रिकटन धान उत्पादन भएको छ । रुकुम पश्चिम, जाजरकोट र कालीकोटमा धानको उत्पादकत्व क्रमशः ४.०४, २.३ र २.२ मेट्रिकटन प्रतिहेक्टर छ । जुम्लामा विशेषगरी मार्सी धान उत्पादन हुन्छ ।

हिमाली जिल्ला मुगुमा ५९३ हेक्टर क्षेत्रफलमा १ हजार ३७ मेट्रिकटन धान उत्पादन भएको छ भने ५९७ हेक्टरमा हुम्लाले एक हजार २२८ मेट्रिकटन उत्पादन गरेको छ । यस्तै सबैभन्दा कम २७९ हेक्टरमा धान खेती भएको डोल्पामा ६१० मेट्रिकटन उत्पादन भएको छ । हिमाली जिल्लाहरूको उत्पादकत्व पनि निकै न्यून छ ।

खाद्यान्न अभाव कायमै 

कर्णालीमा खाद्यान्न अभाव कायमै रहेको छ । उत्पादन भएको धानले १६ लाख ९४ हजार जनसङ्ख्यालाई आधा वर्ष पनि खान पुग्दैन ।मन्त्रालयको कृषि रणनीतिअनुसार प्रदेशको कूल उपभोग्य खाद्यान्न तीन लाख २० हजार ८९० मेट्रिकटन छ । तर जनसङ्ख्याको आधारमा तीन लाख ४४ हजार ३२४ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । यो वर्ष कर्णालीमा उत्पादन भएको एक लाख ५८ हजार ५५८ मेट्रिकटन धानले आधा वर्ष पनि खाद्यान्नको माग धान्न नसक्ने देखिन्छ ।

विशेषगरी प्रदेशका सल्यान, दैलेख र सुर्खेतबाहेक बाँकी सात वटै जिल्लामा खाद्यान्न अपुग रहेको प्रदेशका कृषिमन्त्री विनोदकुमार शाहले बताए । उनका अनुसार कर्णालीका तीन लाख ५५ हजार २५५ कूल परिवार (घरधुरी)मध्ये तीन लाख दुई हजार ६४० परिवार पूर्णरूपमा कृषि पेसामा आबद्ध छन् । तर आधाभन्दा बढी अर्थात् ६९.५ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरि खान पुग्दैन ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डे प्रतिकूल मौसम, रोगकिराको प्रकोपका कारण धान उत्पादनमा गिरावट आएको हुनसक्ने बताए । उनका अनुसार समयमै वर्षा नहुँदा धान रोपाइँको क्षेत्रफल घट्न पुगेको छ । तल्लो भेगतिर हाइब्रिड धानमा रोगकिराको संक्रमणका कारण पनि उत्पादनमा कमी आएको उनले बताए ।

पछिल्लो समय सुर्खेत, सल्यानलगायत जिल्लाका फाँटहरूमा प्रयोग गरिने हाइब्रिड धानमा रोगकिराको संक्रमण अत्यधिक देखिएको छ । उन्नत बीउको निश्चित समयमा गरिनुपर्ने प्रतिस्थापन दर कायम छैन । ग्रामीण क्षेत्रमा उन्नत बीउको उपलब्धता नहुँदा किसानहरूले धेरै वर्षदेखि पुरानै बीउ प्रयोग गरिरहेका छन् । बीउको गुणस्तर खस्किएर उत्पादनमा नकारात्मक असर परेको विज्ञहरूको भनाइ छ ।

कृषि विकास अधिकृत पूर्णबहादुर थापाले कतिपय ठाउँमा सडक निर्माणका क्रममा सिँचाइका संरचनाहरू भत्काइएका र मुहानहरू सुकेका कारण पनि उत्पादनमा ह्रास आएको बताए । उनका अनुसार उत्पादन वृद्धिका लागि मन्त्रालयले सिँचाइ व्यवस्थापनमा जोड दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार