स्याउ किसानले लगाए बीमा कार्यालयमा ताला



जुम्ला ।

जिल्लाका स्याउ किसानले शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा दोस्रोपटक ताला लगाएका छन् । बीमा दाबी रकम भुक्तानीमा आलटाल गर्न खाजेको भन्दै किसानले बीमा कम्पनीको कार्यालय तालाबन्दी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि किसानहरू आक्रोशित भएर बीमा कम्पनीमा ताला लगाउन पुगेका हुन् ।

छलफलमा स्याउ किसान, बीमा कम्पनी र स्थानीय प्रशासनका पदाधीकारी उपस्थित थिए । चन्दननाथ नगरपालिकाबाहेक सात गाउँपालिकाका स्याउ किसानले बीमा कम्पनीले आफूहरूलाई ठगेको आरोप लगाउँदै आएका छन् । स्याउको बीमा रकमबारे पटकपटक लिखित तथा मौखिक रुपमा गुनासो राख्दा सुनुवाइ नभएको किसानको दुखेसो छ ।

तातोपानी गाउँपालिका–६ का राजबहादुर रोकायाले स्थानीय प्रशासन गुहार्दा पनि कुनै सुनुवाइ नभएपछि कम्पनीमा तालाबन्दी गर्नुपरेको बताए । ‘प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउबाली नष्ट भएको थियो । नियमानुसार किसानले बीमा रकमको दाबी गरेर पेस गरेका थियौँ,’ उनले भने, ‘तर कम्पनीले मौसम विवरणको स्पष्ट रिपोर्ट देखाउन सकेन । स्थानीय तहले पनि खडेरी परेको फिल्ड भिजिट नगरी कुन आधारमा कुन समितिको निर्णयबाट भुक्तानी निर्धारण गरेको हो ? खुलाउन कन्जुस्याइँ गरेपछि विवाद बढेको हो ।’

किसानले अहिले सम्बन्धित डिजिटल मौसम विवरणको रिपोर्ट दिनुपर्ने, किसानहरूको स्याउ बगैँचामा जानुपर्ने जस्ता आधार माग गरेका छन् । उनीहरूले पहिले गरेको र अहिले देखाएको बीमा नीतिसमेत फरकफरक देखिएको बताएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले किसानले दाबी गरेको बीमा रकम तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले अझै पनि किसानको अधिकारमाथि अंकुश लगाउन खोजिए सिधै अख्तियारमा जाने चेतावनी दिए । जुम्लामा कूल पाँच हजार ३७९ जनाले स्याउ बीमा गरेका थिए । हालसम्म ६५५ जनाले मात्र क्षतिबापतको रकम पाएका छन् । तर ९४७ जनाको प्रक्रिया पूरा भई प्रदान गर्ने तयारी छ । २९४ जना किसानको हस्ताक्षर नहुँदा भुक्तानी ढिला भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार