श्यामलाल पोखरेल । बुटवल ।
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अनुगमन गरिएको छ । प्रदर्शनीमा राखिएका वस्तुहरू गुणस्तरीय छन् कि छैनन् भनेर बुटवल उपमहानगरपालिकाले आइतबार छड्के अनुगमन गरेको हो । मेला महोत्सवहरूमा मिति नाघेका वस्तुको बिक्री वितरण हुने, अखाद्य वस्तुको मिसावट गरेर बेचबिखन हुनसक्ने भएकाले छड्के अनुगमन गरिएको हो । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालको टोलीले प्रदर्शनी आयोजकहरूलाई जानकारी नगराई अनुगमन गरेको हो ।
प्रदर्शनीमा राखिएका सबै स्टलहरू अवलोकन गरिएको र स्टलहरूमा अखाद्य वस्तु नभेटिएको अनुगमन टोलीले जनाएको छ । कुनै पनि स्टलमा अखाद्य वस्तुको मिसावट भएको नपाइएकाले व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिएको देखिएको उपप्रमुख अर्यालले बताइन् । अहिलेको प्रदर्शनी व्यवस्थित पनि रहेको र हरेक क्षेत्रका वस्तुहरू गुणस्तरीय रहेको तथा सरसफाइ पनि राम्रो देखिएको उनले बताइन् । दुई वटा होटलमा सामान्य सरसफाइमा कमी देखिएकाले अनुगमन टोलीले सचेत गराएको छ ।
टोलीले करिब ३ घण्टा लगाएर अनुगमन गरेको रुपन्देही उद्योग संघले जनाएको छ । रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष तथा स्टल अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले उपमहानगरको अनुगमन टोलीसँग साक्षीको रूपमा सबै स्टलमा पुगेर अनुगमनमा सहयोग पु¥याइएको बताए । टोलीले दुई वटा स्टलमा सामान्य सरसफाइ कमी देखेकाले सचेत मात्रै गराएको उनले बताए ।
बुटवल क्षेत्रमा केही दिन यतादेखि चिसो बढे पनि प्रदर्शनीमा दर्शकको भने घुइँचो लाग्ने गरेको छ । आइतबार प्रदर्शनीस्थलमा स्वदेशीसँगै विदेशी अवलोकनकर्ताले समेत अवलोकन गरेका छन् । विदेशी आएर महोत्सव अवलोकन गर्दा काम गर्न थप हौसला मिलेको आयोजक संस्था रुपन्देही उद्योग सघंका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
प्रचारप्रसार संयोजक किरण खरेलका अनुसार सामाजिक सञ्जाल हेरेर भुटानबाट लुम्बिनी घुम्न आएका तीन दर्जन पर्यटकले आइतबार प्रदर्शनीको अवलोकन गरेका हुन् । भुटानबाट लुम्बिनी घुम्न आएका भुटानी पर्यटकको ठूलो टोलीले लुम्बिनीका पर्यटन व्यवसायीकोे समन्वयमा प्रदर्शनी अवलोकन गरेका पर्यटन उपसमितिका संयोजक टंकनारायण आचार्यले बताए ।
प्रदर्शनीमा आइतबार सम्पन्न विद्यालय नृत्य प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल प्रथम, अक्सफोर्ड दोस्रो र तिनाउ तेस्रो भएको साँस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिए । प्रदर्शनीमा राखिएको खुला रक्तदानमा सचेतनासँगै रक्तदान गर्नेको संख्या पनि बढेको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशेष सिलवालले जानकारी दिए ।
आइतबार नै नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगानाले पनि प्रदर्शनीको अवलोकन गरेका छन् । आइतबार नै संस्थागत रूपमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र देवदह व्यापार संघका अध्यक्ष माधव ढकालको नेतृत्वमा आएको टोलीलाई सम्मान गरिएको छ ।
आज सोमबार रुपन्देही उद्योग संघले आयोजना गरेको ‘समृद्ध नेपालको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ विषयक छलफल कार्यक्रममा सहभागी हुनका लागि नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगाना बुटवल आइसकेका छन् ।
छलफका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, नेपाल उद्योग परिसंघका अध्यक्ष ई. वीरेन्द्रराज पाण्डे र वरिष्ठ अर्थविद् डा. केशव आचार्य आउने संघका महासचिव सुमन बस्यालले जानकारी दिए । प्रदर्शनी यही १७ गतेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्