मौसमसम्बन्धी प्रयोग हुने ‘शब्द’बारे छलफल



कोहलपुर (बाँके) ।

नेपालमा जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी दिने जानकारीमा प्रयोग हुने शब्दहरूको प्रयोगका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । मौसम, विपद् र बाढीसम्बन्धी शब्दहरूले आमनागरिक तहमा अझै अलमलमा पार्ने गरेको भन्दै ती शब्दावलीलाई सरल भाषामा बुझ्नेगरी ल्याउनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको हो ।

बीबीसी मिडिया एक्सनले मौसमसम्बन्धी जानकारी दिनका लागि प्रयोग गरिने शब्दहरूलाई सरल र सहज ढंगबाट आमनेपालीले बुझ्न सकुन् भनेर देशका विभिन्न स्थानहरूमा छलफल तथा सुझाव संकलन गरिएको छ । सोही क्रममा आइतबार बीबीसी मिडिया एक्सनले बाँकेको कोहलपुरमा सरोकारवाला निकायसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा एक्सनका मेघराज रसाइलीले मौसमसम्बन्धी जानकारी दिनका लागि प्रयोग हुने शब्दहरू उस्तैउस्तै हुने र आमनेपालीले झट्ट बुझ्न नसक्ने पाइएकाले ती शब्दहरूलाई स्थानीयस्तरमा प्रयोग गरिने भाषाको खोजी सुरु गरिएको बताए । उनले प्रायः गरेर मौसम, विपद्, वर्षा, बाढीलगायत विपद्सम्बन्धी जानकारी दिनका लागि प्रयोग गरिने शब्दहरू साधारण लागे पनि त्यसको अर्थ उस्तैउस्तै भएको जस्तो हुने तर परिभाषा भने फरक हुने पाइएकाले स्थानीयस्तरमा प्रयोग गरिने भाषालाई समेट्नका लागि देशका विभिन्न स्थानहरूमा सरोकारवालाहरूसँग सल्लाह, सुझाव, छलफल कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

बीबीसी मिडिया एक्सनकी रञ्जना श्रेष्ठले शब्दलाई सरलीकरण गराउनका लागि हालसम्म गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको कोहलपुरमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरिएको बताइन् । हरेक प्रदेशमा छलफल गरिसकेपछि केन्द्रीयस्तरमा पनि कार्यक्रम गर्ने र सरल भाषामा शब्दावली प्रकाशन गर्ने तयारी गरेको उनले बताइन् ।

शिक्षक, विद्यार्थी, महिला स्वयंसेविका, किसान, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा मिडिया एक्सनका मेघराज रसाइली र रञ्जना श्रेष्ठले सहजीकरण गरेका थिए । सहभागिहरूले सहजीकरणमा प्रस्तुत गरिएका विभिन्न शब्दलाई स्थानीयस्तरमा प्रयोग गरिने बोलिभाषामा सुझाव प्रदान गरेका थिए ।

मौसम विभागले प्रयोग गर्ने ‘एक–दुई ठाउँमा’, ‘थोरै ठाउँमा’, ‘केही ठाउँमा’, ‘धेरै ठाउँमा’, ‘अधिकांश ठाउँमा’ पानी पर्नसक्ने जस्ता धेरै शब्दहरू प्रयोग गर्ने गरेको तर यसको अर्थ आमनागरिकले ठ्याक्कै बुझ्न नसक्ने गर्दा अलमलमा पर्दै आएकाले स्थानीय भाषामा अर्थ लाग्ने गरी शब्दावली प्रकाशन गरिने उनीहरूको भनाइ थियो ।

विभागले वैज्ञानिक ढंगबाट परिभाषित गर्दै यस्ता शब्दहरू प्रयोग गर्ने गरेको भए तापनि यी शब्दहरूलाई स्थानीय भाषामै प्रयोगमा ल्याइन सकेमा विपद्बाट हुने जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्नसक्ने उनीहरूले बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार