कोहलपुर (बाँके) ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ठूलो क्षति व्यहोरेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जलेकै संरचनाबाट सेवा प्रवाह गरिरहेको छ । जेनजी आन्दोलनको क्रममा पूर्णरूपमा जलेको भवनमै कार्यालयले सेवा प्रवाह गरिरहेको हो । आन्दोलनको क्रममा २४ गते कार्यालय भवनमा आगजनी र मालसामान लुटपाट गरिएको थियो । भौतिक र जिन्सी क्षति व्यहोरेको कार्यालयले एकसातापछि खरानीकै अवस्थामा सेवा सुचारु गरेर अहिलेपनि सेवा दिइरहेको छ ।
आन्दोलनका क्रममा जिन्सी सामानहरू र अनुसन्धानको लागि नियन्त्रणमा रहेका गोदामका मालसामानहरू चोरी तथा आगजनी भएको कार्यालयले जनाएको छ । लिलाम तथा अनुसन्धान प्रक्रियामा रहेका मालवस्तु तथा फाइलहरूमा चोरी र लुटपाटका साथै कार्यालयका नाममा रहेका सवारीसाधन तथा अनुसन्धानको क्रममा नियन्त्रणमा ल्याएका सवारीसाधनमा आगजनी भएको कार्यालयका सूचना अधिकारी खड्कप्रसाद उपाध्यायले बताए ।
उनका अनुसार आन्दोलनको क्रममा अनुमानित ३९ करोड १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ । आन्दोलनको क्रममा तीन वटा भवनमा आगजनी भएको थियो । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका सामग्री रहेको गोदाम घर पूर्णरूपमा नष्ट भएको छ । कार्यालय प्रयोजनका लागि प्रयोग भइरहेको भवनमा आंशिक क्षति पुगेको छ । कार्यालय परिसरमा रहेको प्रहरी विटमा क्षति पुगेको छ ।
कार्यालयको गाडी, अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ट्रक, गाडी, स्कारपियो गाडी र मोटसाइकलसहित अनुमानित २ करोड र अनुसन्धानका लागि कार्यालयमा रहेको ६ करोड मूल्य बराबरको सुन चोरी भएको थियो । यस्तै कार्यालय अन्तर्गतका विभिन्न शाखामा प्रयोगमा रहेको दराज, ल्यापटप, मनिटर, बेन्च टेबल, कुर्सीसमेत चोरी भएको सूचना अधिकारी उपाध्यायले बताए ।
राजस्व चुहावट नियन्त्रण र अनुसन्धानका लागि स्थापित कार्यालयमा अनुसन्धानका लागि राखिएका मालसामान जलेर नष्ट हुँदा अनुसन्धानमा समस्या देखिएको कार्यालयले जनाएको छ । सामान्य घटनाहरूका बारेमा समस्या नभएपछि ठूला मुद्दाको हकमा भने केही समस्या भएको कार्यालयले जनाएको हो । गत भदौ पहिलो साता दैलेखमा सशस्त्र प्रहरीले हुम्लाबाट नेपालगन्ज लैजाँदै गरेको करिब ८ करोड रूपैयाँ बराबरको ३९ हजार ९ सय थान विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो ।
‘सेतक चिनी’ नामक जडीबुटी भनी हुम्ला वन कार्यालयबाट अनुमति लिएर लगिएको उक्त ट्रकमा भेपसँगै २४ सय केजी जडीबुटी पनि भेटिएपछि बरामद गरियो । तीन जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाइएको थियो । तर जेनजी आन्दोलनको बेलामा भेप चोरी भयो । हाल जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको छ ।
भन्सार छली गरेर ल्याएको भेप गरी ५ करोड ९६ लाख बिगो र सो बराबरको जरिवाना मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । ‘तत्कालीन अवस्थामा तीनजना पक्राउ परेका थिए । दशजनाविरुद्ध मुद्दा दर्ता भएको छ । कार्यालयले अनुसन्धान टुंग्याएर अदालतमा पठाएको छ । बाँकी कुरा अदालतले हेर्छ,’ उनले भने ।
गोदाम घरमा ‘रेड स्टिकर’
आगजनीपछि प्राविधिक परीक्षणका लागि २०८२ असोज ४ गते कार्यालयमा आएको सहरी विकास कार्यालय नेपालगन्जको इन्जिनियरको टोलीले उक्त भवन तत्काल प्रवेश, प्रयोग वा बसोबासका लागि निषेध गरिएको भन्दै ‘रेड स्टिकर’ टाँसेको थियो । उक्त स्टिकरमा चेतावनीसहित भनिएको छ, ‘यो संरचना वा संरचनाको उल्लेख गरिए अनुसारको केही भागमा गम्भीर रूपमा क्षतिग्रस्त भएको छ र यो असुरक्षित छ ।
प्रवेश नगर्नुहोस् ।’ उक्त भवनमा भुइँतलाको गोदाम कोठाको स्ट्रक्चरमा क्षति देखिएको र पूर्णरूपमा प्रवेश निषेध गरिएको छ । उक्त टोलीले विस्तृत प्राविधिक मूल्यांकनपछि आवश्यक संरचनात्मक सुधार वा पुनर्निर्माण गर्न सकिने वा पूर्णरूपमा ध्वस्त गर्न आवश्यक हुन सक्ने जनाइएको छ । कार्यालयका सूचना अधिकारी खड्कप्रसाद उपाध्यायका अनुसार गोदाम घरमा पूर्णरूपमा प्रयोग निषेध गरिएको छ । सोही भवनसँगै मुख्य कार्यालय भवनसमेत जोडिएको छ । उक्त भवनमा समेत क्षति पुगेको छ ।
‘भवनको पूर्वपट्टीको भाग प्रयोग गर्न निषेध गरिएको छ । आंशिक क्षति पुगेको पश्चिमतिर कम क्षति भएको ठाउँबाट सेवा दिइरहेका छौँ,’ उनले भने । भवन दीर्घकालसम्म प्रयोग गर्न मिल्ने वा नमिल्ने यकिन गर्न भवनको ल्याब टेस्टको तयारी गरिरहेको उनले बताए । उक्त टोलीले केही दिनमै ल्याब टेस्ट हुने उनको भनाइ छ । सेवा प्रवाह गर्नुपर्ने र अर्को विकल्पसमेत नभएकोले रिक्स लिएकै सेवा दिइरहेको सूचना अधिकारी उपाध्याय बताउँछन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन कसुरसँग सम्बन्धित कार्यालयको लकरमा रहेको सुन चाँदी तथा नगद चोरी भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरसँग समन्वय गरेर सामान फिर्ता ल्याउन लगाइ नेपाल राष्ट्र बैंकमा सुरक्षित राखिएको कार्यालय सूचना अधिकारी उपाध्यायको भनाइ छ । कार्यालय सञ्चालन भएपछि सामान फिर्ता गर्न भनिएको र केही सामग्री फिर्ता भएको पनि उनले बताएका छन् ।
कार्यालयका ल्यापटप, २ सय थान भेप र ९५ प्रतिशत सुन फिर्ता भएको उनले बताए । जेनजी आन्दोलनपछि कार्यालय भवन आगजनी भएको हुँदा कार्यालय सञ्चालनमा कठिनाइ भएको, कार्यालय परिसरभित्र रहेको गोदाम घर पूरै नष्ट भएकाले सामान राख्न समस्या भएको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएका फाइलहरू नष्ट भएकाले अनुसन्धानमा कठिनाइ हुनुका साथै आवश्यक जनशक्ति नहुँदा उद्देश्यअनुरुप काम गर्न नसकिएको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्